आँधीखोलामा ‘हप्तामा २ घण्टा’ अभियान

समाधान संवाददाता २०७९ चैत १० गते १०:५२

वालिङ ।
धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा २ घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान साढे ७ देखि साढे ९बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय संघ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार १२ औँ हप्ता पूरा भयो । आँधीखोला हाम्रो सभ्यता र पहिचान भएकाले यसलाई जोगाइराख्नु दायित्व सम्झेर संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिएको अगुवाइ गर्दै आएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्याल बताउँछन् ।

पानीका मुहान तथा प्राकृतिक स्रोत साधनको दोहन हुन नदिनका लागि सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिनका लागि अभियान थालेको उनको भनाइ छ । ‘हाम्रो सभ्यतासँग जोडिएको आँधीखोलामा ढल तथा फोहरमैला नफाल्नका लागि सकारात्मक सन्देश दिनका लागि खोलामै पुगेर सरसफाई गर्दै आएका छौँ’, उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियानमा विस्तारै सहभागी थपिँदै हुनुहुन्छ । १२ औँ हप्ता सकियो, निरन्तर चल्नेछ ।’

Advertisement

सामाजिक सञ्जाल तथा स्थानीय रेडियो, पत्रपत्रिकाको माध्यमबाट सूचना प्रवाह गरी अभियानमा सहभागी बनाउने गरिएको छ ।

आँधीखोला सरसफाइ अभियान प्रभावकारी बन्दै अगाडि बढेको अर्याल दाबी गर्छन् । वालिङमा जस्तै अन्य पालिकामा पनि संरक्षण र सरसफाइलाई अभियानकै रुपमा अगाडि बढाउनु आवश्यक छ ।

Advertisement

श्रवणकुमारका अन्धाअन्धी मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको सभ्यता पछिल्लो समय दूषित हुँदै जाँदा यसको महत्व सङ्कटतर्फ धकेलिएको छ । बढ्दो बजारीकरणसँगै खोलाको किनारमा रहेका बजार तथा बस्तीका ढल सिधै खोलामा मिसाउँदा पनि प्रदूषित हुने गरेको छ ।

बजारबाट निस्कने कुहिने, नकुहिने तथा सिसाजन्य फोहर खोला किनारमा स्थानीयले फालिदिने गरेका कारणले भने आँधीखोला प्रदूषित बन्दै गएको हो । पछिल्लो समय आँधीखोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दा पनि यसको स्वरुप परिवर्तन हुन पुगेको छ । खोलामा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा यहाँ पाइने स्थानीय जातका माछा लोप हुनुका साथै स्थानीय माझी जातिको पेसासमेत संकटमा छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिकास्थित ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको आँधीखोला जिल्लाको मध्यभागबाट बहेको छ ।

आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिकाको मिर्मिमा पुगेर कालीगण्डकीमा मिसिन्छ ।

तपाईको प्रतिक्रिया