फ्रान्स र इंग्ल्याण्ड क्वार्टरफाइनलमा

समाधान संवाददाता २०७९ मंसिर २० गते १२:१६

पोखरा ।
अघिल्लो संस्करणको विजेता फ्रान्स कतार विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
यसअघि फ्रान्सले १९९८ मा पहिलो पटक र २०१८ मा दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । २०१४ को विश्वकपमा भने फ्रान्स क्वार्टर फाइनलबाट बाहिरिएको थियो ।

फ्रान्सको जितमा ओलिभर जिरुडले एक तथा केलियन एमबाप्पेले दुई गोल गरे । पोल्याण्ड कप्तान लेवान्डोस्कीले पेनाल्टी मार्फत १ गोल फर्काए । २००२ मा समूह चरणबाटै बाहिरिएको फ्रान्स २००६ मा फाइनलमा इटालीसँग पराजित भएको थियो ।

२०१० मा समूह चरणबाटै बाहिरिएको थियो । २०१४ मा क्वार्टरफाइनल पुगेको फ्रान्स अघिल्लो पटक क्रोएसियालाई पराजित गरेर दोस्रोपटक विश्वकप जितेको थियो। यसपटक पनि क्वार्टर फाइनलमा पुगेको छ ।

Advertisement

सेनेगललाई ३–० ले पराजित गर्दै इङ्ल्याण्डले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा इंग्ल्याण्डका जोर्डन हेन्डरसनले सुरुवाती ३८ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले दोस्रो गोल थपे ।

५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्‍यो । इङ्ल्याण्डले सन् १९६६ मा घरेलु मैदानमा विश्वकप उपाधि जितेको थियो । यसअघि २०१८ को विश्वकपमा सेमिफाइनलमा पुगे पनि क्रोएसियासँग पराजित भएको थियो । इङ्ल्याण्डले क्वार्टरफाइनलमा फ्रान्ससँग भिड्नेछ ।

Advertisement

गोल्डेन बुटमा अघि लागे एम्बाप्पे
कतार विश्वकपमा गोल्डेन बुटको दौडमा फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले अग्रता लिएका छन् । उनले ४ खेलमा ५ गोल गर्दै प्रतिस्पर्धीलाई २ गोलले पछि पारेका हुन् ।
एमबाप्पेले पोल्याण्डविरुद्ध २ गोल गरेका हुन् ।

यसअघि डेनमार्कविरुद्ध पनि उनले २ गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा भने उनलाई रिजर्भमा राखिएको थियो । खेलमा फ्रान्स पछि परिसकेपछि मैदान प्रवेश गरे पनि गोल गर्न सकेनन् । पहिला खेलमा अष्ट्रेलियालाई ४–१ ले पराजित गर्दा पनि उनले १ गोल गरेका थिए ।

अन्य ६ खेलाडीले समान ३ गोल गरेका छन् । नकआउट चरणका खेल चलिरहँदा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी र फ्रान्सकै ओलिभर जिरुड थपिएका छन् । समूह चरणमा समान २ गोल गरेका मेस्सी र जिरुडले नकआउटमा १/१ गोल थपेका हुन् ।

यस्तै स्पेनका अल्भारो मोराटा, नेदरल्याण्ड्सका कोडी गोक्पो, इक्वेडरका इनर भ्यालेन्सिया, इङ्ल्याण्डका मार्कस रासफोर्डले पनि ३ गोल गरेका छन् । भ्यालेन्सियाको टिम इक्वेडर समूह चरणबाटै बाहिरिएकाले गोल्डेनबुट जित्ने उनको सम्भावना सकिएको छ । मोराटा र रासफोर्डले एक खेल कम खेलेका छन् ।

तपाईको प्रतिक्रिया