बागलुङमा पहिराले २ स्कुल जोखिममा

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार २२ गते ११:४९
फाइल फाेटाे

ढोरपाटन ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा २ विद्यालय पहिरोको जोखिममा परेका छन् । निसीखोला गाउँपालिका ६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका ५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।


पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ ।

अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवन नै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्तीमगरले जानकारी दिए । विद्यालय संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष घर्तीमगरले सुनाए ।

Advertisement


पहिरोले खेल मैदान बगाएसँगै विद्यालय भवन जोखिममा परेको थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेको भनाइ छ । विद्यालय पहिराका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उनी बताउँछन् । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कतिबेला विद्यालय बगाउँछ भन्ने त्रास रहेको प्रधानाध्यापक घिमिरेले सुनाए ।,


विद्यालयमा अधिकांश ससाना बालबालिकामात्रै रहेको हुँदा पहिरोबाट लड्ने खतरा बढेको छ । पहिरोले खेलमैदान बगाएपछि विद्यालय संरक्षणका लागि गाउँपालिकामा जानकारी गराइएको छ । विद्यालयको मुख्य भवनको तल्लो भागको पहिरोले बगाउँदा शौचालय जानआउन समस्या भएको हो ।

Advertisement


प्रधानाध्यापक घिमिरेले भने, ‘बर्खा लाग्यो, अहिलेसम्म यस्तो समस्या त आइपरेको थिएन, अहिले एक्कासी पहिराले मैदान भत्किएपछि माथिल्लो पट्टिको भवन पनि जोखिममा छ, यहाँ बालविकास र तल्लो कक्षामा पढ्ने विद्यार्थी हुँदा खेल्दै गएर लड्छन् कि भन्ने जोखिम बढेको छ, पहिराको तलतिरबाट ग्याविनसहितको पर्खाल नलगाएसम्म सुरक्षित हुने देखिन्न ।’


बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनले पहिरोबाट विद्यालय भवन र अन्य संरचना संरक्षणका लागि पहिरो नियन्त्रण गर्ने जनाए । बर्खामा हुने सम्भावित घटनालाई मध्यनजर गरी गाउँपालकाले उद्धार लगायतका बारेमा योजना बनाएको जनाउँदै विद्यालय संरक्षण गर्ने दायित्व आफूहरुको रहेको वनले सुनाए ।


कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा १ सय ५० विद्यार्थी छन् । सोही विद्यालयमै बाल विकास केन्द्र पनि सञ्चालनमा छ । त्यहाँ १७ बालबालिका अध्ययन गर्न आउने गरेका विद्यालयले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया