राष्ट्र बैंक पोखरामा नयाँ नोट साट्न क्युआर कोड स्क्यान सुविधा
राष्ट्र बैंक पोखरा कार्यालय र माछापुच्छ्रे बैंकबीच सम्झौता

पोखरा
दसैंमा नोट साट्न राष्ट्र बैंक जाँदै हुनुहुन्छ भने नगद नलगे पनि हुन्छ । बैंकको खातामा भएको पैसा एपबाट क्युआर स्क्यान गरेरै नयाँ नोट साट्न पाइन्छ । राष्ट्र बैंक पोखरा शाखाले क्युआर स्क्यान गरी नयाँ/सुकिला नोट, विदेशी मुद्रा खरिद, सिक्का खरिद सेवा उपलब्ध गराइरहेको छ ।
२९ असोज सोमबारबाट नयाँ नोट सहटी सेवा सुरु भएको हो । डिजिटल भुक्तानी गरी नयाँ नगद साट्न मिल्ने सेवाका लागि माछापुच्छ्रे बैंकले क्युआर कोड उपलब्ध गराएको छ । उक्त सेवाका लागि नेपाल राष्ट्र बैंक पोखरा कार्यालयकी निर्देशक आर्या जोशी र माछापुच्छ्रे बैंकको गण्डकी प्रदेश प्रमुख नीलम गौतमले २६ गते सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए ।
दसैंका लागि नयाँ नोट सटही निम्ति क्युआरकोर्डमार्फत भुक्तानी गर्न सकिने सेवाले सर्वसाधारणलाई सजिलो हुनुका साथै विद्युतीय भुक्तानी भरपर्दाे हुने राष्ट्र बैंककी निर्देशक जोशीले बताइन् । माछापुच्छ्रे बैंक प्रदेश प्रमुख गौतमले स्मार्ट बैंकको रुपमा कारोबार गर्दै अगाडि बढ्ने क्रममा डिजिटल भुक्तानीलाई जोड दिइएको सुनाइन् ।
दसैंका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई १८ हजार ५०० रुपैयाँ बराबरको ५ देखि १०० रुपैयाँसम्मको १÷१ प्याकेट नयाँ नोट उपलब्ध गराउने भएको छ । राष्ट्र बैंक पोखरा कार्यालयकी उपनिर्देशक सम्झना ढकालले डिजिटल भुक्तानीका कारण नगद बोकेर हिँड्ने झन्झटबाट मुक्ति दिने बताइन् । कार्यक्रम राष्ट्र बैंकका रविचन्द्र पौडेलले सञ्चालन गरेका थिए ।
तस्बिर : राधिका कँडेल
तपाईको प्रतिक्रिया