२९ विद्यार्थीलाई छात्रवृत्ति

समाधान संवाददाता २०८० असार ३१ गते १२:४०

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन तरकारी तथा फलफूल इकाइले संगठनमा आवद्ध मजदूरका छोराछोरीलाई छात्रवृत्तिसहित सम्मान गरेको छ ।


इकाइको २४ औं स्थापना दिवसको अवसरमा शनिबार २९ विद्यार्थीलाई प्रशंसापत्र, नगद र स्टेसनरी प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा मुखको क्यान्सर भई उपचाररत संगठनका सदस्य मनबहादुर दर्जीकी श्रीमती सन्तुको उपचारका लागि इकाइ तथा सदस्यबाट संकलित ४८ हजार ९ सय ३० नगद प्रदान गरिएको छ ।


मोटरसाइकल दुर्घटनामा निधन भएका मेघबहादुर न्यौपानी तथा शान्ति न्यौपानेको आश्रित परिवारलाई २० हजार नगद दिइएको इकाइ अध्यक्ष भेषराज अधिकारीले बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष जितेन्द्र श्रेष्ठले लगानी र श्रम एक अर्काका परिपूरक भएको बताए । उनले व्यवसायी र श्रमिकबीच राम्रो सहकार्य भएर श्रममैत्री वातावरण बन्ने उल्लेख गरे ।

Advertisement


‘कार्यरत प्रतिष्ठानमा श्रमिकले गरेको योगदान आश्रित परिवारको रेखदेखको अलवा राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ,’ उनले भने, ‘श्रमको सम्मान तथा श्रममैत्री वातावरण भए देश छिटो विकसित हुन्छ ।’ उनले २०८० वैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रका मजदूरलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजना सूचिकृत गरिने घोषणा गरिएको बताए ।


छिमेकी स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरलाई योजनामा समेटेको उल्लेख गर्दै उनले पोखरा महानगरपालिकालाई समेत योजनामा समेट्न दबाब दिन निर्देशन दिए । उनले संगठनले पहलकदमी गरे जिफन्टको साथ समर्थन रहने उल्लेख गरे ।

Advertisement


संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका इन्चार्ज विष्णुबहादुर पराजुलीले देश भरीमा ११ लाख यातायात मजदूर भएको दाबी गरे । उनले संगठनले सदस्यको हकहितका अलवा सामाजिक काम गरेको बताए । जिफन्ट सहकारी प्रवद्र्धन बोर्डका सदस्य ईश्वरप्रसाद आचार्यले ११ लाख यातायात मजदूर मध्ये ८५ प्रतिशतलाई संगठनमा समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरे । उनले हालको लागि ५० प्रतिशतलाई संगठित गर्न आग्रह गरे ।


संगठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले संगठनले गण्डकी भरीका ढुवानी क्षेत्रमा काम गर्ने मजदूरलाई संगठित गर्ने बताए । ‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा राष्ट्रिय फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष कृष्ण हमाल, संगठन पोखरा बस महानगर कमिटी अध्यक्ष विनोद पौडेल, संगठन प्रदेश कमिटी सदस्य मुक्तबहादुर राई, इकाइ अध्यक्ष भेषराज अधिकारी, पूर्व अध्यक्ष टीकाराम अधिकारी, इकाइ उपाध्यक्ष रवीन्द्र बाग्दास, सचिव विशाल तामाङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया