गलकोटमा सिसिटिभी क्यामेरा जडान

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख १३ गते ११:४५

ढोरपाटन ।
गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो ।

गाउँका घरमा बुढाबुढी मात्रै भएको र ताला लगाएका घरमा पनि चोरी हुन थालेपछि गलकोट नगरपालिकाले त्यस्ता घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरेको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबीच भागमा पर्ने गलकोट क्षेत्र पछिल्लो समय तीव्ररूपमा सहरीकरण भइरहेको छ ।

सहरीकरणसँगै आपाराधिक घटना बढ्दै गएपछि नगरपालिकाले हटियाबजार नरेठाँटी, मल्म, हरिचौर बजार, भ्यूटावर,लगायतका गलकोटको मुख्य बजार क्षेत्र र नाकामा २० वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

Advertisement

सिसिटिभी क्यामेरा जडानपछि आपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले विश्वास व्यक्त गरे । नगरपालिकाले यसका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट बिनियोजन गरेको थियो । सिसिटिभी क्यामरा ‘कन्ट्रोल रुम’ इलाका प्रहरी कार्यालय हरिचौरमा राखिनेछ ।

‘अहिले लोकमार्ग छेउछाउका क्षेत्रमा धमाधम घर भवन बनिरहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटना पनि हुने गरेका छन्’, उनले भने, ‘त्यस्ता घटना नियन्त्रण गर्न हामीहरूले बजार क्षेत्रमा र सम्भावित घटना हुने ठाउँमा सिसिटिभी क्यामरा जडान गरेका हौँ । आवश्यता अनुसार अन्य क्षेत्रमा पनि विस्तारै जडान गरिनेछ ।’

Advertisement

नगर प्रमुख भरत शर्मा गैरेले बजारलाई व्यवस्थित गर्न सिसी क्यामराले ठूलो टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरे । समय–समयमा बजार क्षेत्रमा गलत क्रियाकलाप हुने र नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसिटिभी क्यामरामार्फत निगरानी गर्ने उनको भनाइ छ । यसले जथाभावी फोहर फाल्ने, तोडफोड हुने घटना पनि अब न्यूनिकरण हुने प्रमुख गैरेले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया