नेत्रहीन विद्यार्थीलाई सघाउँदै फाउन्डेसन

समाधान संवाददाता २०७९ पुष ५ गते ११:४१

पोखरा ।
फाउन्डेसन फर नेपलिज ब्लाइन्डस् स्टुडेन्स पोखराले वार्षिक कार्यक्रम अनुसार चितवन, गोरखा र पोखरामा विभिन्न कार्यक्रम गरेको छ । चितवनको पृथ्वी माविमा २ विद्यालयका ५२ शिक्षकलाई तालिम दिइएको छ ।

फाउन्डेशनका कोअर्डिनेटर शिवलाल धितालले अब विद्यार्थीलाई पढाउने नभई सिकाउने पद्दतिको विकास गर्नुपर्ने बताए । त्यसको लागि शिक्षकले १५ मिनेट डेमोन्ट्रेसन कक्षा सञ्चालन गरी बाँकी २५ मिनेट विद्यार्थीबीच सामूहिक अभ्यास गराउनुपर्ने उनको जोड छ ।


गण्डकी बोर्डिङ स्कूल पोखराका पूर्व प्राचार्यसमेत रहेका धितालले तालिममा सहजीकरण गरेका थिए । फाउन्डेसनले गोरखाको सरस्वती मावि आहाले, अमरज्योति मावि लुइँटेल, पोखराका अमरसिंह मावि र कुँडहर आधारभूत विद्यालयका १ सय ३ नेत्रहीन विद्यार्थी तथा अन्य असहाय वालबालिकालाई कम्मल वितरण गरेको छ । लक्ष्मी बैंक न्युरोड पोखराको आर्थिक सौजन्यमा कम्मल प्रदान गरिएको हो ।

Advertisement

स्थापनाकालदेखि नै नेत्रहीन विद्यार्थीलाई इबुकको रूपमा पठनपाठनलाई सहयोग गर्दै आएको फाउन्डेसनले यस वर्ष पनि ४ वटै नेत्रहीन विद्यालयका ५ र ६ कक्षामा पढ्ने १४ विद्यार्थीलाई इबुक वितरण गरेको छ । यसका लागि सूर्य नेपाल प्रालिले सहयोग गरेको थियो ।

फाउन्डेसनले नेत्रहीन विद्यार्थीको आँखा परीक्षण तथा उपचार गराउने क्रममा यस वर्ष पनि हिमालय आँखा अस्पताल पोखराका ५ नेत्र विशेषज्ञद्वारा विद्यालयमै पुगी १ सय ३२ नेत्रहीन तथा असहाय विद्यार्थीको आँखा परीक्षण तथा आवश्यक उपचार गराएको छ । आँखा प उपचारको लागि लामाचौर स्थित जयमनकामना सहकारी र पोखरा न्युरोड स्थित पोखरा फाइनान्सले फाउन्डेसनसंग सहकार्य गरेका थिए ।

Advertisement

हरेक नेत्रहीन विद्यालयमा एफएनबिएस म्युजिक क्लब गठन गरी संगीत सामग्री र प्रशिक्षकको व्यवस्थापन गरी विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । अमरज्योति माविको म्युजिक क्लब बनेपछि सबै नेत्रहीन विद्यालयका उत्कृष्ट ठहरिएका म्युजिसियन विद्यार्थीलाई एउटा संगीत ब्यान्ड बनाई त्यसलाई क्रियाशील बनाउन गण्डकी बोडिङ स्कूलका पूर्व विद्याथीं तथा लोकप्रिय नेपथ्य व्यान्डका संस्थापक अमृत गुरुङज्यूले आवश्यक भूमिका खेली सहयोग गर्ने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया