महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाउने इन्पेक्टरमाथि छानबिन गर्न समिति गठन

समाधान संवाददाता २०८० असार १९ गते १५:२२

पोखरा ।
महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनामाथि छानबिन सुरु भएको छ । इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भन्दै पीडित महिलाले म्यासेजको स्क्रिनसट सार्वजनिक गरेकी छन् ।


सोही विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी प्रकाश दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छाैं । दोषी देखिए कारबाहीअघि बढ्छ,’ कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले भने । अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको कास्की प्रहरी प्रमुख केसीको भनाइ छ ।

Advertisement


इन्स्पेक्टर तिमिल्सिनाले इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको भन्दै निवेदन दिएका छन् । उनले निवेदनमा लेखेका छन्, ‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरा आफन्त, मित्रहरूलाई अश्लील खालका म्यासेज गरिरहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाऊँ ।’

Advertisement

तपाईको प्रतिक्रिया