फिर्केखोला नापजाँच आधा सकियो: फिर्केमाथि घरैघर

रिखिराम जिसी २०८० साउन ११ गते १०:५६

पोखरा ।
फिर्केखोला पोखराको बजार हुँदै फेवाताल पुगेर टुंगिन्छ । यही खोलाले बीच बाटोमा सजिलै बग्न पाएको छैन । फिर्केखोला चौतर्फी अतिक्रमणको चपेटामा छ । केही दशकअघिसम्म पानी पिउन योग्य हुने उक्त खोलाको पानी अहिले अचाक्ली दूषित छ । खोला कतै फराकिलो छ, कतै खोल्सोजस्तो देखिन्छ । कतै खोलामाथि घरहरु नै ठडिएका छन् । खोला कतै ४ मिटरमा खुम्चिएको छ त कहीँ ४० मिरटसम्म फुक्न पाएको छ । केही सरकारी तथा व्यक्तिगत संरचना, भवनको ढल सेफ्टी ट्यांकीको ढल मिसिँदा फिर्केखोला दुर्गन्धित बनेको छ ।


प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्केखोला संरक्षण गर्र्न भन्दै महानगर खोला सीमांकन गर्न टोेली गठन गरेर अगाडि बढेको छ । बासुदेव पौडेल नेतृत्वको सर्भेक्षण टोलीले साउन ३ गतेबाट खोलाको सीमांकन गरिरहेको छ । हालसम्म सीमांकनको काम आधाजति सकिएको सर्भेक्षण टोलीका संयोजक पौडेलले बताए । फिर्के फेवातालमा मिसिएको स्थानदेखि सुरु भएको सीमांकन सशस्त्र प्रहरी गण मालेपाटनसम्म सकिएको उनले जानकारी दिए ।

सर्भेक्षण टोलीले खोलाको क्षेत्राधिकारभित्र पर्ने जमिनमा चिनो लगाइरहेको छ

Advertisement


खोला सीमांकनका लागि महानगरले सुरुमा ४ टोली बनाएर काम सुरु गरेपनि अहिले फिर्के वारिपारि आधाआधा जनशक्तिले नापजाँच गरिरहेको सर्भेक्षण प्रमुख पौडेलले बताए । ‘अहिले जग्गाधनीका नक्सा र खोला किनार हेरेर पोल गाडेका छौं । खोला कतै ३/४ मिटरमात्र चौडा देखिन्छ भने कतैकतै ३०–४० मिटर फराकिलो पनि छ,’ उनले भने ।


सर्भेक्षण टोलीले खोलाको क्षेत्र छुट्याउँदै किला गाडेको छ । सर्भेक्षण टोलीले किला गाडेअनुसार सिर्जनाचोक र जिरोकिलोमिटरको बीचमा बनेको केही संरचना खोलाको क्षेत्राधिकार भित्र पर्छन् । त्यहाँ केही सार्वजनिक भवन तथा व्यक्ति संरचनाहरु खोलामाथि नै निर्माण भएका छन् । किला गाडिएको क्षेत्र अर्थात किलाबिचको क्षेत्र खोलाको क्षेत्र रहेको सर्भेक्षण प्रमुख पौडेलले उल्लेख गरे । खोलाको क्षेत्रभित्र कतै घरैघर त कतै पर्खाल भेटिएको उनले सुनाए । ‘खोलाको क्षेत्रभित्र केही संरचना नै ठडिएका पनि देखिए, कतै पिलर ठडाएका पनि देखिए, हामीले सम्भव भएसम्म किला, नत्र चिन्ह लगाएर खोलाको क्षेत्र छुट्याएका छौं,’ उनले भने ।

Advertisement


नापजाँचका क्रममा स्थानीयले बारम्बार नगरपालिकाले नापजाँच गर्ने गरेको तर काम नगरेको भन्दै आक्रोश पोखेको सर्भेक्षण प्रमुख पौडेलले बताए । सर्भेक्षण टोलीले बिहान ७ बजेदेखि बेलुकासम्म ४० जनाले सीमांकन गरिरहेका छन् । खोलाको बाँकी तुलनात्मक रुपमा खुला भएकाले केही दिनमै सीमांकन गरेर सकिने पौडेलले सुनाए ।


सर्भेक्षण टोलीले खोलाको सीमांकन गरी प्रतिवेदन महानगरमा पेस गर्नेछ । अहिले फिर्केखोलाको मापदण्ड १० मिटर छ । मापदण्डमा पुनर्विचार गरी लागु गर्ने महानगरको तयारी छ । जुनसुकै हालतमा फिर्केको सीमांकनसहित यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पूरा हुने महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘अहिले घर र खोला छुट्याउँदै छौँ । साइट क्लियर भएपछि दायाँबायाँ साइकल लेन, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ,’ उनले भने ।


महानगरले अहिले फिर्के सीमांकनसहितका कामका लागि सवा करोड बजेट विनियोजन गरेको छ । मेयर आचार्यले साइट क्लियर भए रकमान्तर गरेरै भए पनि बजेट थप्ने र कुनै पनि हालतमा फिर्के परियोजनाका लागि बजेट अभाव हुन नदिने दाबी गरे ।


निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित फिर्के रेखांकन समितिले खोला मिचेर १ सय ९२ संरचना बनेको देखाएको थियो । त्यसअघि पनि खोलाको पटक–पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया