विपन्नको निशुल्क स्वास्थ बिमा गर्दै पोखरा १३

समाधान संवाददाता २०८० असोज ३ गते ८:२१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडाभित्रका विपन्न परिवारको तथ्यांक माग गरेको छ । विपन्न परिवारलाई निशुल्क स्वास्थ बिमा गरिदिने उद्देश्यका साथ निवेदन माग गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार वडाभित्रले अति विपन्न तथा असहाय वडावासीलाई निशुल्क स्वाथ्य बिमा प्रोत्साहन कार्यक्रम गर्न लागेको छ ।


‘मैले वडाध्यक्षको उम्मेदवारी दिँदै गर्दा वडाभित्रका अति विपन्न मजदूर तथा असहाय वडावासीलाई निशुल्क स्वास्थ्य बिमा गर्छु भनेर प्रतिज्ञा गरेको थिएँ, सोही वाचा अनुसार अहिले वडाभित्र बिमा गर्न निवेदन माग गरिएको हो,’ वडाध्यक्ष बरालले भने । उनले महानगरभित्र आफ्नो वडाले नै निशुल्क स्वास्थ्य बिमा गर्न लागेको पहिलो भएको दाबी गरे ।


निशुल्क स्वास्थ्य बिमाको सेवा सुविधा लिन आफू विपन्न भएको प्रमाण पेस गर्नुपर्ने छ । यसका लागि निवेदन बुझाउने अन्तिम मिति असोज २० गते तोकिएको छ । निवेदनका साथमा परिवार सदस्यको विवरण, नेपाली नागरिकता, टोल विकास संस्थाको सिफारिस पत्र तथा माइन्युटको फोटो, वडाभित्रका बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपि माग गरिएको छ ।

Advertisement


‘जुन दिन पोखरा १३ को वडाध्यक्षको जिम्मेवारी सम्हालेँ । सीमित स्रोतलाई असीमित आवश्यकता पूरा गर्न वडाअध्यक्षको तर्फबाट मैले अधिकतम सेवा दिने प्रयत्नमा गरिरहेको छु । पहिलो चरणमा २ सय जनाको स्वास्थ्य बिमा गर्ने वडाको तयारी छ,’ वडाध्यक्ष बरालले भने ।


यसअघि पोखरा १३ ले महानगरभित्रै पहिलो पटक वडाभित्र निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो । वडाका सबै बिरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने गरी सेवा सुविधा लिइरहेको वडाध्यक्ष बरालले बताए ।

Advertisement


एम्बुलेन्स सञ्चालनका गर्दा वार्षिक ४ देखि ५ लाख खर्च हुने अनुमान गरिएको बरालले सुनाए । ‘एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा छु,’ उनलेभ भने, ‘सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधी र डाक्टरको अभाव तैपनि सकेजति सुधार गर्दैछौं । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा निशुल्क एम्बुलेन्समा पठाएका छौं ।’

तपाईको प्रतिक्रिया