प्रदेश सभा अधिवेशन पुस २२ भित्रै

रिखिराम जिसी २०७९ पुष ४ गते १०:४३

पोखरा ।
गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस २२ भित्र आह्वान हुने भएको छ । प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले शनिबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएका थिए । त्यस हिसाबले २० दिन पुस २२ गते पूरा हुन्छ ।

संविधानको धारा १८३ को उपधारा १ मा ‘प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ,’ भनिएको छ ।

Advertisement

प्रदेश प्रमुखबाट सम्पादन गरिने जुनसुकै कार्य प्रदेश मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ र त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्रीमार्फत पेस हुने व्यवस्था संविधानको धारा १६६ को उपधारा २ मा छ । तसर्थ अब प्रदेश प्रमुखले गण्डकी प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश मन्त्रिपरिषदले सिफारिस गर्नुपर्नेछ ।

प्रदेश सभाको अधिवेशनमा भाग लिनुअघि भने नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको सपथ हुनेछ । संविधानको धारा १७९ मा प्रदेश सभाका सदस्यहरुले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम सपथ लिनुपर्ने व्यवस्था छ ।

Advertisement

‘प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्,’ धारा १८२ को उपधारा १ मा भनिएको छ । प्रदेश सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र ती दुईजना फरकफरक दलको प्रतिनिधि हुनुपर्ने पनि संवैधानिक व्यवस्था छ ।

धारा १८२ को उपधारा ५ मा भनिएको छ, ‘प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।’ ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट सपथ लिने व्यवस्था छ । ज्येष्ठ सदस्यबाट अरु सदस्यहरुले सपथ लिन्छन् ।

कुनै सदस्यले आफ्नो मातृभाषामा सपथ लिन चाहेमा त्यस्तो सदस्यले सपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रदेश सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु ३ दिन अगावै प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउनुपर्छ ।

संविधानले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश प्रमुखले सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरेको छ । संघमा राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र सरकार गठनका लागि आह्वान गरिसकेकी छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान र कानुन अनुसार नै प्रदेश सभा अधिवेशन आह्वान र सरकार गठनका लागि आह्वान गर्ने उनको सचिवालय स्रोतले जनाएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया