कास्की १ ख मा बल्दैछ ‘दीपक’

समाधान संवाददाता २०७९ कार्तिक २० गते १७:३२

पोखरा

क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरुको उद्गमथलो क्व्होँलासोँथरदेखि क्हफुचे हिमतालसम्म पर्यटनका क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर कास्की १ ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार बनेका छन । चुनावी घरदैलोमा व्यस्त गुरुङले पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ सहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलो सकिसकेका छन ।


मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन ।
नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । मादीलाई पर्यटकीय हब बनाउने एजेण्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन । उनको योजना छ, “मादी राउण्ड ट्रेक स्थापना गर्ने ।”

Advertisement


यसका अलावा क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा–मादी–मनाङ रुटलाई भर्जिन ट्रेकका रुपमा विकास गर्ने उनको योजना छ । घरवास योजना अन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखेका छन । निर्वाचन क्षेत्रमा सडक सञ्जालको विस्तार गर्ने, पोसि–मिजुरे–भाचोक–तोगी–याङ्जाकोट–ताङतिङ–सिक्लेस–तप्राङ सडकको स्तरोन्नती गर्ने उनको प्रतिबद्धता छ ।


भूगोल, जनसंख्या र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालन गर्नेै, १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र उपकरणयुक्त बनाउने उनको योजना छ । हरेक घरधुरीलाई शुद्ध पिउने पानीको उपलब्धता, कृषकलाई आधुनिकीकरण र प्रविधीकरणमार्फत उत्पादन बढाउने, त्यो उत्पादनको लागि बजारको सुनिश्चितता गर्ने उनको एजेण्डा छ ।

Advertisement


हरेक घरमा, एक रोजगार, एक वडा, एक उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । महिलालाई अर्थोपार्जनमा जोड्ने भूमिहिनको व्यवस्थापन, विपत व्यवस्थापनका लागि कोष सञ्चालन गर्ने एजेण्डासहित उनी चुनावी मैदानमा छन । आफु निर्वाचनमा विजयी भएमा भ्रष्ट्राचार रहित समुन्नत समाज निर्मणको लागी आफ्नो ठाउं बाट अनवरत लागीरहने उनले बताए ।


को हुन दीपक ?
२०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थीसंघ मार्फत सुरु भएको हो ।


उनी अहिले तरुण दल कास्कीको उपसभापति पनि हुन । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा सुरु हुन पुग्यो । २०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे ।


उनै दीपकले सुरुवात गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ । पोखरा १३ मा वर्षेनी लोकप्रिय सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विजयादशमीको अवसरमा हुने कालरात्री सांगीतिक कार्यक्रमको सुरुवातकर्ता उनै दीपक हुन ।


गुरुङ प्रसिद्ध भद्रकाली बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्य समेत हुन ।

तपाईको प्रतिक्रिया