
पर्वत ।
पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला २ र ३ मा पर्ने बगर फाँटलाई बेनी बजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो । काली गण्डकीले कटान गर्न थालेपछि बगर फाँट बस्ती २ वर्षदेखि सडक सुविधाबाट वञ्चित छ ।
पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरूको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयलाई हिँडडुल र कृषि उपज बेनी बजारमा पुर्याउन सहज हुनेछ ।
यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग ५ महिनाभित्र योजना सक्ने गरी १ करोड ६० लाखको ठेक्का सम्झौता गरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
निर्माण कम्पनीले कालीगण्डकी किनारमा पुलको जग खन्ने काम थालेको छ । झण्डै ५४ मिटर लामो बेलिब्रिज राख्न पर्खालसहित जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिनेछ । तीन महिनामै काम सम्पन्न गर्ने लक्ष्य छ । पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासी आन्दोलनमा थिए ।
यहाँ पक्की मोटरेवल पुल निर्माणका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । करिब ३ सय परिवारको बसोबास रहेको बगर फाँटमा दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरिएको छ । यसरी लैजाँदा सामान महँगो पर्छ ।
बगर फाँटका बासिन्दाले म्याग्दी आवतजावत गर्दै आएको काली पुल जोड्ने झोलुंगे पुलको लठ्ठा पनि खिया लागेको अवस्थामा छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित छन् । बेलिब्रिज निर्माणपछि बगर फाँट हुँदै जलजला–१ बाँस खर्क, वडा नं ५ लेख फाँट, वडा नं ६ शालिजा र वडा नं २ को माझ फाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया