मणिपाल शिक्षण अस्पतालमा बिरामी र चिकित्सक त्राहित्राहि

सञ्जय रानाभाट २०८० असोज १० गते ८:००
मणिपाल शिक्षण अस्पतालबाट बिरामी बाहिर निकाल्दै बिरामीका आफन्त ।

सञ्जय रानाभाट, पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा उपचारत एक महिलाको मृत्युको विषयमा सोमबार उत्पन्न तनावको असर मंगलबारसम्म रह्यो । बिरामीका आफन्तले चिकित्सकसँगै अस्पताल तोडफोड गरेपछि झडपै अवस्था अस्पतालमा भएको थियो । सोही तनावले मंगलबार पनि चिकित्सक र त्यहाँ उपचार गराइरहेका अरु बिरामी पनि त्राहित्राहि नै रहे ।

सोमबारको जस्तो तनावपूर्ण अवस्था मंगलबार नरहे पनि बिरामी उपचार पाउनबाट बञ्चित भए । अप्रेसन कुर्दै बसेकी बागलुङ काठेखोला गाउँपालिकाकी भद्रकली थापा मंगलबार डिस्चार्ज भइन् । चिकित्सकहरुले मंगलबार सेवा ठप्पप्राय पारेका थिए । सामान्य सेवामात्रै दिए । स्वास्थ्यमा खराबी आएपछि ७ दिन अघि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी ७० वर्षीय थापाको अर्को हप्ता डाक्टरले अप्रेसनको दिन तोकेका थिए । भद्रकालीका छोरा रुद्रबहादुर आमाको अस्पतालको तयारीमा जुटिरहेका थिए । तर, अस्पतालको तनावपूर्ण अवस्थाले मंगलबार थापा डिस्चार्ज भइन् ।


‘हिजोदेखि डाक्टरहरु हेर्न आउन छोड्नुभयो । अस्पतालको सेवा अवरुद्ध भयो । बिहान एकजना डाक्टरले डिस्चार्ज हुनुस् भन्नुभयो, ‘अस्पताल प्रांगणमा मंगलबार घर लैजाँदै गरेका उनका छोरा रुद्रबहादुर थापाले भने, ‘अस्पतालमा उपचार नहुने भएपछि आमालाई घर लैजान हिँडेको ।’ भद्रकाली मात्र होइन मंगलबार अस्पतालको ओपिडीसँगै अस्पतालमा भर्ना भएका बिरामीहरु डिस्चार्ज भएर घर जाँदै गरेको लर्को थियो ।

Advertisement

यो भिडमा बागलुङ बलेबाकी तिलकुमारी पौडेलले पनि थिइन् । ७० वर्षीय उनी खुट्टा सुनिएर ५ दिनअघि अस्पताल भर्ना भएकी थिइन् । उनको खुट्टा अझै निको भएको छैन । उनले भनिन्, ‘किन सुनियो, पत्ता पाइनँ । आएर जचाउँदा अझै रिपोर्ट आएको छैन । डाक्टरले केही दिन अझै रिपोर्ट नआउने भन्नुभएको थियो । तर, आज बिहान एक्कासि एकजना डाक्टले डिस्चार्ज हुनुस् भन्नुभयो । त्यही भएर घर जान लागेको ।’

चिकित्सकहरु काम गर्ने मनस्थिति र वातावरणमा भएनन्, अस्पतालबाट डिस्चार्ज भएर घर जाने बिरामीको लर्को लाग्यो

Advertisement


नन्दकला अधिकारी निको नभई घर फर्कनुपरेको बताउँदै थिइन् । पोखरा १६ बाटुलेचौरकी ६५ वर्षीया अधिकारीले डाक्टरले नै जाँच र उपचार नगरेकाले फर्कनुपरेको सुनाइन् । डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका सबै अस्पतालमा मंगलबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द छ । लगातार हेटौंडा, लमजुङपछिमा डाक्टरमाथि आक्रमण भएपछि चिकित्सक संघले आकस्मिक बाहेक सबै सेवा बन्द आह्वान गरेको छ ।


डाक्टरहरुले एकपछि अर्को घटनाले चिकित्सकहरुमाथि ठूलो असुरक्षा पैदा गरेका बताएका छन् । ५ सय बेडको मणिपाल अस्पतालमा दैनिक १ हजारदेखि १५ सय बिरामी पुग्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा १ हजार डाक्टर र कर्मचारी छन् ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको सोमबार उपचारका क्रममा निधन भएको थियो । श्वासप्रश्वास र ढाड दुख्ने बिरामी उनलाई लमजुङ अस्पतालले रिफर गरेको थियो । अस्पताल आइपुग्दासम्म बिपी लो भएको चिकित्सक बताउँछन् । तर, उनको उपचारको क्रमममा सोमबार दिउँसो १ बजेतिर निधन भयो । सोही विषयलाई उनका आफन्तले अप्रेसन गर्न थाहा नदिएको, बिरामीको अवस्था बारेमा जानकारी नदिइएको र एक्कासि ज्यान गएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


तोडफोड र हातपातमा संलग्न भएको आरोपमा पोखरा ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो । उनलाई थप ७ दिन थुनामै राखेर अनुसन्धान गर्न कास्की प्रहरीले कास्की अदालतबाट मंगलबार अनुमति पाएको छ । नियन्त्रणमा लिइएका डा दिनेश विकलाई प्रहरीले मंगलबार रिहा गरेको छ ।


डाक्टर भन्छन्– गुण्डालाई कारबाही नभई सेवा हुँदैन
अस्पतालमा तनाव भएपछि मणिपाल शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी अहिले पनि खुलेर बोल्न डराइरहेका छन् । समाधानसँगै मंगलबार कुरा गर्दै अस्पतालका निर्देशक डाक्टर अभिषेक मास्केले काम गर्ने मानोबल ह्वात्तै घटेको बताए । ‘बिरामीको स्वास्थ्य स्थिति कस्तो थियो भन्ने कुरा नबुझी आफन्तहरु आक्रोशित भए हातपात नै गरे । अस्पताल भवन तोडफोड गरे,’ डाक्टर मास्केले भने, ‘यस्तो घटनाले देशभरका डाक्टरहरुको मनोबल नै गिरेको छ । काम गर्न सक्ने र गराउन सक्ने अवस्थामा कोही पनि हुनुहुँदैन । डाक्टर कुट्नेलाई कानुनी दायरामा नल्याई अस्पतालको ओपिडी सेवा सुचारु हुँदैन ।’


डाक्टर मास्केले गुणगर्दी शैलीमा डाक्टर लगायत अस्पतालका कर्मचारीलाई बिरामीका आफन्तले मार्ने धक्की दिएको समेत जानकारी दिए । ‘प्रहरीसँग वार्ता हुँदाहुँदै हामीहरुलाई धेरै बोले जिब्रो थुदिन्छु । गायब गर्दिन्छु । जस्तो धम्की दिनुभएको छ । यस्तो अराजक व्यक्तिहरुलाई कारबाही गर्नुपर्छ र नेपाल मेडिकल एसोसिएसनले राखेका माग पूरा हुनुपर्छ,’ उनले भने ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर अनिल ओडुभिलले मणिपाल शिक्षण अस्पताल भएकाले विदेशबाट पढ्न आएका मेडिकल विद्यार्थीहरु त्रसित भएको बताए । उनले राज्यले गुन्डाहरुलाई तह लगाउन नसक्दा यस्तो अवस्था आएको बताए ।


अस्पतालका डाक्टर विश्वदीप तिमिल्सिनाले सोमबारको घटनाले आफूहरुलाई अस्पतालमा रिफर भएर आएर वा जटिल भएका बिरामीलाई अन्तिम अवस्थामा पुगेपछि रिफर गर्नुपर्ने अवस्था आउने बताए । ‘यो संसारमा कोही पनि अजम्बरी छैन । एउटा अस्पतालबाट रिफर भएर आएको बिरामी जटिल नै हुन्छ । उहाँको बिपी पनि हाई नै थियो,’ उनले भने, ‘अस्पताल आइपुगेका कोही पनि बिरामीको मृत्यु होस् भनेर कुनै डाक्टरले सोच्दैनँ । हाम्रो पनि परिवार छ । दयामाया, करुण हामीमा पनि हुन्छ । डाक्टरले आफू भित्रको क्षमता ज्ञानलाई प्रयोग गरेर बिरामी बचाउन प्रयास गर्ने हो तर, उपचारका क्रममा सबैको सफल हुन्छ भन्ने हुन्न । यस्तो विषय सबैले बुझनुपर्छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया