‘जसले जहाज पछ्याइरहे’

सञ्जय रानाभाट २०७९ माघ २ गते १०:५१

पोखरा ।
‘पसलअघि घाममा टहलिइरहेको थिएँ । रंगशालाभन्दा तलबाट जहाज एक्कासि मोडियो । मेरो मनमा चिसो पस्यो । जहाज अवतरण गर्न सकेन भन्ने लाग्यो । हेर्दाहेर्दै प्लेन घरमै ठोक्किएला जसरी आयो । हामी प्लेनलाई पछ्याउँदै दुगुर्‍यौं । प्लेन खोलो खोज्दै उठेको जस्तो लाग्यो ।

सोच्दासोच्दै प्लेन भित्तामा ठोकियो । त्यसपछि मैले रामबजार प्रहरीलाई फोन गरे,’ आइतबार काठमाडौंबाट पोखराका लागि उडेको एटिआर ७२ जहाज विहान १०ः५० पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि दुर्घटना भएको जहाज देखेका पोखरा १५ का विष्णु तिवारी भने ।

तिवारीले आइतबार दिनभरि उद्धारका लागि प्रहरीलाई सहयोग गरे । उनको खुट्टामा चोट लागेको छ । पोखरा रंगशालाबाट प्लेन अनब्यालेन्स भएको देखेपछि उद्धारका लागि पुगे , प्रहरीलाई पनि खबर गरे । दुर्घटना हुनुभन्दा केही मिनेटअघि मात्रै विमान यसअघि उड्ने बाटोभन्दा फरक बाटोमा देखेपछि विमानलाई पछ्याउँदै घटनास्थल पुगेको तिवारी सम्झन्छन् । ‘केही गडबड छ भनेर दुर्घटनास्थलतर्फ लाग्दालाग्दै दुर्घटना भएको आँखैअघि देखें,’ तिवारीले भने ।

Advertisement

जहाजका टुक्रा जस्तै यात्रुका शव यत्रतत्र थिए । खोलामा जहाज खसेकाले उद्धार गर्न सहज थिएन । जलिरहेको जहाजका टुक्रा दिउँसो ३ बजेसम्म पनि निभेनन् । यतीको त्यो विमानलाई पश्चिमतर्फबाट ल्यान्ड गर्न अनुमति थियो । विमान पुरानो विमानस्थलबाट मोडिएर नयाँ विमानस्थलतर्फ जाँदा एक्कासि अनब्यालेन्स भएको उनी तिवारी बताउँछन् ।

दुर्घटनामा १० महिने शिशुसहित डाक्टर दम्पत्तिको पनि मृत्यु भएको छ । डा. सुशील श्रेष्ठ, डा.शोना दिवाकर र उनीहरुको १० महिने शिशु र डा.गणेश थापाको पनि मृत्यु भएको हो । ‘दुगुर्दै आइपुग्यौं घटनास्थलमै आइपुग्यौं । त्यति बेला प्लेनमा आगो लागिसकेको थियो । एक जना भाइ आगो लागिरहेको ठाउँबाटै चिच्याउँदै आउनुभयो ।

Advertisement

माछा मार्न जानुभएको भाइ पो हुनुहुँदो रैछ,’ प्रत्यक्षदर्शी तिवारीले भने, ‘यसपछि सबै जना आइपुग्नुभयो । उद्धार कार्य छिटो भयो । घरमा गएर ठोक्कियो भनेको बाँसको टुप्पोमा गएर ठोक्किएछ । पहिले दायाँ साइडको पंखा भित्तामा ठोकियो । आधा भाग खोलामा, आधा आधा भाग माथि रह्यो । हेर्न सक्ने अवस्था नै थिएन ।’

सेती नदीको खोँचमा दुर्घटनामा परेर ६८ जनाको शव भेटिएको छ । ३ जनाको अझै शव भेटिएको छैन । मृतकमध्ये १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी रामदत्त जोशीले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया