बेलायतमा अर्को साता नेपाली मेला

समाधान संवाददाता २०८० भदौ ६ गते १४:५३

पोखरा ।
तमु धिं युकेको आयोजनामा बेलायतमा १४ औं नेपाली मेला हुँदै छ । आगामी आइतबार (२७ अगस्त) मा केम्प्टन पार्कमा हुने मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।


मेला संयोजक परशु गुरुङले नेपाली भाषा, भेषभूषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवन्त राख्ने उद्देश्यले नियमित रुपमा हुने नेपाली मेलालाई यसपालि पनि निरन्तरता दिइएको बताए ।


मेलाले नेपाली समुदाय, संघ, संस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । मेलामा विभिन्न झाँकी प्रदर्शन गरिनेछ । झाँकीमा नगद पुरस्कारको व्यवस्थासमेत रहेको तमु धिं युके अध्यक्ष हरि गुरुङले बताए ।

Advertisement


युवालाई प्रस्तुतिका लागि समेत समय व्यवस्थापन गरिएको छ । ३२ संघ, संस्था र समुदायको झाँकीको सहभागिता रहने मेलाको १० हजार जनाले अवलोकन गर्ने अनुमान छ । मेलामा रेस्टुरेन्ट, उद्यमी र व्यापारिक गरी ३७ स्टल दर्ता भइसकेका छन् ।


तमु धिं युकेले २००९ सालदेखि निरन्तर रुपमा यो मेला गर्दै आएको हो । मेला तयारीका लागि विभिन्न उपसमिति बनाइएको छ भने करिब ७० सदस्यीय समितिले काम गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया