जानकी माविमा वन विज्ञानको पढाइ

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार २८ गते ११:४१

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन वर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको हो ।


पहिलो वर्षमा १६ जना विद्यार्थी छन् । ८ जना शिक्षकले अध्यापन गराउँछन् । उक्त विषयमा पढाइ सञ्चालन गर्ने जानकी कास्कीमै पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीले दाबी छ ।


उनका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालन गरिएको छ ।

Advertisement


३ वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रति विद्यार्थी १ लाख २५ हजार शुल्क निर्धारण गरिएको बताउँदै उनले भने, ‘विद्यार्थीले उक्त रकममध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०। ३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने छ ।


विद्यालयले लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवं पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनले जानकारी दिए । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।

Advertisement


वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउन सोही स्थानको भित्री गाउँमा रहेको खेल मैदानमा सुविधा सम्पन्न पक्की भवन निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधीन २ तले ४ कोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । विद्यालयमा हाल ३५० जना विद्यार्थी छन् । सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक विषयको पढाइलाई जोड दिँदै आएका छन् ।


रुचि भएर पनि पायक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीका लागि सामुदायिक विद्यालयमा विभिन्न विषयका प्राविधिक कक्षा सञ्चालन भएपछि विद्यार्थीका लागि वरदान सावित भएको स्थानीय बताउँछन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया