टर्मिनल भवन बनेपछि व्यवस्थित बन्यो बसपार्क

राकेश शर्मा २०८० साउन ४ गते १३:०५

म्याग्दी ।
म्याग्दीको सदरमुकाम बेनी बजार स्थित कालीपुल बसपार्कमा टर्मिनल भवन सञ्चालनमा आएपछि बसपार्क व्यवस्थित भएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि टर्मिनल भवन बनेको हो ।


यो भवन सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको हो । निर्माण सम्पन्न भएपछि भवन नगरपालिकालाई हस्तान्तरण गरेसँगै औपचारिक रुपमा बेनी नगरपालिका प्रमुख सुरत केसीले भवन उद्घाटन गरेका हुन् ।


मेयर केसीले एकै ठाउँबाट यात्रुले टिकट काट्न पाउँदा झन्झट नहुने र सुविधा पाउने बताए । उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्वारसमेत रहेकाले यो क्षेत्र स्वच्छ र सफा हुँदा यस क्षेत्रमा आउने पर्यटकमा सकरात्मक सन्देश जाने उल्लेख गरे ।

Advertisement

भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउन्टर राखिएको छ


टर्मिनल भवन बनाउन २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच २ करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । नवनिर्मित टर्मिनल भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउन्टर राखिएको छ । २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

Advertisement


बसपार्कमा निर्माण भएको १ तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । अपांगमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । बसपार्क चिटिक्क परेसँगै धुलो, हिलो र अव्यवस्थित पार्किङको समस्या समाधान हुने भएको छ । २०७४ मा नगरपालिकाले २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो ।


गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्ने लगायतका पूर्वाधार निर्माण भइरहेका छन् । नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।


बसपार्क सफा र व्यवस्थित बनाउन ७ कर्मचारी नियुक्त गरिएको छ । व्यवसायीबाट न्यूनतम सरसफलाइ र पार्किङ शुल्क लिने तयारी छ । उनका अनुसार टर्मिनल भवनको आम्दानी नगरपालिकामा जाने र बसपार्क व्यवस्थापनका लागि सहयोगबाट जुटाउने रकमको खर्च सम्बन्धमा आर्थिक कार्यविधि बनाएर नगरपालिकामा पेश गरिएको छ । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन गरिने भएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निजी क्षेत्रले सञ्चालन गरेको यातायात व्यवसायलाई प्रतिस्पर्धाभन्दा पनि सेवा, सुविधा सुधारमा ध्यान दिन आग्रह गरे । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दी अध्यक्ष प्रकाश पौडेलले बसपार्क क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सरसफाइमा विशेष ध्यान दिन समिति र यातायात व्यवसायीलाई आग्रह गरे ।


यातायात व्यवसायीको तर्फबाट लालबहादुर थापाले टर्मिनल भवनबाहेक अन्य क्षेत्रबाट टिकट काउन्टर सञ्चालन गर्न नदिन व्यवस्थापन समितिले ध्यान दिनुपर्ने सुझाए । समारोहमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलुबहादुर कटुवालले महोत्सवबाट भएको आम्दानीमध्ये ३५ हजार रुपैयाँ बसपार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया