उपलब्धिः विश्व वरीयता, लक्ष्यः ग्रान्डस्लाम

रिखिराम जिसी २०८० वैशाख ६ गते १०:३७

रिखिराम जिसी, पोखरा ।
पोखरा महानगरपालिका–५, पस्र्याङका अभिषेक बास्तोला ८ वर्षको उमेरदेखि टेनिस खेल्थे । १७ वर्षअघि उनी बुवासँगै कोर्ट गएर टेनिस खेल्ने उनी देश विदेशमा गएर खेल्ने भएका छन् । सानै उमेरदेखिको मोह र मिहेनतले उनी अहिले विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व वरीयतामा पहिलोपटक अटाउन सफल बनेका छन् ।

उनी विश्व वरीयतामा स्थान बनाउने पहिलो नेपाली टेनिस खेलाडी हुन् । हालसम्म १४ वटा देशमा गएर टेनिस प्रतियोगितामा सहभागी भइसकेका उनी टेनिसको विश्व वरीयताको १९९३ औं स्थानमा छन् । उनी हालसम्मकै उच्च वरीयता १७९० औं स्थानमा पुग्न सफल भएका थिए ।

टेनिस महँगोमध्येको एक खेल हो । नेपालमा यो खेलमा लगानी अरु खेलभन्दा निकै कम छ । अर्थात सरकारले यो खेललाई खासै महत्व दिएको देखिँदैन । उनी पारिवारिक सहयोगकै कारण यो उपलब्धि हासिल गरेको बताउँछन् । उनी भन्छन्, ‘पारिवारिक सहयोगकै कारण यो उपलब्धि हासिल गर्न सकें ।’

Advertisement

उनी कक्षा ९ पढ्न थाइल्यान्ड गएका थिए । त्यसपछि अमेरिकामा छात्रवृत्तिमा पढ्न गए । त्यहाँ पनि उनले नियमित टेनिस खेले । अमेरिकाको क्यालिफोर्नियाको सेन्ट मेरिज कलेजबाट स्नातक गरिसकेका छन् । अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

उनी अमेरिकामा आयोजित कलेजस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो एनसिएएको डिभिजन १ मा सहभागी भई माथिल्लोस्तरका टेनिस प्रतियोगिताका लागि छनोट पनि भएका छन् । ‘नेपालमै बसेर यो उपलब्धि हासिल हुने सम्भव थिएन, परिवारको महत्वपूर्ण भूमिका सहयोग र उत्साहसँगै हौसलाले यहाँसम्म पुगें,’ उनी भन्छन् ।

Advertisement

१४ वटा देशमा गएर टेनिस प्रतियोगितामा सहभागी भइसकेका पोखराका अभिषेक टेनिसको विश्व वरीयताको १९३३ औं स्थानमा छन्

सन् २०१४ मा १४ वर्षकै उमेरमा अभिषेकले कोरियाको इन्चोनमा भएको १७ औं एसियन गेम्समा सहभागिता जनाएका थिए । चीनको नान्जिङमा दोस्रो युथ गेम्समा सहभागिता जनाएका अभिषेकले इन्डोनेसियामा आयोजित १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्वसमेत गरिसकेका छन् ।

सन् २०१३ मा चीनमा अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन जुनियर सर्किटमा भाग लिएको अनुभव उनीसँग छ । यस्तै कोरियाको इन्चोकमा १७औँ एसियन गेम्स, भारतको गुवाहटीमा १२औँ साउथ एसियन गेम्स, इन्डोनेसियाको जाकार्तामा सन् २०१८ मा १८ औँ एसियन गेम्स खेलेको अनुभव पनि उनीसँग छ ।

८ वर्षकै उमेरमा टेनिसप्रति लगाब बढाएका अभिषेकको सपनालाई बुवा अनुज बास्तोलाले पुरा गर्दै गए । बुवा अनुज आफैं पनि कास्की जिल्ला टेनिस संघमा आवद्ध मात्रै नभई टेनिस खेलाडीसमेत हुन् । बुवा अनुजले अभिभावकको नाताले छोराको उपलब्धिप्रति गर्व महसुस भएको बताउँछन् । ‘अभिभावकको नाताले छोराको उपलब्धिप्रति गर्व छ, परिवारले वातावरण बनाइदियौं,’ उनले भने, ‘टेनिस संघसँगै राज्यले पनि खेलाडीलाई प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

टेनिस नै आफ्नो जीवन भएको अभिषेक बताउँछन् । उनी भन्छन्, ‘टेनिसमा मेरो करियर सुरु भएको छ, टेनिस मेरा लागि जीवन हो । मलाई लाग्छ, यसैका लागि म जन्मिएँ, मैले ८ वर्षकै उमेरबाट टेनिस खेल्न सुरु गरेको हुँ । बुवालाई जिद्दी गरेर टेनिस खेल्नका लागि टेनिस कोर्टसम्म पुर्‍याउँथे ।’

टेनिसमा अहिलेको सफलता हासिल गर्नुको पछाडि थुप्रै चुनौती झेलेको उनी बताउँछन् । ‘चुनौती जित्नका लागि शारीरिक, मानसिक एवं प्राविधिक रूपमा प्रशिक्षित हुन जरुरी छ, यहाँ पुग्न सही व्यक्तिको सहयोगको खाँचो पर्छ,’ उनले भने ।

उनले अबको लक्ष्य ओलिम्पक गेम हो । त्यसपछिको लक्ष्य भने टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता ग्रान्ड स्लाम खेल्ने हो ।

‘टेनिसमा अन्तिम लक्ष्य नै ग्रान्ड स्लाम हो, यो वर्ष ओलम्पिक खेल्ने चाहना छ,’ उनले भने, ‘त्यसपछि अर्काे वर्ष ग्रान्डस्लाम खेल्ने लक्ष्य छ ।’

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया