मुटुको चाल रोकिँदा जब पोखरामै उपचार पाए

सञ्जय रानाभाट २०७९ मंसिर २९ गते १०:३४
गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरामा मुटुको उपचार गराएकी ज्ञानकुमारी शर्मा र उनको उपचार गरेका डा मधु रोका । गण्डकी मेडिकल कलेजमा बुधबार हृदय रोग केन्द्र सेवा औपचापरिक सुरुआत गर्दै मुख्यमन्त्री कृष्णचन्द नेपाली लगायत ।

सञ्जय रानाभाट, पोखरा ।
स्याङ्जा घर भई हाल पोखरा १७ बिरौटा बस्ने ८४ वर्षीया ज्ञानकुमारी शर्मा ३ महिनाअघि एक्कासि बिरामी भइन् । घरमा भित्र बाहिर गरिराख्ने ज्ञानकुमारीलाई अचानक श्वासप्रश्वास गर्न अप्ठेरो भयो । उनको श्वासप्रश्वास छिटो छिटो हुनेदेखि शरीर गहुँग्रो भएर सास फेर्न कठिन भयो । परिवारले हठात उपचारका लागि पोखरा ८ नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज पुर्‍यायो ।

अस्पतालका डाक्टर मधु रोकाका अनुसार अस्पताल पुग्दा ज्ञानकुमारीको मुटुको चाल नै थिएन । मुटुको दाँया पट्टिको नसा १०० प्रतिशत गइसकेको थियो । बल्ड सर्कुलेसन रोकिएको थियो । शरीरलाई नर्मल प्रेसर जति चाहिन्थ्यो, त्यो पर्याप्त थिएन । यसका लागि ज्ञानकुमारीको क्याथ ल्याबमार्फत जुन नसा खुलेको छैन, त्यो नसा खुलाउनुपर्ने हुन्थ्यो ।

सहिद गंगालालमा अनुभव हाँसिल गरेका चिकित्सकको नेतृत्वमा पोखरामा क्याथ ल्याब सेवा सुरु भएपछि मुटुरोगीलाई सहज भएको छ

Advertisement

परिवारको अनुमतिमा हृदय रोग विशेषज्ञ डाक्टर रोक्का नेतृत्वको टोलीले अस्थायी पेसमेकर दिएर मुटुको भल्ब खोल्न सफल भयो । डाक्टर रोकाका लागि त्यो नौलो नभए पनि अस्पतालका लागि नयाँ र नौलो थियो । अस्पतालले भर्खरैमात्र हृदय रोग केन्द्रको सेवा शुभारम्भ गरेको थियो ।

डाक्टर रोका काठमाडौं स्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा काम गरिसकेका अनुभवी हुन् । पोखरा घर भएकाले उनले गण्डकी मेडिकल कलेजले हृदय रोग केन्द्रको सेवा सुरुआत गरेसँगै पोखराको गण्डकी मेडिकल कलेजमा काम सुरु गरेका छन् ।

Advertisement

रोकाकै भनाइमा अहिले ज्ञानकुमारीको स्वास्थ्य सामान्य छ । उनी हिजो जस्तो भित्र बाहिर गर्न सक्छिन् । ज्ञानकुमारीकी छोरी यामुना शर्मा पनि आमाको स्वास्थ्य ठीक भएको बताउँछिन् । ‘हामी आत्तिएका थियौं । आमाले श्वासप्रश्वास गर्न नसकेपछि हामीले यहाँ ल्याएका थियौं । अहिले आमा ठीक हुनुहुन्छ,’ छोरी यामुनाले भनिन्, ‘अस्पताल र उपचारमा खटिनुहुने सम्पूर्ण डाक्टरलाई धेरै धेरै धन्यवाद !’

उनै ज्ञानकुमारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरलले बुधबार सम्मान गरे । ज्ञानकुमारीलाई अस्पतालले औपचारिक रुपमा हृदय रोग केन्द्र सेवा शुभारम्भ गर्दै त्यो सुखद क्षणमा मुख्यमन्त्री पोखरेलले सम्मान गरेका हुन् ।

स्याङ्जा, भीरकोट २ का वेदप्रसाद पौडेल पनि २ महिनाअघि घरमा एक्कासी हृदयाघातको सिकार भए । उनको पनि एक्कासि श्वासप्रश्वासमा समस्या आयो । छोरा कृष्णले तत्काल गण्डकी मेडिकल कलेज पुर्‍याएर । डाक्टर रोक्काकै नेतृत्वमा वेदप्रसादको उपचार भयो । अहिले उनको पनि स्वास्थ्य ठीक भएको छोरा कृष्ण पौडेल सुनाउँछन् ।

‘यही कार्यरत भएकाले हृदय रोगको उपचार हुन्छ भन्ने थाहा थियो । यस कारण मैले डाक्टरलाई सम्पर्क गरेर उपचारका लागि आएको थिएँ । अहिले बुबा ठीक हुनुहुन्छ । हिजो जस्तो हुनुहुन्थ्यो, अहिले पनि यस्तै हुनुहुन्छ,’ पौडेलले भने ।

२०६४ मा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा विकास गरेको छ । ३ सय शय्याको अस्पतालबाट सञ्चालन गर्दै अहिले अस्पतालमा ५ सय ५० बेड पुगेको छ ।

२७ शय्याको एम आइसियू, १० शय्याको सिसियु, १४ शय्याको एसआइसियु, ७ शय्याको पिआइसियु, २४ शय्याको एनआईसियु/एनसियु, ४४ शय्याको विशिष्ट क्याबिन तथा ४ सय १२ वटा जनरल बेड सञ्चालनमा रहेको अस्पतालका प्राडा रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा ३ महिनाअघि मात्र हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको हो । औपचारिक शुभारम्भ बुधबारमात्र भएको हो । अस्पतालको टिचिङ कलेजबाट २०७५ बाट स्नात्तकोत्तर एमडी/एमएस/एनबिएमएस तथा २०७६ बाट एमपिएचको पढाइ भएको श्रेष्ठले बताए ।

अस्पतालबाट डायलासिस सेवा, सुरक्षित मातृत्व सेवा, नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा, क्यान्सर रोगको उपचार, मस्तिष्कघात भूतपूर्व भारतीय गोर्खा सैनिकहरुको लागि इसिएचएस समेत सुचारु गरिएको अस्पतालका अध्यक्ष खुमा अर्यालले जानकारी दिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया