मुस्ताङ अस्पतालमा दक्ष चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित

सुन्दरकुमार थकाली २०८० भदौ २५ गते १५:५४

जोमसोम—मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक नहुँदा एक सातादेखि शल्यक्रिया सेवा प्रभावित बनेको छ । विगत ८ महिनादेखि कार्यरत नवौं तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको अन्यत्र सरुवा भएसंगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा प्रभावित बनेको हो ।


एमडिजिपी चिकित्सक डा. घले यसअघि मनाङ अस्पतालमा कार्यरत थिए । नेपाल सरकारको छात्रवृद्धि सुविधाबाट चिकित्सक बनेका घलेलाई दुई वर्षे दुर्गम सेवा प्रावधान अनुरुप मुस्ताङ अस्पतालको पहलमा झिकाईएको थियो । डा घले मुस्ताङ अस्पतालमा एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण कार्यरत थिए । उनी पनि छोटो समय बिताएर सरुवा भएका थिए । यी दुबै एमडिजिपी चिकित्सकहरुले आफ्नो कार्यकालमा प्रसुती शल्यक्रिया संगसंगै सामान्य अप्रेसन गर्नुपर्ने विरामीलाई सेवा पुर्‍याएका थिए ।


मुस्ताङ अस्पताल स्थापनाको ४८ वर्षपछि अप्रेशसन शल्यक्रिया सञ्चालनमा ल्याईएको थियो । सुरुवाती १५ शैयाबाट सुरु गरिएको मुस्ताङ अस्पताल २०३१ सालमा स्थापना भएको थियो । संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको अस्पताल २५ शैया अस्पतालको रुपमा बढोत्तरी भएको छ ।

Advertisement

मुस्ताङ अस्पतालमा सामान्य अप्रेसन तथा प्रसुती शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक एकुमेन्ट र तालिमहरु संञ्चालन गरेको थियो । यद्यपी शल्यक्रिया संञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक/पटक सेवा अवरुद्ध हुदै आईरहेको छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भएपनि चिकित्सक नहुँदा भिडियो एक्सरे सुविधाको सेवा पनि बन्द छ ।


भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक बस्न नचाहादा अस्पतालको शल्यक्रिया सेवा अवरुद्ध हुन पुगेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए । त्यसो त यसअघि मुस्ताङ अस्पतालमा कार्यरत एमडिपी चिकित्सक कुन्दन कर्णले बिदा लिएपछि ६ महिनासम्म मुस्ताङमा शल्यक्रिया सेवा ठप्पै भएको थियो ।

Advertisement

फेरी यसपटक पनि शल्यक्रिया सेवा कहिले संञ्चालन हुन्छ भन्ने एकिन नभएको अस्पतालका सूचना अधिकारी बस्नेतको भनाई छ । मुस्ताङमा अस्पतालमा शल्यक्रिया सेवा संञ्चालनमा आएको भएपनि जनशक्ति स्थिर राखन चुनौती रहेको सुचना अधिकारी बस्नेतले उल्लेख गरे ।


दुर्गम अस्पतालमा नवौं तहका चिकित्सकले पाउँने सेवा सुविधा र खर्चको समुचित व्यवस्थापन हुन नसक्नु शल्यक्रिया सेवा संञ्चालनको मुख्य चुनौती हो । पटक/पटक करार सेवामा आएका चिकित्सकले छोटो समयमै सरुवा भई जाने परिपाटीले अस्पतालको महत्वपूर्ण नियमित सेवा संञ्चालनमा कठिनाई परेको हो । शल्यक्रिया सेवा संञ्चालनमा आएको एक वर्षमा करिव आधा दर्जन महिलाहरुको प्रसुती शल्यक्रिया सफल भईसकेको छ ।


अस्पतालको शैया बढ्यो,जनशक्ति बढेन
संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको मुस्ताङ अस्पतालको शैया बढेपनि जनशक्ति व्यवस्थापनमा भने सरकारले ध्यान दिन सकेको छैन । मुस्ताङको स्तरवृद्धि र उपकरण व्यवस्थापनको समस्या समाधान हुँदै गएपनि पर्याप्त जनशक्ति नहुँदा अस्पतालको सेवा प्रवाह चुस्त बन्न नसकेको हो ।

सुरुवाती १५ शैयाको अस्पतालमा अहिले २५ शैयामा रुपान्तर भएको छ । तर, प्रदेश सरकारले मुस्ताङ अस्पतालको दरबन्दी भने अझै १५ शैयाको रुपमा कायम राखेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतको भनाई छ । उनका अनुसार २५ शैया अस्पतालका लागि करिव ७० जना भन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक पर्ने बताए ।‘अस्पतालको क्षमता बढाईयो, सेवा फराकिलो हुँदैछ,भवन पनि बन्दैछ,’उनले भने, तर,जनशक्ति क्षमता पनि बढाउनुपर्छ ,सीमित जनशक्तिले सेवा प्रवाह चुनौती भएको, सीमित कर्मचारीले लोड थेग्नै मुश्किल छ ।’


मुस्ताङ अस्पताल २५ शैयाको भएपनि हालसम्म पनि १५ शैयाकै जनशक्ति कायम छ । अस्पतालको स्थायी दरबन्दीमा एक जना नवौं तहका चिकित्सकसहित १८ जनाको दरबन्दी छ । जसमध्ये नवौं तहका चिकित्सक, एकजना अनमी र ६ जना कार्यालय सहयोगीको दरबन्दी पदपूर्ती भएको छैन । दरबन्दीमा रहेका कार्यालय सहयोगी पुरै करारमा भनाई गरिएको सूचना अधिकारी बस्नेतले जनाए ।

दरबन्दी वृद्धि नहुँनु र जनशक्ति व्यवस्थापन गर्न सरकारले चाँसो नदिदा मुस्ताङ अस्पतालको २४ सै घण्टा संञ्चालनमा रहने ल्याव,एक्सरे,भिडियो एक्सरे,ईमरजेन्सी कक्ष, ईन्डोर कक्ष र फार्मेसी सेवाहरु जनशक्ति अभाव छ । यी सबै सेवाहरु संञ्चालन गर्न करिव २० जना भन्दा बढी जनशक्ति चाहिने सूचना अधिकारी बस्नेतले बताए ।


मुस्ताङ अस्पताल स्थापनाको ५० वर्ष पुरा भएपनि दरबन्दीमा उल्लेख भएको नवौं तहका चिकित्सक हालसम्म उपलब्ध हुन नसकेको अस्पताल श्रोतको भनाइ छ । दक्ष जनशक्ति नहुँदा बर्सेनि दर्जनौ बिरामीहरु सुगमका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ । गतवर्ष मुस्ताङ अस्पतालको ओपिडी कक्षबाट ३४ जनाको रिफर गरिएको थियो । यसैगरी ईन्डोर र ईमजेन्सी कक्षबाट ९५ जना बिरामीको सुगमका अस्पतालमा रिफर भएको अस्पतालले जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया