‘हामी मरेपछि सकिन्छ भेडापालन’

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख २४ गते ११:२९

ढोरपाटन ।
तमानखोला गाउँपालिका ५ खुङ्खानीका रनबहादुर सिर्पाली सात दशकमा हिड्दै छन् । उमेर घर्कँदै गए पनि काम गर्ने जोस भने तन्नेरीभन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहारसुसारमा लाग्ने सिर्पालीका २ सय ५० भन्दा बढी भेडाबाख्रा छन् ।

जाडो बढेपछि मंसिरमा बेसी झरेका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थालेका छन् । उनका भाइ देवबहादुर पनि सँगै बुकी चढ्ने तयारीमा छन् ।

तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रंगका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो ।

Advertisement

बाउबाजेको पेसा गर्दै आएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेकोमा चिन्तित छन् ।

६० वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । उनीहरुले भेडा हुलमूलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रङ लगाइदिएका छन् ।

Advertisement

बुढाहरु मरे होलान्, अहिलेका तन्नेरीले यस्तो काम गर्दैनन् । यही हिसाबले त हामी मरेपछि भेडा पनि पाल्न छोड्छन् होला ।
देवबहादुर सिर्पाली

उनले आफ्ना पालामा अहिलेको जस्तो पढ्नेलेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको सुनाए । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताए । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उनको भनाइ छ ।

‘पहिलेपहिले एकै जनाको दुई/तीन हजार भेडा हुन्थे, अहिले त भेडा पाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो’, रनबहादुर भन्छन्, ‘दुःख पाउने पेसा नै गर्नुपर्‍यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गोठ नै रमाइलो हुन्छ ।’

पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाहँदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रमा भेडा गोठालो र भेडा प्रशस्त भेटिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर जनाउँछन् ।

भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताए । ३ छोरा र २ छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको देवबहादुर सुनाउँछन् ।

बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उनको भनाइ छ ।

देवबहादुर भन्छन्, ‘भेडा चराउन निकै टाढाटाढा पुग्नुपर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडिसम्म भेडा लगेरमाथि बुकीतिर जाँदा हामी जस्तै धेरै भेडा गोठालाको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन् । यही हिसाबले त हामी मरेपछि त भेडा पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।’

भेडाको सुरक्षाका लागि उनीहरुले ३ कुकुरसमेत पालेका छन् । उनीहरु जता जानुहुन्छ, भेडा र कुकुर पनि र उतै लैजान्छन् ।

अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाइ छ । अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर उनीहरु बसेका छन् । उहाँ राति सुत्ने बेला पनि भेडा उनीहरुकै छेउछाउमा आउँछन् । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

सरकारले कृषकलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकलाई अनुदान भनेको थाहा नै छैन । उनीहरु सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा, सुविधा दिन थालेको बताए ।

‘पशुपालनका लागि तमानखोला उर्बर मानिन्छ, यहाँ घना जंगल र भुई घाँसका लागि प्रशस्त ठाउँ छन्, परापूर्वकदेखि नै यहाँका स्थानीयले भेडापालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेसा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,’ अध्यक्ष बुढामगरले भने, ‘उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रविधिसँग जोड्ने प्रयास पनि भइरहेको छ ।’

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया