पर्वतमा पहिराले ६ घर विस्थापित

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन १० गते १६:००

पर्वत ।
पर्वतको जलजला गाउँपालिका ५ कुवापानीको पहाडबाट खसेको पहिराले ५ बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएका छन् ।


पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका १ सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए ।


स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए । ‘पहिराको कमेरे माटो बस्तीमाथिको जंगलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ,’ उनी भन्छन्, ‘आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ ।’

Advertisement


पहिराले जलजला २ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको जनाए ।


‘यसअघि जंगल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षात्पछि पूर्णगाउँको तालसम्म पुगेको छ’, कार्की भन्छन्, ‘बराहताल परिसरमा रहेका २ मन्दिर पनि जोखिममा परेका छन् । पौवाभित्र बाढी पसेको छ ।’

Advertisement


स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।


पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए । ‘चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्’, उनले भने, ‘पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ ।’


मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको छ । विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो । यसअघि पनि उक्त स्थानका ५घरपरिवार विस्थापित भएका थिए । पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्नु परेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया