पाहुनाको रोजाइमा मालिका धुरी

राकेश शर्मा २०८० मंसिर १४ गते ११:४६

म्याग्दी ।
आँखैअघि दजनौँ हिमशृंखला र दजनौँ बस्ती देखिने मालिका धुरीमा अहिले पर्यटकको लर्काे छ । समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटरमा रेको मालिका धुरीमा धार्मिक पर्यटक बढ्दै गएका छन् ।


म्याग्दीको मालिका गाउँपालिका ७ र रघुगंगा गाउँपालिका वडा नं. ६ को सिमा क्षेत्रमा पर्ने मालिका धुरी प्रवद्र्धनमा पछिल्लो समय मालिका गाउँपालिकाले ध्यान दिएको छ । स्थानीयको चासो बढेपछि यसको प्रचारप्रसार भई पर्यटक आउन थालेका हुन् ।
चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा र कार्तिक पूर्णिमामा बिशेष पूजा हुने यो मन्दिरमा अरु समयमा पनि पर्यटक आउन थालेका छन् ।

कालिका देवी, मालिका देवी र जलवा देवी रहेको मालिका धुरीमा पूजा गर्न म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौं लगायत देशका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्ने गरेको मालिका क्षेत्र विकास संरक्षण समिति अध्यक्ष छकप्रसाद पाईजाले बताए ।

Advertisement


मलिकामा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूजा हुने विश्वास छ । मालिका धुरी पुग्ने पर्यटकले लालीगुराँसको जंगल, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशंखला र सूर्योदय नजिकबाट अवलोकन गर्न पाउँछन् ।


मालिकामा भाकल गरेमा मनोकांक्षा पूरा हुने र भाकल पूरा भएमा बोका, परेवाको बली दिने गरिएको छ । तर त्यहाँ पुग्ने पर्यटकका लागि आवास र खानाका लागि राम्रो सुविधा छैन । बेनीदेखि मालिका धुरी पुगेका कृष्ण जिसीले ठाउँ सुन्दर भए पनि पूर्वाधार नहुँदा सकस भएको सुनाए ।

Advertisement


‘यहाँ आउन जति दुःख हुन्छ, त्यो दुःख यहाँको दृष्य देखेर मेटिन्छ तर यहाँ बस्न र खानाका लागि भने निकै कष्ठ हुने रहेछ,’ उनले भने, ‘पालिका र स्थानीयले पानी पर्दा ओत लाग्नका लागि सत्तलहरु त निर्माण गरेका छन् तर यहाँ खानेदेखि सुन्ने बेलामा ओढ्ने लुगा सबै बोकेर आउनुपर्ने रहेछ ।’ मालिकाको बिल्बाङदेखि १ घण्टा सवारी साधन र २ घण्टा पैदल हिडेर पुग्न सकिने मालिका धुरीमा यात्राको बाटोमा खानेपानीको व्यवस्थासमेत छैन ।


पत्रकार महासंघको प्रवद्धन कार्यक्रम
यसको प्रचारप्रसार गर्नका लागि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले मालिका धुरीमा नै पुगेर कार्यक्रम गरेको छ । मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले भक्तजनको अस्थायी बसोबासका लागि सत्तल, पदमार्ग र खानेपानी निर्माण गरिएको बताए । सत्तल र खानेपानीलाई व्यवस्थित बनाउने, पदमार्ग मर्मत र प्रचारप्रसारमा पालिकाले प्राथमिकता दिएको उनले जनाए ।


‘बिम हुदै मालिका धुरी जोड्ने सडकलाई नागिथलासम्म पुर्‍याएर यात्रा अवधि छोट्याउने उद्देश्यले यस वर्ष ८३ लाख बजेट बिनियोजन भएको छ’, गर्बुजाले भने, ‘मालिका धुरीलाई केन्द्रित गरेर बेनी टोड्के मालिका धुरी हुँदै धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको परिकल्पना गरिएको छ ।’


पत्रकार महासंघ म्याग्दी अध्यक्ष प्रकाश पौडेलले जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्धन गर्न महासंघले ती स्थानमा कार्यक्रम गर्दै आएको जनाए ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया