श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न माग

समाधान संवाददाता २०७९ पुष ४ गते १२:२७

पोखरा ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस (१८ डिसेम्बर) अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी गण्डकीले आइतबार शुभकामना आदानप्रदान गरेको छ ।

प्रवासी श्रमिकको सुनिश्चित भविष्यका लागि सामाजिक सुरक्षा’ भन्ने नाराका साथ भएको कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन कमिटी अध्यक्ष मीना गुरुङले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विगतको भन्दा अहिले श्रमिकको प्रतिनिधित्व कम भएको बताइन् ।

उनले श्रम ऐनले तोकेको पारिश्रमिक पाएर श्रममैत्री वातावरण भए कोही श्रमिक कामको खोजीमा विदेश जान नपर्ने तर्क गरिन् । ‘आम श्रमजीवी वर्गका लागि श्रममैत्री वातावरण बनोस् ।

Advertisement

काम खोज्न विदेश जान नपरोस्,’ उनले भनिन्, ‘श्रम ऐन, सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवन व्यवस्थित र मर्यादित हुनेछ ।’ उनले हरेक स्थानीय तहले श्रमिकको पञ्जिकरणको व्यवस्था गर्नुपर्ने बताइन् ।

जिफन्ट राष्ट्रिय कमिटीका सदस्य पम्फा पहारीले सबै आवश्यक प्रक्रिया बुझेर वैदेशिक रोजगारीमा जानुपर्ने बताइन् । उनले सीप सिकेर गएको दक्ष कामदारका लागि काम गर्न सहज हुने उल्लेख गरिन् ।

Advertisement

जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले साउदी अरब, कतार, मलेसिया लगायतका मुलुकमा संघ संस्था खोल्न नपाइने भएको कारण जिफन्ट सपोर्ट गु्रपमार्फत काम भएको जानकारी दिए ।

उनले धेरै जसो नेपालीले गन्तव्य मुलुकमा कठिन, खतरा र फोहोरी काम गर्नु परेको चर्चा गरे । श्रम सम्झौता भएको मुलकमा श्रम स्वीकृति लिएर विदेश जानु पर्ने उल्लेख गर्दै उनले गैर कानुनी रुपमा भारत लगायतका मुलुकबाट विदेश जान नहुने जानकारी दिए ।

कार्यक्रममा नेकपा (एमाले) मजदुर विशेष इलाका कमिटीका अध्यक्ष तुलसीप्रसाद सुवेदी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी सहसचिव संगीता पाण्डे, जिफन्ट पोखरा महानगर कमिटी अध्यक्ष सूर्यप्रसाद उपाध्याय लगायतले प्रवासी श्रमिकका पक्षमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया