स्वास्थ्य सहायकका भरमा अस्पताल

राष्ट्रिय समाचार समिति (रासस) २०८० भदौ १७ गते १४:३२

पर्वत ।
कुस्मा नगरपालिका १२ ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ । १ एमबिबीएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत ५ वर्षदेखि स्वास्थ्य सहायक (हेल्थ असिसटेन्ट)ले निमित्तका रूपमा चलाउँदै आएका छन् ।


दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन् । तत्कालीन डा विवेक भण्डारी २०७५ मा अध्ययन बिदामा गएपछि दरबन्दीका कुनै डाक्टर आउन सकेका छैनन् । सुविधासम्पन्न भौतिक पूर्वाधार, एम्बुलेन्ससहित आधुनिकयन्त्र उपकरण भए पनि दरबन्दी अनुसारका चिकित्सक र प्राविधिक नआएपछि सेवाग्राही मारमा परेका छन् । अस्पतालका निमित्त प्रमुख भीमकुमारी लामिछानेले भने, ‘दरबन्दीका डाक्टर नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो ।’


नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा तथा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । देश संघीय संरचनामा गएपछि दरबन्दीमा डाक्टर आउन छाडेका हुन् । स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उनको भनाइ छ । दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका एक्सरे र भिडियो एक्सरे मेसिनसमेत अलपत्र बनेका छन् ।

Advertisement


केही समय एमबिबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुई जना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो । अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका १ स्वास्थ्य सहायक, १ ल्याब असिस्टेन्ट, १ स्टाफ नर्स, १ अनमी र स्थायी १ अहेब छन् ।


कुस्मा ४ का साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । उनले प्रदेश सरकारसँग नगर अस्पतालको अनुमति दिन र आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गरे पनि सुनुवाइ नभएको जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग पुगेर मागपत्र बुझाएको र उनले केही समयमै डाक्टर पठाउने आश्वासन दिएको ५ महिना बितिसक्दा पनि माग पूरा नभएको अध्यक्ष रिमालले सुनाए ।

Advertisement


अस्पतालमा डाक्टर मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन् । एक्सरे मेसिन सञ्चालन नहुँदा बिग्रिएको २ वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले जनाइन् । ‘सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे मेसिन बिग्रिएको २ वर्ष भयो’, उनी भन्छिन्, ‘सम्बन्धित निकायमा पटक पटक भन्दासमेत सुनुवाइ हुँदैन ।’


अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरेसमेत सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या परेको छ । तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवतीले नियमित सेवा पाउन सकेका छैनन् । स्टाफ नर्सले तालिम लिएर आएको भए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको निमित्त प्रमुख लामिछानेले बताए । नगरपालिकाले सो अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन ।


जनप्रतिनिधिले प्रदेश तथा संघीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको दाबी गरेको भए पनि अहिलेसम्म कुनै पहल भएको पाइएको छैन । नगर प्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दी अनुसार डाक्टर ल्याउन आवश्यक पहल गरिरहेको दाबी गरे ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया