केही गर्नलाई मूर्ख बन्नोस्ः महावीर पुन

‘कुनै काम गर्न तपाईंसँग धेरै इच्छा छ तर धेरै ज्ञान पनि छैन, साधन स्रोत पनि छैन त्यै पनि तपाईंहरु त्यो काम गर्न चाहनुहुन्छ भने तपाईंहरु पनि मूर्ख बन्नै पर्छ । मूर्ख नबनीकन कुनै काम हुँदैन ।’

सञ्जय रानाभाट २०७९ मंसिर १८ गते १०:५४

पोखरा ।
महावीर पुन पिएचडी डक्टर हैनन्, न मेडिकल डक्टर हुन् । तर मानिसहरु उनलाई बेलाबखत डाक्साब भन्दै सम्बोधन गर्छन् । बरु महावीर त आफूलाई मूर्ख भन्छन् । किन त ? शनिबार पोखरामा ‘समृद्धि स्टिल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को अन्तक्र्रियामा उनले यो प्रश्नको सामाना गर्नुपर्‍यो ।

‘एउटा परिस्थितिले केही मानिसले मलाई डाक्टर भन्छन्, तर म आफूलाई मूर्ख भन्छु । म बल देखाएर मूर्ख भएको हैन, जिन्दगीमा धेरै उतारचढाव हुँदै समाजका लागि काम गर्दै जाँदा केहीले डाक्टर भन्छन्,’ उनले भने, ‘म मेडिकल डाक्टर हैन, ठूला युनिभर्सिटी र अस्पतालमा काम पनि गर्दिनँ । म एउटा मूर्ख हुँ । मूर्ख बन्दा डाक्टर भने । तर, म आफूले आफूलाई मूर्ख भन्छु ।’

पुनले आफूलाई डाक्टर ठानेर सामाजिक सञ्जालमा स्वास्थ्य सम्बन्धी सुझाव माग्ने गरेको सुनाए । पुनले आफू वैज्ञानिक पनि नभएको बताए । समृद्धि स्टिल राष्ट्रिय औद्योगिक व्यापार मेलामा अन्तक्र्रियाका सहजकर्ता पत्रकार सम्पादक केशवशरण लामिछानेसँग कार्यक्रममा सहभागी हुँदै पुनले आफू अमेरिकाबाट फर्केर आएपछि समाजसेवा लाग्दा विद्वान, वैज्ञानिक र डाक्टरको उपाधि पाएको सुनाए ।

Advertisement

‘मलाई विज्ञानको क्षेत्रमा काम गर्ने भन्छन् । म त्यो वैज्ञानिक पनि हैन । किन भने वैज्ञानिकले एउटा ल्याबमा बसेर अनेक किसिमको अनुसन्धानहरू गर्दिनँ । तर, मैले नेपालमा जन्मेका सिर्जनशील युवाहरूलाई प्रोत्साहन गरेर अनुसन्धान केन्द्रमा सहयोग मात्र गरेको हुँ,’ पुनले भने ।

अमेरिकामा पढेर नेपाल फर्केपछि पुन फर्केर जान मन नलागेको र यस पछि समाजसेवामा जोडिएको पुनले बताए । आफू समाजसेवामा काम गर्दै जाँदा स्रोत र साधन नभएको अवस्थामा गाउँमा ‘वायरलेस इन्टरनेट जडान गर्न सफल भएपछि सबैले मूर्ख भन्न थालेको सुनाउँछन् । ‘समाजमा काम गर्न पैसा चाहियो । त्यो म सँग थिएन ।

Advertisement

अमेरिकामा फर्केपछि म एकदमै लाटो थिएँ,’ उनले भने, ‘यस्तो अवस्थामा कि काम गर्न छोड्नुपर्‍यो कि काम गर्नुपर्‍यो । काम गर्न मैले आफैले आफैलाई प्रोत्साहन दिए । तर, यसका लागि मूर्ख हुनु जरुरी देखेँ । कुनै स्रोत, साधनबिना नभइकन पनि कसैले केही काम गर्न चाहन्छ भने त्यसलाई मूर्ख भने हुन्छ ।’

राजधानीबाहेक ठाउँमा फाइबर इन्टरनेट नपुगेको बेला पुनले गण्डकी प्रदेशको म्याग्दीमा वायरलेस इन्टरनेट पु¥याएर चर्चामा आएका थिए । यसपछि पुन लगातार अनुसन्धान गतिविधिमा जोडिएका छन् । पाँच वर्षअघि मात्र उनले आविष्कार केन्द्र खोलेका हुन् । अहिले उनले आफ्नो अनुसन्धान केन्द्रले १०/११ वटा उपकरण विकास गर्न सफल भएको जानकारी दिए ।

‘त्यो कठिन समयमा म्याग्दीमा फाइबर इन्टरनेट पुर्‍याउने कुरा त सम्भव थिएन । त्यो बेला मैले मूर्खता देखाएँ । त्यो आट गरेँ । त्योभन्दा अघि मलाई सबैले मूर्ख भन्थे । यसपछि मैले आफूले आफैलाई मूर्ख भन्न थालेँ,’ उनले भने, ‘कुनै काम गर्न तपाईंसँग धेरै इच्छा छ तर धेरै ज्ञान पनि छैन, साधन स्रोत पनि छैन त्यै पनि तपाईंहरु त्यो काम गर्न चाहनुहुन्छ भने तपाईंहरु पनि मूर्ख बन्नै पर्छ । मूर्ख नबनीकन कुनै काम हुँदैन ।’

राष्ट्रिय आविष्कार केन्द्र खोल्नु पनि मूर्खता भएको पुनले सुनाए । ‘मैले अमेरिकामा बसेर यस्तो अनुसन्धान केन्द्र देखेको थिएँ । तर, देख्दैमा त भएन नि । देख्दैमा पुग्दैन,’ उनले भने, ‘मैले सोचेँ नेपालमा उत्पादन बढाउन र प्रतिभा उत्पादन गर्न आविष्कार केन्द्रहरू खेल्नुपर्छ र रोजगार बढाउनुपर्छ भन्ने लागेर त्यो आँट गरेँ । अहिले हामी केही आँटसम्म सफल भएका छौं ।’

आविष्कार केन्द्र खोलेर आफूले केही हदसम्म भए पनि रोजगारी सिर्जना गरेको पुन दाबी गरे । उनले रोजगारी नपाएर बाध्यताले विदेश जान चाहनेलाई केही हदसम्म रोक्ने प्रयास गरेको सुनाए । ‘अनुसन्धान केन्द्रले आफैले रोजगार दिने होइन । यसले अनुसन्धान गर्छ । केही उत्पादन अनुसन्धान गर्छ र निचोडमा पुग्छ । यसपछि व्यवसायीहरूसँग मिलेर उद्योग खोलेर रोजगारी सिर्जना गर्ने हो,’ पुनले भने ।

‘१० उपकरण बनिसके’
राष्ट्रिय आविष्कारवाट १० वटा उपकरणको अनुसन्धान सफल भएको पुनको दाबी छ । अनुसन्धान केन्द्रले सुरु गरेको एक चौथाइ उपकरणको अनुसन्धान सफल भएको उनले सुनाए ।

‘अनुसन्धान केन्द्रले अहिलेसम्म ९६ वटा नयाँ उपकरणहरुको अनुसन्धान गरेको थियो । ती सबै सफल भएन् । ६० वटा बनाउन खोजियो सफल भएनन् । ३०/३५ वटा उपकरणमा अहिले १० वटा मात्र सफल भएर बजारमा परीक्षण भइरहेको छ । बाँकी अनुसन्धानकै चरणमा छन् ।’

१०/११ वटा उपकरण बजारमा परीक्षणका लागि पुगेको पुनले सुनाए । कफी भुट्ने मेसिन्, बेबी वार्मर, कोदो रोप्ने, धान काट्ने मेसिन, खेत रोप्ने मेसिन, कुखुरा हाँसको अण्डाबाट चल्ला निकाल्ने मेसिन, खुवा बनाउने मेसिन र सातु बनाउने मेसिनको सफल परीक्षण भइसकेर बजारमा परीक्षणका लागि पुगेको पुनले जानकारी दिए ।

‘अहिलेसम्म ६/७ वटा बनिसकेको छ । यतिले मात्र पुग्दैन । अर्को ‘बेबी वार्मर’ उत्पादन गरेको छौं,’ उनले भने, ‘४० वटा अस्पतालमा प्रयोग भइरहेको छ । अझै ५० वटा उत्पादन गर्ने प्रक्रियामा छन् । अर्को भनेको सातु, अचार लगायत तरकारीहरू बनाउने मेसिन बन्दै छ । यस्तो अनुसन्धान निरन्तर चल्छ ।’

समुदायलाई फाइदा पुग्ने र विदेशको आयत घट्ने उपकरणको लागि आफ्नो अनुसन्धान केन्द्रले काम गरेको पुन सुनाउँछन् । उनले दैनिक जीवनमा उपभोग गर्ने ९५ प्रतिशत सामानहरू सबै बाहिरबाट ल्याउनुपर्ने अवस्थामा स्वदेशमै उत्पादनमा जोड दिनुपर्ने पुनले सुनाए ।

‘यो इनोभेसन सेन्टरले सबै किसिमको प्रतिभा भएकालाई खोज अनुसन्धान गर्न अवसर दिने ठाउँ हो । यहाँ हरेक किसिमका चेक जाँच गर्न सकिन्छ,’ उनले भने, ‘म त भन्छु । केही जानेको आँट भएको, केही गर्ने हुटहुटी बोकेकालाई यो इनोभेसनमा सधैं स्वागत छ ।’

पुनले अनुसन्धान केन्द्रबाट उत्पादन भएका सामान विदेशी सामानभन्दा धेरै गुण सस्तो भएको बताउँछन् । ‘कोभिडकै बेला बजारमा पिपिईलाई ८ हजार रुपैयाँसम्म नेपालमा किनियो । बिस्तारै कम्प्युटिसन हुँदा अन्तिममा २५ सय रुपैयाँसम्म पर्‍यो । त्यही चिज हामीहरूले अनुसन्धान केन्द्रमा उत्पादन गर्‍यौं ।

खर्च कटाएर नाफा निकालेर हामीले त्यही पिपिई ८ सय रुपैयाँमा बोच्यौं,’ उनले भने, ‘देशमा उत्पादन गर्दा कति फाइदा हुँदोरैछ एउटा उदाहरण हेरे पुग्छ । हामीले उत्पादन गरेका जति पनि उपकरण छन् । ती सबै विदेशमा भन्दा धेरै सस्तोमा उपलब्ध गराउन सक्छौं ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया