छोरेपाटन माध्यमिक विद्यालय

अब्बल व्यवस्थापनको जगमा नमुना स्कुल

प्रमिला कुँवर २०८० साउन २८ गते १०:२९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढेको छ । अंग्रेजी माध्यममा पठनपाठन, अब्बल शैक्षिक गुणस्तरमा, भौतिक पूर्वाधार र व्यवस्थापनमा भएको सुधारले विद्यार्थी आकर्षित भएका हुन् ।


सस्तो शुल्कमा उत्कृष्ट शिक्षा उपलब्ध हुने हुँदा विद्यार्थी र अभिभावकको रोजाई बन्न सकेको प्रध्यानाध्यापक डिल्लीराम शर्मा बताउँछन् । निजी विद्यालयसरह पठनपाठन र शैक्षिक गुणस्तर भएकाले विद्यार्थी भर्ना गर्न अभिभावकको तछाँडमछाड भएको उनले सुनाए ।


स्कुलमा अहिले करिब २ हजार ३ सय विद्यार्थी छन् । हरेक वर्ष जिल्लामै सबैभन्दा बढी विद्यार्थी छोरेपाटनबाटै एसइई परिक्षामा सहभागी हुने गरेको प्रधानाध्यापक शर्माले उल्लेख गरे । गत वर्षको एसइई परीक्षामा २ सय जना सहभागी भएका थिए ।

Advertisement


खेल मैदान, भौतिक संरचनाको अभाव लगायतका कारणले आएका सबै विद्यार्थी भर्ना गर्न नसकिएको शर्माको भनाइ छ । ‘विद्यालयको क्षमता अनुसार विद्यार्थी भर्ना गर्नुपर्‍यो, विद्यार्थीको चाप बढेपछि प्रवेश परीक्षा लिएर पास भएका विद्यार्थीमात्र भर्ना गरिन्छ, अरुलाई फिर्ता पठाउँदा नमज्जा लाग्छ,’ उनले भने, ‘माग अनुसारको भर्ना लिने हो भने ५ हजार पनि पुग्छ तर सीमित स्रोत, साधनले खुम्चिन बाध्य छौं ।’

सुरुवातमा १५० विद्यार्थी रहेकाेमा हाल २३ सय छन्

Advertisement


धेरै ठाउँमा सामुदायिक विद्यालय विद्यार्थी अभावले बन्द भएका छन् तर यहाँ हरेक वर्ष कक्षा ६ र ९ मा सेक्सन थप्नुपरेको छ । पढाइ प्रभावकारी बनाउन सबै कक्षाकोठमा स्मार्ट बोर्ड, इन्टरनेट जडान, शिक्षकलाई उत्प्रेरणा जगाउने, कमजोर विद्यार्थीलाई छुट्टै कक्षा व्यवस्थापन गरी सुधार गराउने, अभिभावक भेला गर्ने, राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने योजनाका साथ विद्यालय अघि बढिरहेको उनले सुनाए ।


विद्यार्थीका शैक्षिक गतिविधिका साथै अरु क्रियाकलाप नियमित निगरानी गर्ने गरिएको छ । पढाइमा मात्र नभएर विद्यार्थीको रुचिका विषयमा उत्प्रेरणा, हौसला, सहयोग दिने गरिएको छ । सामुदायिक विद्यालय पनि उत्कृष्ट भनिएका बोेर्डिङ स्कुलसँग खरो प्रतिस्पर्धामा उत्रन सक्छन् भन्ने छोरेपाटनले पहिचान बनाइसकेको छ ।


विद्यार्थीहरु बिदाको अवधिमा पनि विद्यालयमा आएर खेलकुद, नाचगान अभ्यास गरिहन्छन् । बिदाको समयमा पुस्तकाल आएर पढ्ने संस्कार भने विकास भइनसकेको उनको भनाइ छ । विद्यार्थी तथा विद्यालयको संरक्षणका लागि विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।


‘कक्षाकोठामा सिसी क्यामेरा जडान गरिएको छैन । जडान गर्नु मलाई यो ठीक हो जस्तो लाग्दैन, विद्यार्थी निर्धक्क क्रियाकलाप गर्न सक्दैनन् । कन्ट्रोल गर्न सजिलो भए पनि उनीहरुको गोपनियता हनन हुन्छ,’ शर्मा भन्छन् । छोरेपाटन उत्कृष्ट नतिजा ल्याएर नमुना विद्यालय घोषणा भइसकेको छ । विद्यार्थीलाई पढ्नका लागि पर्याप्त पाठ्यसामग्री छन्, पुस्तकालय, इलाइब्रेरी, कम्प्युटर ल्याब र साइन्स ल्याबको व्यवस्था छ ।


विद्यालयले छिट्टै र सहजै यो सफलता प्राप्त नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रिनाथ पहारीको भनाइ छ । २०२१ मा अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले शिक्षाको अवसरबाट बञ्चित भएका तिब्बती शरणार्थीका लागि भनेर यो स्कुल स्थापना गरेको थियो । धेरैपछि मात्र सरकार मातहतमा आएर यसले नेपालीका बालबालिकालाई पढाउन थालेको पहारीले बताए ।


सुरुवाती चरणमा १ सय ५० जति विद्यार्थी थिए । उनी भन्छन्, ‘धेरै संघर्ष र मेहनतले आज यहाँसम्म आएका हौं ।’ शैक्षिक विकासमा योगदान पुर्‍याउनका साथै राष्ट्रिय स्तरमा चिनिने नमूना स्कुल बनाउन सफल भएको उनी बताउँछन् ।


विद्यालयमा ९२शिक्षक कार्यरत छन् भने स्थायी दरबन्दीका ३० मात्र हुन् । विद्यार्थीको शुल्कमात्र नभएर विद्यालयमा अन्य आयस्रोतको बाटो भएकाले पारश्रमिकको राम्रो व्यवस्थापन भएको उनले बताए । विद्यालय व्यवस्थापन, शिक्षक कर्मचारीलाई पारिश्रमिक, विद्यार्थीलाई पुरस्कार एवमं विद्यालयका अन्य खर्च गर्न पाताले छाँगोबाट हुने आम्दानीले ठूलो भरथेग गरेको उनले जानकारी दिए ।


‘विद्यालय र डेभिज फल्स परिपुरक हुन्, यसको संरक्षण र व्यवस्थापन विद्यालयले हेर्दै आएको छ । शैक्षिक विकासका लागि यसको सम्बर्धन र संरक्षणमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘पाताले छाँगोबाट हुने आम्दानीको ४० प्रतिशत यसकै व्यवस्थापनमा खर्च हुन्छ भने ६० प्रतिशत विद्यालयको व्यवस्थापनमा प्रयोग हुन्छ ।’


विद्यालयका सटर पनि भाडामा दिइएको छ । आम्दानीका अन्य स्रोत भएकाले कम्प्युटर मर्मत खर्चबाहेक अन्य शुल्क विद्यार्थीसँग नलिइएको उनले जनाए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया