ट्रेड मलको वक्तृत्व प्रतियोगितामा रक्षा पहिलो

समाधान संवाददाता २०८० साउन २५ गते १३:५३

पोखरा ।
पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बाल मन्दिर माविकी छात्रा रक्षा शर्मा प्रथम भएकी छन् । प्रतियोगितामा ओख्लेडाँडा माविका शरद् बराल द्वितीय, गौरीशंकर माविकी सोनिक्षा खत्री तृतीय र त्रिभुवन शान्ति माविकी अश्मि लामिछाने सान्त्वना बने ।


‘पोखराः पर्यटन र सम्भावना’ विषयक प्रतियोगितामा पुरस्कृतले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँका साथमा प्रमाणपत्र पाएको प्रतियोगिता संयोजक सन्तोषकुमार घिमिरेले बताए । ट्रेड मलले ११ औं स्थापना दिवसको अवसरमा बुधबार महानगरभित्रका सामुदायिक विद्यालयका कक्षा ९ का विद्यार्थीबीच प्रतियोगिता गरेको हो ।


प्रतियोगितामा ३० विद्यालयका ३० विद्यार्थी सहभागी थिए । नेपाली भाषा शिक्षक परिषद् कास्की महासचिव शिवहरि सुवेदीको संयोजकत्वमा परिषद्की कोषाध्यक्ष इन्दिरा सुवेदी सापकोटा र सुनील सापकोटा सदस्य रहेको निर्णायक मण्डलले मूल्यांकन गरेको थियो ।

Advertisement


प्रतियोगिताअघि भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले यसरी एकै ठाउँमा एकीकृत भएर व्यवसाय गर्ने संस्कार र उपभोक्ताको सपिङ गर्ने बानीमा ट्रेड मलले सकारात्मक सुरुआत गरेको बताए । थापा पोखरा ट्रेड मलका संस्थापक अध्यक्षसमेत हुन् ।


सिनेप्लेक्सका म्यानेजर राजन पुरीले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सिनेप्लेक्सका १÷१ टिकट उपहार दिए । चिप्लेढुंगास्थित पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि सामूहिक लगानीमा निर्मित व्यावसायिक भवन हो । मलले पहिरनका सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायत वस्तुहरु खरिद गर्न बजारका विभिन्न स्थानमा भौतारिनुपर्ने अवस्था अन्त्य गरेको पोखरा ट्रेड मल प्रालिका अध्यक्ष मीनराज काफ्लेले बताए ।

Advertisement


मलमा २ मल्टिप्लेक्स चलचित्र घर छन् । खानाका पारखीका लागि रेस्टुरेन्ट, स्तरीय लेडिज तथा जेन्स सैलुन, पार्लर छन् । मलमा शैक्षिक परामर्शका लागि ख्याति प्राप्त ६ कन्सल्टेन्सी छन् । पर्याप्त पार्किङ रहेको मल भूकम्प प्रतिरोधात्मक छ । कार्यक्रममा प्रबन्ध निर्देशक दीपककुमार मुल्मी र व्यवसायी नवराज त्रिपाठीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया