त्रिभुवन विश्वविद्यालयका प्रश्नपत्र अब नेपालीमा पनि

समाधान संवाददाता २०८० साउन २१ गते १२:५६

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले सुनाए ।


‘स्नातकमा आगामी शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ’, उपकुलपति डा बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भने, ‘अन्तर्राष्ट्रिय मान्यता अनुसार अंग्रेजी भाषामा प्रश्न बनाउनैपर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन ।’


मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् । हाल ३ लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको यो विश्वविद्यालयमा १ हजार १ सय २४ सम्बन्धनप्राप्त र ६२ आंगिक क्याम्पस छन् ।

Advertisement

तपाईको प्रतिक्रिया