साहसिक पर्यटन तान्दै पर्वत

समाधान संवाददाता २०८० असार ४ गते १२:२३

पोखरा ।
पर्वतले साहसिक पर्यटकलाई आतिथ्यता दिन थालेको धेरै भएको छैन । पर्वतलाई २०४८ सालतिर पर्वत सडक सञ्जालले जोडेपछि नै कालगण्डकीमा सेता छाला भएकाहरु पुग्न थालेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौडेल सम्झन्छन् । ‘२०४८ मा पर्वत सडक सञ्जालले जोडिएपछि २०५०/५१ तिरबाट कालीगण्डकीमा र्‍याफ्टिङ चल्न सुरु भएको हो,’ उनले भने । गाडीका छतमा र्‍याफ्ट लिएर काली पुग्नेहरुले नै साहसिक पर्यटनको सम्भावना उजागर गरेको उनले बताए ।


२०६३ सालमा पर्वतकै ज्ञादी र कुश्मा जोड्ने गरी पुल बन्ने भयो । सो पुलको अध्यक्ष पनि उनै पौडेल चुनिए । २०६६ सालमा पुल बनिसक्यो । कालीगण्डकी नदीमाथि बनेको उक्त पुल नेपालकै अग्लो पुल दावी गरिएपछि फाट्टफुट्ट पर्यटन जान थाले ।

त्यसपछि मात्र पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको अवधारणा अघि बढेको पौडेलले सुनाए ।

Advertisement

२०४८ मा पर्वत सडक सञ्जालले जोडिएपछि २०५०/५१ तिरबाट कालीगण्डकीमा र्‍याफ्टिङ चल्न सुरु भएको हो


त्यसको ३ वर्षपछि पौडेल पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको संस्थापन भयो । पर्यटन केन्द्रको अध्यक्षममा पौडेल चुनिएपछि पर्वतमा पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै नयाँ नयाँ पर्यटकीय क्षेत्र खोज्न सुरु भयो । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रले पहिलो कामका रुपमा र्‍याफ्टिङ प्रवद्र्धन गर्न थाल्यो । सो समय नेपाल पर्यटन बोर्डले सघाएको उनले सुनाए । ‘म अध्यक्ष भएपनि नेपाल पर्यटन बोर्ड र पोखराका व्यवसायीसँग सहकार्य गरेर विभिन्न सरोकारवालाहरुलाई लिएर र्‍याफ्टिङ प्रवद्र्धनका लागि गएका थियौं,’ उनले भने ।

Advertisement


अग्लो पुल हेर्न पाहुना झुमिएपछि केहीले त्यहाँबाट बञ्जी गर्न मिल्ने सुझायो । बञ्जीको सम्भावना र सम्भाव्यता बुझ्न टोली २०६८ सालमा सिन्धुपाल्चोक हानियो । भोटेकोशीमाथिको बञ्जीबारे जानकारी लिएपछि पर्वत फर्किएको टोली लामो समयसम्म अलमलमा पर्‍यो । धेरै खर्च लाग्ने अनि जोखिम बढी हुने भएपछि न त्यहाँका व्यवसायीले आँट गर्‍यो न सरकारले चासो नै दियो ।


साहसिक पर्यटनको एउटा पाटो बञ्जीको राम्रो सम्भावना भएपनि सुरुआत कस्ले गर्ने भन्ने अन्योल थियो । सोही क्रममा भोटेकोसीमा बञ्जी गराउने राजु कार्की २०७३ सालमा पर्वत पुगे । कार्कीले आँट गरे । अनि बञ्जीको संरचना बनाउने काम सुरु भयो । २०७७ सालदेखि पर्वतको कुश्मा र बागलुङको बलेवा जाड्ने गरी बनाइएको पुलको बिचमा भागबाट सुरु भयो, विश्वकै दोस्रो अग्लो बञ्जी ।


कार्कीले दी क्लिफ प्रालिले बनाएको नमुना पुल, बञ्जि जम्पसँगै, विश्वकै उच्च स्वीङ, स्काई साईक्लिङि, स्काई क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज निर्माण गरेपछि साहसिक पर्यकीय केन्द्रको रुपमा विकास भएको हो । अधिकांस संरचना बागलुङ बलेवामा रहे पनि यसले कुश्माको पर्यटनमा पनि टेवा पुगेको छ ।


यहाँको साहसिक खेलमा रमाउन पछिल्ला समय आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन् । पछिल्ला समय भारत र बंगलादेशका नागरिकहरु साहसिक खेलको आनन्द लिन त्यहाँ पुग्ने गरेको दी क्लिफका सञ्चालक राजु कार्कीले बताए । ‘अधिकांश आन्तरिक पर्यटक हुन्छन्,’ दी क्लिफका सञ्चाल कार्कीले भने, ‘पछिल्लो समय बाह्य पर्यटकहरु पनि यहाँ आउन थालेका छन् ।’


द क्लिफले निजी लागानीमा साहसिक गतिविधिका संरचना बनाउन सुरु भएपछि कुश्मामै कालीगण्डकीको खोंचमै जिपलाइन पनि बनेको छ । पछिल्लो झांगिदै गएको पर्वतको साहसिक पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले पनि चासो देखाएका छन् ।


पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन प्रवद्र्धनका लागि समस्या, चुनौती र अवसरका बारेमा बुधबार कुश्मामा सरोकारवालाहरुसँग छलफल गरेको थियो ।


पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका सहसचिव शिवप्रसाद शर्माले पर्वतको पर्यटकीय सम्भावना र क्षेत्रहरुका बारेमा जानकारी गराएपछि छलफल सुरु भएको थियो । सो छलफलमा साविक धौलागिरि क्षेत्रको गेटवेको रुपमा रहेको पर्वतमा प्रशस्तै सम्भावना र पर्यटकीय पूर्वाधारहरु भएपनि पर्याप्त मात्रामा जिल्लावासीले लाभ लिन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरुले कालीगण्डकी नदी साहसिक पर्यटनसँगै धार्मीक पर्यटनका लागि पनि महत्वपूर्ण रहेको बताएका थिए ।


पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष पौडेलले निजी क्षेत्रबाट लगानी बढाइरहँदा सरकारको ध्यान जान नसकेको बताए । ‘पछिल्लो समय पर्वत साहसिक पर्यटनको गन्तव्यको रुपमा चिनिँदै गएको छ । यसमा यहाँका व्यवसायीहरुको ध्यान त गएको नै छ,’ उनले भने, ‘तर, सरकारी पक्षबाट नीति निर्माण बनाउने अनि प्रत्यक्ष फाइदा हुने काम नै भएको छैन । पर्यटन बोर्ड भने हामीलाई धेरथोर सहयोग गरिरहेको छ ।’ उनले साहसिक पर्यटनकै लागि प्याराग्लाइडिङको परिक्षण उडान भइसकेको उनले जानकारी दिए । यसका लागि पर्यटन बोर्डले पनि सघाएको उनले सुनाए ।


सरोकारवालहरुको छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका शाखा प्रमुख नविन पोखरेलले पर्वतमा रहेका पर्यटकीय स्थलहरुको विकासका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताए । पर्वतमा साहसिक पर्यटकको अझ बढी सम्भावना रहेकाले आगामी बजेटमा ध्यान दिने उनको भनाइ थियो । सम्बन्धित क्षेत्रका स्थानीय सरोकारवालाहरुको सक्रियताले मात्रै साहसिकसहित अन्य पर्यटन क्षेत्र चलायमान हुने उनको भनाइ थियो । पर्यटकीय पूर्वाधारहरुलाई प्रकृतिमैत्री बनाउनुका साथै हरेक दृष्टिकोणले सुविधा सम्पन्न बनाउन सकेमा मात्र त्यसबाट फाइदा लिन सकिने उनले बताए ।


कार्यक्रममा पत्रकार महासंघ काकीका अध्यक्ष विमला भण्डारीले बजेट निर्माणमा क्रममा भएको छलफलले प्रदेश र स्थानीय तहलाई झक्झकाउने बताइन् । पत्रकारहरुले पर्याप्त प्रचार गरेर नै पर्यटनको विकास गर्न सकिने उनको भनाइ थियो ।


कार्यक्रममा युनिभर्सिटी अफ अटवा क्यानडाका प्राध्यापक डा भानुभक्त आचार्य, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, पत्रकार गणेश पौडेल, प्रनिश गिरी, आरके अदिप्त गिरी, समाजसेवी पृथ्वीनारायण शर्मा लगायतले पयर्टन लागि उचित व्यवस्थापन, पर्याप्त सुविधा र स्थानीयस्तरका उत्पादनको खानपानमा जोड दिनुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया