‘चुनाव निश्पक्ष भए लोकतन्त्र सुदृढ’

समाधान संवाददाता २०७९ कार्तिक २० गते १२:२२

पोखरा ।
सयपत्री समाज पोखराले ‘निश्पक्ष, स्वच्छ, स्वतन्त्र निर्वाचन’ विषयक छलफल गरेको छ ।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले कुनै आग्रह र पूर्वाग्रह विना गरिने निर्वाचन निश्पक्ष हुने बताए । उनले स्वतन्त्र र निश्पक्ष निर्वाचनमा आम मतदाताले निर्वाध रुपमा मतदान गर्न पाउने उल्लेख गरे ।

उनले निर्वाचन आयोग स्वच्छ, निश्पक्ष र स्वतन्त्र निर्वाचन गराउन लागि परेको दाबी गरे । ‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि आयोग सक्रियतापूर्वक लागेको छ,’ उनले भने, ‘निर्वाचन कानुन र आचारसंहिताको पालना नगरे आयोगले कारवाहीको दायरामा ल्याउन सक्छ । उम्मेद्वारको हकमा उम्मेद्वारी रद्दसमेत गर्न सक्छ ।’ उनले नेपालमा धेरै दल भएका कारण विद्युतीय मतदान गर्न नसकेको जानकारी दिए ।

पराजुलीले नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल एकाकार भएर प्रविधियुक्त प्रणालीमा निर्वाचनमा जान सके छिटो र छरितो तथा आर्थिक व्ययभार कम गर्न सकिने उल्लेख गरे ।

Advertisement

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले स्वतन्त्र, निश्पक्ष र भयरहित ढंगले निर्वाचन भए लोकतन्त्र बलियो हुने तर्क गरे । उनले निर्वाचनको माध्यमबाट आफूले रोजेको प्रतिनिधि पठाएर आफै शासित हुने पद्धति भएको बताए । उनले निर्वाचन कानुनको उल्लघंन र आचारसंहिताको पालना नगर्ने व्यक्तिले छुट पाउन नहुने उल्लेख गरे ।

नेपाली कांग्रेस कास्कीका कार्यवहाक अध्यक्ष रामबाबु भण्डारीले जसरी पनि निर्वाचन जित्ने भन्दा पनि चुनावलाई स्वतन्त्र र निश्पक्ष बनाउन सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

Advertisement

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका कार्यालय सचिव हिराकुमारी गिरीले स्थानीय तहको निर्वाचनदेखि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून भएको उल्लेख गरिन् । नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटी सचिव जनकराज पराजुलीले लोकतन्त्रलाई बलियो बनाउनका लागि स्वतन्त्र र निश्पक्ष निर्वाचन गराउनुपर्ने बताए ।

कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, सयपत्री समाज पोखराका अध्यक्ष प्राडा कृष्णबहादुर केसी, सचिव गिरधारी सुवेदी, पूर्व कर्मचारी रामजीप्रसाद कोइरालाले सबल लोकतन्त्रका लागि निश्पक्ष, स्वच्छ र स्वतन्त्र निर्वाचन आवश्यक भएको विचार राखे ।

तपाईको प्रतिक्रिया