सफल सामुदायिक विद्यालय

पहिला विद्यार्थी खोजीखोजी, अहिले रोजीरोजी

प्रमिला कुँवर २०८० असार ३१ गते १०:३९

पोखरा ।
यस वर्षको एसइई परीक्षामा कास्की जिल्लाका सामुदायिक विद्यालयतर्फबाट सबैभन्दा उत्कृष्ट जिपिए ३. ९ किशोर भण्डारीले ल्याए । उनी पोखरा १२ को शीतलादेवी माविका छात्र हुन् । आफ्ना विद्यार्थी भण्डारी जिल्ला प्रथम भएको प्रध्यानाध्यापक बाबुराम अधिकारी बताउँछन् । त्यसो त उक्त विद्यालयबाट एसईई परीक्षामा सहभागी सबै १०७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।


२०७४ को एसएलसी परीक्षामा शीतलादेवी माविकै अर्चना सापकोटा गण्डकी प्रदेश प्रथम भएकी थिइन् । यो विद्यालयका विद्यार्थी पटकपटक जिल्ला प्रथम हुँदै आएका छन् । २०७३ र २०७५ मा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेर उत्कृष्ट विद्यालयको रुपमा शिक्षा मन्त्रालयबाट सम्मानितसमेत भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा पनि घोषित भइसकेको छ ।


२०७६ मा क्षेत्रीय शिक्षा पुरस्कारबाट सम्मानित भइसकेको शीतलादेवीले पटकपटक जिल्ला शिक्षा पुरस्कार प्राप्त गरेको छ । व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरे वापत २०७९ मा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले ५ लाख राशिको पुरस्कार प्रदान गरेको छ ।

Advertisement

पोखरा १२ को शीतलादेवी माविका छात्र किशोर भण्डारी यसपालिको एसइईमा सामुदायिकतर्फ जिल्ला प्रथम भए


शीतलादेवी त्यही विद्यालय हो, जहाँ कुनै बेला विद्यार्थाी नभएर सुनसान हुन्थ्यो । अचेल भने विद्यार्थी भर्ना गर्न तँछाडमछाड हुन्छ । निजी विद्यालयमा पढ्न नसक्ने, नियमित विद्यालय नआउने, पढाइमा रुचि नभएको विद्यार्थीले पढ्ने विद्यालयका रुपमा परिचय बनाएको विद्यालय शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएपछि अहिले देशकै उत्कृष्ट विद्यालय बनेको छ ।

Advertisement


विद्यार्थी नै नगण्य भएको कुनै समयमा विद्यालय बन्द गर्ने वा मर्ज गर्ने तथा संग्रहालय बनाउने कुरासमेत भएको विद्यालयका प्रधानाध्यापक अधिकारी सम्झन्छन् । ‘विद्यालयमा ६०/७० मात्र विद्यार्थी थिए, विद्यार्थी खोज्न घरदैलो गर्दै आर्बादेखि काँहुखोला, काँहुडाँडासम्म पुगेका थियौं,’ उनले भने, ‘एउटा विद्यार्थी बढ्दा पनि खुसीयाली छाएको थियो, हौसला मिलेको थियो, यसलाई हामीले ठूलो सफलता मानेका थियौं ।’


विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकबीचको सहकार्य, मेहनत र लगनशीलताले विद्यालयले शैक्षिक गुणस्तर उकास्न सफल भएको प्रध्यानाध्यापक अधिकारीको भनाइ छ । अंग्रेजी माध्यम, शिक्षण र शैक्षिक पद्धतिमा सुधार, प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनपयोगी पठनपाठन, रचनात्मक वातावरणले विद्यालय उदाहरणीय बन्न सफल भएको उनले सुनाए ।

पहिला यो विद्यालयको नाम लिँदा नाक खुम्चाउने अभिभावकको समेत अहिले पहिलो रोजाइ बनेको प्रअ अधिकारी बताउँछन् ।उनी भन्छन्, ‘निजी विद्यालयले भर्ना नलिएका, पढ्न नमान्ने, पढ्न कमजोर विद्यार्थीले मात्र पढ्ने परिचय बनाएको विद्यालय अहिले देशकै नमुना विद्यालय घोषणा छ ।’ स्थानीय सरकार र महानगरपालिका अनुदार हुँदा विद्यागलय थप सफलताबाट बञ्चित रहेको उनको गुनासो छ । भौतिक संरचना थप्नुपर्ने, अपांगमैत्री कक्षाकोठा शौचालय हुनुपर्ने, स्थायी दरबन्दी थप्नुपर्ने खाँचो उनी औंल्याउँछन् ।

शीतलादेवी मावि जिल्ला, क्षेत्रीय र राष्ट्रिय पुरस्कार र सम्मान पाउन सफल छ


‘विद्यार्थीको मनोविज्ञानलाई बुझेर अध्यापन गर्छौं साथै उदाहरणीय विरासत र अनवरत अब्बल नतिजाकै कारण यस विद्यालयले विद्यार्थी एवं अभिभावकको विश्वास जित्दै आएको छ,’ उनले भने, सेवा सुविधा र गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढिरहेको छ, हामी नगरपालिका, जिल्ला र राष्ट्रमै अब्बल विद्यालयको छवि निर्माण गर्न सफल भएका छौँ ।’


विसं २०२१ सालमा स्थापना भएको विद्यालयले २०६१ देखि अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको सुरुआत गर्‍यो । २०६७ मा पहिलोपटक एसएलसी परीक्षामा सहभागी भई शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।


समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका सिप, तालिम, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थी अब्बल रहेको प्रधानाध्यापक अधिकारी बताउँछन् । महानगरले हरेक वर्ष ३ देखि ५ लाखसम्म स्मार्ट प्रविधिका लागि सहयोग गरेको उनले बताए । स्मार्ट प्रविधिबाट अध्यापन गराउँदा विद्यार्थीको क्षमता विकास कम हुने, सिर्जनात्मक कला हट्ने, ज्ञानको भाव तथा गहिराइ नबुझ्ने तथा रेडिमेड क्लासले शिक्षकमा संवेदनाशीलता कम हुने उनको धारणा छ ।


भौतिक संरचना अभावले विद्यार्थीको चाप बढेपछि प्रवेश परिक्षा लिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम कार्कीले सुनाए । भौतिक र शैक्षिक क्षमताका आधारमा भर्ना गर्नुपर्ने भएकाले आवेदन आएका सबैलाई भर्ना गर्न नसक्दा, बाध्यताले विद्यार्थी फिर्ता पठाउनुपरेको उनी बताउँछन् । विद्यालयमा १ हजरा २ सय ८८ विद्यार्थी छन् । ७४ जना शिक्षक, कर्मचारी छन् ।


‘विद्यालयले अभिभावक विद्यार्थीको विश्वास जितिसकेको छ, विद्यालयमा भर्ना हुन निजी स्कुलका विद्यार्थीसमेत आउँछन्, साथै अध्ययनलाई थप व्यवहारिक र परिणाममुखी बनाउन विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावक लागिपर्दै आएका छन्,’ कार्कीले भने, ‘विद्यालयमा शैक्षिक योजना तर्जुमा समिति गठन गरिएको छ । जसले शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा मात्र ध्यान राखेको हुन्छ । कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने कुरा नै समितिको मुख्य ऐजेन्डा हो ।’


अभिभावक संघ अध्यक्ष नरेन्द्रप्रसाद आचार्यले विद्यार्थी सफल बन्न विद्यार्थी, शिक्षकको मात्र नभई अभिभावकको पनि जिम्मेवारी रहने तर्क गरे । विद्यालय र विद्यार्थीका गतिविधि नियमित निरीक्षण गर्नुपर्ने, विद्यार्थीलाई पढ्ने वातावरण मिलाइ दिने, परामर्श दिने तथा उनीहरुको रुचिलाई प्रोत्साहन दिने गरेमा सबै विद्यार्थी सफल हुने आचार्यको भनाइ छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया