कास्की कांग्रेसमा कारबाहीको जुहारी

सञ्जय रानाभाट २०७९ पुष २१ गते १०:२९

सञ्जय रानाभाट, पाखेरा ।
नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई कारबाही माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ ।

बराललाई भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन र वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा कोठे बैठक गरेर संगठन अलपत्र पारी केन्द्रको नीति अनुसार अगाडि नबढेको भन्दै कारबाहीको माग गरिएको हो ।

बरालमाथि १० वटा बुँदामा आरोप लगाउँदै निर्वाचनमा गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्तर्घात, असहयोग गरेकाले कडा कारबाहीको माग गरिएको हो । निर्वाचनमा गुटगत कार्यकर्तामात्र परिचालन, चन्दा आतंक, समानुपातिक मत माग्न मतदान शिक्षा दिन प्रयास नगरिएको, व्यक्तिगत प्रचारप्रसार, भिडिओ अपिल तयार गरी एक्लै हिँडेर गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्योलमा पारेर विपक्षीलाई सहयोग गरेका भन्दै उजुरी परेको छ ।

Advertisement

तर आफूमाथि लगाइएका आरोप निराधार र आफ्नो गल्ती ढाकछोप गर्न गरिएका क्रियाकलापमात्र भएका सभापति बराल बताउँछन् । ‘जो मान्छे रित्तो छ; खोक्रो छ । जसले गल्ती गरेको छ । त्यसले गल्ती ढाकछोप गर्न अर्को गल्ती गरेको निरन्तरता हो । त्यसैको स्वरुप परेको उजुरी हो भन्ने लाग्छ,’ आरोप खण्डन गर्दै सभापति बरालले भने ।

मंगलबारमात्र बरालले कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा उजुरी हालेका थिए । केसीलाई भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बराल र गठबन्धनका उम्मेदवारलाई हराउन अन्तर्घात गरेको भन्दै उजुरी गरिएको छ ।

Advertisement

केसी समूहले बराल विरुद्ध काउन्टर दिन बुधबार कारबाही माग गर्दै बुधबार निवेदन दिएको हो । सभापति बराल मंसिर ४ मा सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । स्थानीय निर्वाचनमा कांग्रेसबाट पोखरा महानगरपालिकाकी उम्मेदवार कोपिला रानाभाट हारेसँगै कास्की कांग्रेसमा अन्तर्घातको आरोप, प्रत्यारोप चुलिएको थियो ।

पूर्वसभापति केसीले भने आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन् । ‘मेरो व्यक्तिगत कमजोरी हुन सक्छ । तर, उहाँले गरेका कमजोरी सिंगो कास्की कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘म आफू नचल्न सक्छु ।

उहाँ नचल्दा त सिंगो संगठन चल्दैन ।’ केसीले आफूमाथि लागेको आरोप भोलि आधिकारिक रुपले आइसकेपछि आफूले जवाफ दिने र आफूमाथि प्रश्न गर्नेलाई पनि आफूले त्यतिबेलै प्रश्न गर्ने बताए ।

गल्ती गर्ने आत्तिए: किशोरदत्त बराल
जो मान्छे रित्तो छ; खोक्रो छ । जसले गल्ती गरेको छ । त्यसले गल्ती ढाकछोप गर्न अर्को गल्तीको निरन्तरता हो यो । कसैले आरोप लगाउँदैमा प्रमाणित हुने अवस्था होइन । आम जनताले कति सत्य हो, त्यो बुझ्छ । त्यो कसैले आफ्नो गल्तीलाई ढाक्नलाई छायाँमा पार्ने प्रवृत्तिमात्र हो ।

यो कमजोर मान्छेले गर्ने प्रवृत्तिमात्र हो । पोखरा महानगरपालिकाको स्थानीय चुनावमा कांग्रेसले विगतमा ११ वटा वडा जितेकोमा यस पटकका २३ वटा वडा गठबन्धनसहितका दलले जितेका छन् ।

तर, यस पटक महानगरपालिका उपमेयरमा कोपिला दिदी हानुभयो; त्यो दुखद् भयो । अन्तर्घातले हारेको भन्ने त छैन । कोपिला दिदीले स्वयंले भन्नुपर्‍यो । मलाई लगाइएको आक्रोश, आरोप हो यो ।

पूर्व सभापति कृष्ण केसीविरुद्ध उजुरी परेपछि यसलाई छायाँमा पार्न लगाइएको कुरामात्र हो । यसले कांग्रेसका जनतालाई केही फरक पर्दैन । यो उजुरीले कृष्ण केसीमाथि जुन आरोप छ, त्यो थप पुष्टि गर्छ भन्ने अर्थ लाग्छ ।

मेरो वडामा मेरो धेरै भोट आएको भन्ने रैछ । यो कुनै तर्क होइन् । मेरो आफ्नो वडामा मलाई बढी भोट आयो; त्यो सही कुरा हो । यो हुँदैमा अन्तर्घात भएको भन्ने पुष्टि त हुँदैन नि । केही बुथमा दीपक भाइको मत बढी आएको छ । यसमा मैले अन्तर्घात भयो भन्ने तर्क गर्नु त भएन नि ?

यो कमजोर, काँतर मान्छेले गर्ने तर्क हो । कृष्ण केसीले आफू सभापति हुँदा भयंकर राम्रो संगठन चलाएको छु भन्ने भ्रम छ । उहाँले जुन दाबी गर्नुभएको छ । ०७४ सालमा उहाँ चुनावमा लड्दा ४ हजार ५ सय भोटले हानुभएको होइन ? अहिलेका चुनाव ४/५ सय मतान्तरले मात्र हारेका छौं ।

राजनीतिक यस्तै यस्तै कमिटीका मान्छेले गर्दा बिग्रिएको हो । उहाँले आफूमाथि लागेको आरोपमा पनि तथ्य, प्रमाण पेस हेर्नुहोला । यो विषयलाई डाइभर्ट गर्नु हुँदैन; यसले हामीलाई बलियो बनाएको छ । राजनीतिमा चर्का कुरा बोलिएकोमात्र हो । जसले गल्ती गरेको छ, त्यो आत्तिएको अवस्था हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया