६ लाखकाे २१ लाख तिर्दा पनि निखनिएन ऋण

चेक बाउन्स मुद्दामा जेल परिन्

रिखिराम जिसी २०८० साउन ९ गते १०:४२

पोखरा ।
पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीले २०७४ जेठ ८ गते स्याङ्जा गल्याङ नगरपालिका ७ घर भएका कमल थापासँग ६ लाख ऋण लिइन् । आर्थिक लेनदेन तथा घर खर्चका लागि भनेर ६ लाख रुपैयाँ ऋण लिएकी दर्जीले २ वर्षमा पटकपटक गरी २१ लाख १० हजार बुझाइसकिन् । तर, साँवाब्याज कट्टी हुनुको सट्टा उनको बढ्दै गयो । सीताको नाममा १७ लाख रुपैयाँको तमसुक बन्यो ।


२१ लाख १० हजार बुझाइसकेकी सीता दर्जीले तमसुक रद्द गर्न नभनेकी पनि होइनन् । तर, ती ऋण दिएका थापाले तमसुक च्यात्न नपर्ने बताए । त्यतिबेलासम्म थापाले विभिन्न जालझेल गरी १७ लाख रुपैयाँको तमसुक बनाइसकेका थिए । त्यतिमात्र होइन, थापाले दर्जीको एनआइसी एसिया बैंक र एसबिआई बैंकका २/२ वटा चेक फकाइफुलाई तथा विभिन्न बाहना बनाई लगिसकेका थिए । जुन चेक उनले सीताका विरुद्ध प्रयोग गरे ।


‘६ लाख ऋण लिएपछि हामीले २ वर्ष २१ लाखभन्दा बढी उहाँलाई बुझाइसक्यौं । तर, उहाँले पटकपटक हाम्रो घरमा आएर अनावश्यक टर्चर गर्ने, गाली गर्ने, धम्की दिने, बेइज्जत गर्ने गर्नुहुन्थ्यो,’ सीता दर्जीकी छोरी दिप्सा दर्जी भन्छिन्, ‘सावाँको करिब ४ गुणा तिर्दा पनि ऋण चुक्ता भएन ।’

Advertisement

साक्षी राखेर पैसा बुझाउँदा पनि मुक्ति पाइनन्, न्यायका लागि दलित संघर्ष समितिको माग


६ लाख ऋण दिएका थापाले चेकमार्फत ४ लाख ९० लाख, नगद १० हजार, दिनेश दर्जीको एटिएम कार्डबाट ३ लाख ८०, विपाशा दर्जीको हातबाट १ लाख ३० हजार, विमला नेपालीको साक्षीसहित सीता दर्जीबाट पिनाकल एकेडेमीभित्र २ लाख, गीता सापकोटा साक्षी राखेर सीता दर्जीबाट १ लाख, दिनेश दर्जी साक्षी राखेर सीता दर्जीबाट ८ लाख गरी जम्मा २१ लाख १० हजार बुझिसकेका छन् । सीता दर्जीकी छोरी दिप्सा दर्जी भन्छिन्, ‘यो त प्रमाण भएको मात्रै हो । अझ खुद्रा रकम त धेरै पटक बुझायौं । पैसा बुझाइसकेपछि सीताले चेक माग्दा थापाले चेक हराएको बताएको उनी सुनाउँछिन् ।

Advertisement


थापाले २१ लाख १० हजार रुपैयाँ लिएको स्वीकार नगरी सीता दर्जीविरुद्ध १७ लाखको चेक बाउन्सको मुद्दा दायर गरे । थापाले २०७७ पुस २१ गते जिल्ला अदालत कास्कीमा सीता दर्जीविरुद्ध १७ लाख चेक बाउन्सको मुद्दा दर्ता गराएका थिए ।


जिल्ला अदालत कास्कीले सीता दर्जीलाई २०७८ असोज १३ गते चेक अनादरमा दोषी ठहर गरेको थियो । उनलाई चेकमा उल्लेखित रकम र सो भरिभराउ हुँदासम्मको ब्याज भराउन जिल्ला अदालतले आदेश दियो ।

आदेशपछि थापाले अदालतमा उपस्थित हुन नपर्ने बताए । तर, पछि बारम्बार टर्चर दिन थालेपछि सीताले उच्च अदालत पोखरामा पुनरावेदन गरिन् । त्यतिबेलासम्म उनले पुनरावेदन गर्ने पाउने समय सकिसकेको थियो । त्यसकारण अदालतको अवहेलना गरेको भन्दै गत असार २९ गते सीता दर्जीलाई पक्राउ गर्‍यो । उनी अहिले जिल्ला कारागार कास्कीमा जेल जीवन कटाइराखेकी छन् ।


चेक बाउन्सको मुद्दामा जेल पुगेपछि छोरी दीप्सा अहिले आमाको न्यायमा भौतारिरहेकी छन् । उनले आमालाई फसाइएको भन्दै संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिइकी छन् ।


संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सीतालाई फसाइकाले थापालाई पक्राउ गर्नुपर्ने माग गरेको छ । सीताले पटकपटक गरी २१ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेकाले सीता निर्दोष रहेको संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


दुवै पक्षलाई छलफलमा राख्दा सीता पक्ष जवाफदेही र प्रमाण साक्षी ल्याउन तयार भएको र आरोपित कमल थापा छलफलमा समयमा नआउने, छलफल टार्ने, प्रमाण साक्षी दिन नयार नहुने, एकजनाले गरेको आर्थिक कारोबारमा ३ वटा फरकफरक तमसुक बनाउने, जिल्ला प्रशासन कार्यालयबाट पटकपटक छलफलमा बोलाउँदा पनि छोरा बिरामी, छलफलमा बस्न नखोजेको संघर्ष समितिका संयोजक दामबहादुर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया