एम्बुलेन्स छ; चालक छैनन्

घरपझोङ गाउँपालिकामा दूतावासले दिएको एम्बुलेन्स छ तर चालक छैनन् । बिरामी निजी गाडी रिजर्भ गर्न बाध्य छन् ।

सुन्दरकुमार थकाली २०७९ पुष ५ गते १०:२८

जोमसोम ।
मुस्ताङको घरपझोङ ४ जोमसोमकी न्हिमाढोका गुरुङ जोमसोम अस्पतालमा सुत्केरी भइन् । तर, उनले जन्माएको शिशुमा समस्या देखियो । जोमसोम अस्पतालमा उपचार सम्भव नहुँदा शिशुलाई चिकित्सकले पोखरा रिफर गरे ।

न्हिमाढोकाका आफन्तले पोखरा लैजान घरपझोङ गाउँपालिकाको एम्बुलेन्स खोजे । चालक नहुँदा एम्बुलेन्स प्रयोग सम्भव भएन ।

शिशुलाई चालक अर्कै खोजेर गाउँपालिकाको एम्बुलेन्समा पोखरा त लगियो । शिशु अस्पताल नपुर्‍याउँदैबीच बाटोमै ज्यान गयो । यो गत मंसिर ४ गतेको घटना हो ।
मुुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ध्ये गाउँकी ल्हामो गुरुङका ६४ वर्षीय बुवा भुचिङ कलेजोसम्बन्धी समस्याले बिरामी परेपछि जोमसोम अस्पतालमा ल्याइयो ।

Advertisement

यो मंसिर २४ गतेको घटना हो । जोमसोम ल्याईएका उनलाई थप उपचारका लागि पोखरा रिफर गरियो । पोखरा रिफर गरिएका गुरुङलाई लैजान एम्बुलेन्स खोजियो । तर, घरपझोङ गापामा एम्बुलेन्स भए पनि चालक थिएनन् । उनलाई पनि थासाङको लेतेबाट अर्का चालक खोजेर एम्बुलेन्समा पोखरा पठाइयो ।

मंसिर २९ गते फेरि घरपझोङ १ चिमाङ बस्ने मंगल थकाली पिसाबको समस्याले जोमसोम अस्पताल पुगे । तर,उ नको उपचार त्यहाँ सम्भव भएन । बिरामीको उद्धार गर्न घरपझोङ गापाको एम्बुलेन्स मगाईयो ,तर,चालक भएन । गापामा एम्बुलेन्स भए पनि चालक नहुँदा अर्को भाडाको गाडी रिजर्भ गर्नुपर्‍यो ।

Advertisement

जोमसोमकी सरिता विकका ठूलो बुवा ७७ वर्षीय सोमतबहादुर मृगौलासम्बन्धी रोगले बिरामी परे । उनलाई जोमसोम अस्पतालबाट पोखरा लैजानुपर्ने भयो । पुस १ गते बिरामी परेका उनलाई अर्को निजी गाडी रिजर्भ गरी पोखरा लगियो । उनले त्यसअघि ठूलाबुवालाई पोखरा लैजान गापाको स्वास्थ्य शाखामा फोन गरेकी थिईन् । शाखाले एम्बुलेन्स त छ तर चालक नभएको बतायो ।

मंसिर १९ गते जोमसोममा सवारी दुर्घटना हुँदा डोल्पा घर भई वारागुङ मुक्तिक्षेत्र ५ फल्याक बस्ने नाम्गेल गुरुङको खुट्टा भाच्चियो । अस्पताल पर्‍याईएका उनलाई पोखरा लैजानुपर्ने भयो । तर, जोमसोम अस्पताल र घरपझोङ गाउँपालिकाको एम्बुलेन्स माग गरियो । तर, अस्पतालको एम्बुलेन्स जीर्ण थियो, गापाको एम्बुलेन्स चालक नहुँदा थासाङ १ को टुकुचेबाट एम्बुलेन्स मगाएर बिरामीलाई पोखरा लगियो ।

यी त प्रतिनिधि घटनामात्र हुन् । घरपझोङमा धेरै सर्वसाधारणले एम्बुलेन्स सेवा नहुँदा सास्ती झेल्नुपरेको छ । घरपझोङ गाउँपालिकामा भारतीय राजदूतावासले दिएको नयाँ एम्बुलेन्स छ । तर, एम्बुलेन्सकै लागि भनेर चालकको अझै व्यवस्थापन गरिएको छैन । दूतावासले गत जेठ महिनामा घरपझोङ गापालाई नयाँ एम्बुलेन्स उपहार दिएको थियो ।

गापाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ समेत तयार गरेको छ । कार्यविधिमा चालक व्यवस्थापनसहित अन्य एम्बुलेन्स सञ्चालनसम्वन्धी थुपै्र नियम छन् । तर, एम्बुलेन्सको उपयोग प्रभावकारी बन्न सकेको छैन ।

गापाले प्रशासनिक तथा जनप्रतिनिधिका लागि व्यवस्थाप नगरिएकै चालकबाट एम्बुलेन्स सञ्चालन गर्दा प्रभावकारिता आउन नसकेको हो । अहिले पनि एम्बुलेन्स चलाउने जिम्मा गापाकै सरकारी गाडी चलाउने चालकलाई दिइएको छ ।

एम्बुलेन्स सेवा नहुँदा पीडित बनेकी जोमसोमकी सरिता विकले नागरिकको सेवाका लागि उपलब्ध एम्बुलेन्स चालकको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्य जस्तो संवेदनशील बिषयमा स्थानीय तह जिम्मेवार हुनुपर्ने औंल्याइन् ।

घरपझोङ १ चिमाङका मंगल थकाली घरपझोङ गापाले एम्बुलेन्स सेवालाई छिटो, छरितो र सेवामैत्री बनाउन चालक राख्न कन्जुस्याई गरेको बताउँछन् । ‘यो गम्भीर बिषय हो, एम्बुलेन्समात्र भएर हुँदैन; बेग्लै चालक किन राखिएन ? जनताको स्वास्थ्य सेवामा गापाको भूमिका देखिएन,’ उनले भने ।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भने एम्बुलेन्स चालकको व्यवस्थापन चाँडै गरिने बताउँछन् । ‘हामी एम्बुलेन्स चालक खोजिरहेका छौं, हेभी र लाइट दुबै चलाउने चालक खोज्दै छौं,’ अध्यक्ष लालचनले भने, ‘अहिले कामचलाउमात्र गरिएको हो; छिट्टै छुट्टै एम्बुलेन्स चालक नियुक्त गर्छौं ।’

पालिकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्दै नागरिकको स्वास्थ्य सेवा पहुँच बढाई सेवामैत्री बनाउन एम्बुलेन्स कार्यविधि निर्माण गरेको छ । कार्यविधिमा एम्बुलेन्स सेवा वापतको सेवा शुल्क र चालक आचारसंहितासमेत उल्लेख गरिएको छ ।

मुस्ताङको थासाङ ३ को लेते प्राथमिक स्वास्थ्य केन्द्र र थासाङ १ को टुकुचे स्वास्थ्य चौकीमा एम्बुलेन्ससहितको चालकको व्यवस्था छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एम्बुलेन्स सुविधा छैन ।

मुस्ताङ जिल्ला अस्पतालमा एम्बुलेन्स भए पनि जीर्ण बनेको अस्पतालका मेसु डा. विशाल तिवारीले जानकारी दिए । ‘हामीले सबै प्रक्रिया पुर्‍याएर नयाँ एम्बुलेन्सको माग प्रदेश सरकार गर्दै कागजात पठाएका छौं,’ उनले भने, ‘पक्कै पनि प्रदेश सरकारले चाँडै एम्बुलेन्स पठाउँला ।’

नेपाल रेडक्रस सोसाइटीको स्वामित्वमा रहेको १ एम्बुलेन्स ज्यादै पुरानो भएर जीर्ण बनेको छ । सो एम्बुलेन्स भारतीय दूतावासको सहयोगमा प्राप्त भएको थियो । रेडक्रसका जिल्ला सभापति चन्द्रबहादुर थकालीले एम्बुलेन्स कामचलाउ अवस्थामा समेत नरहेको जानकारी दिए ।

मुस्ताङको जोमसोममा एम्बुलेन्स सेवा प्रभावकारिता नहुँदा घरपझोङसहित उपल्लो भेगका २ पालिकाका बिरामीलाई थप उपचारका लागि पोखरा लैजान समस्या पर्ने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया