बजेटमाथि सांसदहरुको चर्काे रोष: ४ अर्ब रुपैयाँ २४ सय योजनामा कनिका छराइ

रिखिराम जिसी २०८० असार १३ गते १०:५०

पोखरा ।
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको सत्तापक्षीय सांसदले नै चर्काे आलोचना गरेका छन् । सत्ताको प्रमुख साझेदार माओवादी सांसद सांसद हरि भण्डारीले म्याग्दी पर्यटनको धेरै सम्भावना भएको जिल्लामा २ वटामात्रै बजेट विनियोजन गरेको भन्दै धन्यवाद दिँदै व्यंग्य गरे । ‘मन्त्रीज्यूहरु थाक्नुभाछ, निदाउन पाउनुभाछैन, रातभरि बजेटका लागि सोच्नुहुन्छ होला, जनताका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा, आफ्नो टोलमा, आफ्नो कुन कार्यकर्ता छुट्यो भनेर पो सोच्नुभएको रहेछ,’ उनले भने, ‘बजेट पढ्दा मलाई त्यस्तो लाग्यो ।’


विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेश सभाको मंगलबारको बैठकमा सांसद भण्डारीले रोष प्रकट गरेका हुन् ।

म्याग्दीका निरन्तरका सिँचाइका योजना काटिएको भन्दै पनि भण्डारीले व्यंग्यात्मक धन्यवाद व्यक्त गरे । ‘जनताले जसअनुसार मत दिनुभयो, हामीले पनि मन्त्रीज्यूहरुलाई मत दियौं, तर सोचेअनुसारको बजेट आएन,’ उनले भने । तर सत्तापक्षको भएको हुँदा बजेटमा समर्थन गर्नु आफ्नो बाध्यता भएको उनको भनाइ थियो ।

Advertisement

करिब १७ सयवटा ठ्याक्कै १० लाखका योजना छन् । ५० लाख मुनिको ३९ योजना छन्, १ करोडमाथिको योजना एउटामात्रै देखिन्छः वेदबहादुर गुरुङ, एमाले सांसद


कांग्रेस सांसद भेषबहादुर पौडेलले १ करोडभन्दा कमका योजना प्रदेशले राख्नै नहुने आफ्नो पुरानै भनाइ रहेको स्मरण गरे ।

Advertisement

माओवादी सांसद फणीन्द्र देवकोटाले बजेट पढ्दै चक्कर आउने खालको भएको टिप्पणी गरे । प्राथमिकता दिनुपर्ने योजना पर्दै नपरेको पनि उनले बताए । माओवादी सांसद दमयन्ती रुचालले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नै नमिलेको टिप्पणी गरिन् । तयारीकै कमी भएको र सरसल्लाहका लागि घेरा ठूलो बनाउन नसकेको उनको गुनासो थियो । एमाले सांसद लक्षमण पाण्डेले पनि बजेटले नीति तथा कार्यक्रम र सिद्धान्त बिर्सिएको बताए । ‘सत्ताका साथीहरुलाई मात्रै बजेटले सम्झियो,’ उनले भने, ‘उहाँहरुमात्रै चुनाव जितेर आएको हो, अरु होइनन् भन्ठान्यो ।’


एमाले सांसद वेदबहादुर गुरुङले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत करिब ५ अर्ब विनियोजन भएकोमा ४ अर्ब ६६ करोड पुँजीगत र ३५ करोड चालुतर्फ विनियोजन भएको सुनाए । ‘पुँजीगत बजेटलाई २४ सय ४७ वटा योजनाको टुक्रा बनाइएको छ । करिब १७ सयवटा ठ्याक्कै १० लाखका योजना छन् । ५० लाख मुनिको ३९ योजना छन्,’ उनले भने, ‘१ करोडमाथिको योजना एउटामात्रै देखिन्छ । बजेट हेर्दा अत्यन्तै दुख लागेको छ । जे हिजो सिद्धान्त र प्राथमिकता भनेका थियौं, त्योभन्दा तल्लोस्तरको बजेट भएरै छाड्यो ।

यसले प्रदेशलाई कहाँ पुर्‍याउँछ ? हामीले वडास्तरको बजेट टुक्रा बनाएर बाँडेर नागरिकमा के सन्देश जान्छ ? हामीले ३० हजार धारा बनाएर यो वर्ष सम्पन्न गर्ने भनेर आशाजनक लक्ष्य लिएको देखियो ।’ १० लाखको योजनाले कसरी प्रतिफल दिन सक्नुहुन्छ ? भन्ने उनको प्रश्न थियो । ‘१० लाखको तपाईं इन्टेक टंकी बनाउनुहुन्छ कि ? मुहान बनाउनुहुन्छ कि ? धारासम्म कसरी हुन्छ ?’ गुरुङले भने, ‘त्यसैले यो बजेट बालुवामा झ्वाम । यो वर्ष ३० हजार धारा भन्नुभाछ, त्यो लक्ष्य प्राप्त गर्ने खालको छैन ।’


२४ सय/२४ सय योजना छनोट गरेर, टुक्र्याएर प्रशासनिक खर्च, जनशक्ति दुरुपयोग भएको सांसद गुरुङको टिप्पणी थियो ।

‘प्रदेशको स्ट्यान्डर्ड त्यो होइन, त्यो गाउँपालिकाको र वडाको स्ट्यान्डर्ड हो । प्रदेशले करोडभन्दा माथिका योजना ह्यान्डलिङ गरेर एउटा प्रतिफल निकाल्नुपर्नेमा भए भरको ४ अर्ब पैसा १० लाखको टुक्रा बनाएर न त्यसको प्रतिफल आउँछ, न त्यसको गुणस्तर हुन्छ न त्यसको अनुगमन पुग्छ,’ उनले भने, ‘संघीयतालाई उपहास गर्ने बजेट देखियो । यो जानेर हो या नजानेर हो, यो अपराधपूर्ण काम पनि हो ।’


अहिलेको संकटपूर्ण आर्थिक अवस्थाको बेलामा अनिकालमा बिऊ जोगाउनु पर्नेमा त्यसो नभएको सांसद गुरुङको भनाइ थियो । ‘केही प्रतिफल दिने योजना लक्षित नगरीकन प्रतिफल नआउने योजनामा कनिका छरे झै बजेट छर्नु दुखदायी छ । १० लाखले कसरी प्रतिफल दिनसक्छ, चाहे सिँचाइमा भन्नोस्, चाहे खानेपानीमा भन्नोस्,’ उनले भने । कांग्रेस सांसद सरस्वती गुरुङले भने कम्तीमा १० लाखका योजना पारिनु सुखद भएको बताइन् ।

विषय सम्बोधन गर्ने प्रतिवद्धतापछि चल्यो प्रदेश सभा
गण्डकी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाएका विषयमा प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता गरेसँगै प्रदेश सभाको अवरोध हटेको छ । बजेट चुहावट भएको भन्दै एमालेले मंगलबारको प्रदेश सभा अवरुद्ध गरेको थियो । बजेटको प्रदेश सरकारले सूचना चुहावट भएको भए छानविन गरेर कारबाही गर्ने प्रतिवद्धता जनाएसँगै प्रदेश सभाको अवरोध हटेको हो ।


मन्त्रालयगत योजनाअनुसार छुट्टाछुट्टै पुस्तक छाप्ने, योजना कार्यान्वयनमा गएपछि सांसदलाई अनुगमनमा खटाउने, आयोजना बैंक बनाउन आपसी समझदारीमा कार्यविधि बनाउनेसमेत सरकारले प्रतिवद्धता जनाएको छ । प्रदेश सभामा एमाले प्रमुख सचेतक गोविन्द नेपालीले बजेटको कार्यक्रम पुस्तिका सांसदहरुले पाउनुभन्दा ५८ घन्टा अघि नै सत्तापक्षका कार्यकर्ताको हातमा पुगेको भन्दै आपत्ति जनाएका थिए । उनले सत्तापक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा राखेका बजेटका अंक र बजेटको कार्यक्रम पुस्तिकामा आएको अंक मिलेको उनको आरोप थियो ।


बजेट पुस्तिकाका अक्षर सानो भएकाले पढ्न नसकिएको पनि नेपालीले बताए । उनले आफूहरुले उठाएका प्रश्नको जवाफ नआएसम्म सदनको कारबाही अगाडि नबढ्ने भनेरपछि प्रतिपक्षका सांसद उठेका थिए । त्यसपछि सदन अवरुद्ध भएको थियो । सभामुखले प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले दिने भन्दै छलफलको वातावरण बनाउन आग्रह गरेका थिए । उनले प्रतिपक्ष सांसदलाई बस्न पटकपटक अनुरोध गरे पनि उनीहरु उठिनैरहेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको थियो ।


आधा घन्टाको स्थगनपछि बैठक फेरि बसेको थियो । अर्काेपटकको बैठकको सुरुमै अर्थमन्त्री जीतप्रकाश आलेलाई सभामुखले बोल्ने पालो दिएका थिए । उनले सांसदहरुले उठाएका सवालको जवाफ दिन आलेलाई समय दिएका थिए । उनले प्रतिपक्षका सांसदका विषय सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया