पुरातत्वको निर्देशनले रोकियो तालबाराही मन्दिर पुनर्निर्माण

समाधान संवाददाता २०८० मंसिर १५ गते १०:०५
मन्दिर भत्काएपछि पुनर्निर्माणका लागि तयार गरिएको तालबाराहीको मुख्य मन्दिर रहेको क्षेत्र । फेवातालबाट देखिने तालबाराही मन्दिर रहेको क्षेत्र । तस्बिरः फडिन्द्र अधिकारी

पोखरा ।
समुद्रका बिचबिचमा टापुहरु संसारभर थुप्रै छन्, तालका बिचमा पनि टापु र त्यसमा मन्दिर भएको दुर्लभ गन्तव्य पोखराको फेवातालमा छ । हो, तालको सानो टापुमा भएको तालबाराही मन्दिर त्यसैले पनि पोखरा घुम्न आउने अधिकतर पर्यटकको रोजाइको गन्तव्य बन्छ । अहिले भने मन्दिर भत्काइएको छ ।


मन्दिरको दर्शन र घुमघामका लागि पुग्नेहरुलाई खिन्न पार्ने दृश्य छ अचेल । दुर्भाग्य के भने मन्दिर भत्काइएको पुनर्निर्माणका लागि हो, जसको पूर्णताको छेकछन्दचाहिँ छैन । भनेको समयमा हुन्थ्यो भने यो मंसिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो ।
०७२ सालको महाभूकम्पका कारण तीन इन्च दक्षिण ढल्किएको मन्दिर चैतमा भत्काइएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्याश भएको थियो । तर, पुरातत्व विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजना र निर्माणको काम अहिले रोकिएको छ ।


पुरानो मन्दिर भत्काएपछि अहिले नजिकैको हवनकुण्डमा पूजाआजा हुँँदै आएको छ । मूल मन्दिर नहुँदा तालबाराही पुग्ने धेरै तीर्थालु निराश हुन्छन् । मन्दिर दर्शन गर्न आईपुगेकी मोरङकी शान्ता पराजुलीले हवनकुण्डमा पूजा गर्दा नमीठो लागेको सुनाइन् । ‘भूकम्पमा क्षति भएको भन्ने सुनेँ । आठ वर्षमा पनि पुनर्निर्माण नसकिएको देख्दा मन अमिलो भयो,’ उनले भनिन् ।

Advertisement


तालवाराही मन्दिर प्राचीन हो । विक्रम संवत १४४७ मा मन्दिर निर्माण भएको इतिहास छ । यही वर्षको चैतमा भत्काइएको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण भएको थियो । व्यवस्थापन समितिले बनाएको गुरुयोजनामा मन्दिरको ४ रोपनी क्षेत्रमा अन्डरग्राउन्डसहितको मुख्य मन्दिर बनाउने उल्लेख छ । सो अन्डरग्राउन्डमा फूलका पसल राख्ने योजना हो । प्राडा भरतराज पहारी नेतृत्वको ७ सदस्यीय टोलीले गुरुयोजना बनाएको थियो ।

पुरातत्वका इन्जिनियरहरुसँग समन्वय गरी काम गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवर बताउँछन्

Advertisement


पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग समितिले पुरातत्वको स्वीकृतिबिना अनुपयुक्त गुरुयोजना बनाएको बताउँछिन् । तालबाराही मन्दिर परम्परागत स्वरुपमै निर्माण गर्नुपर्ने विभागले प्रष्ट पारेको छ । ‘शिलान्याशमा जाँदा परम्परागत ढाँचामा ठूलो परिवर्तन हुने देखिएपछि काम रोक्न निर्देशन दिएका छौँ,’ उनले भनिन् ।


पुनर्निर्माण सकिनुपर्ने समयसम्म कामै सुरु नभएको मन्दिरको निर्माण यही महिना सुरु हुने समितिका अध्यक्ष हिम्मतबहादुर कुँवर दाबी गर्छन् । समितिको गुरुयोजना अनुरुपका काम रोकी पुरानै स्वरुपमा मंसिरभित्रै निर्माण थालिने उनको भनाइ छ ।
विसं २०३८ सालमा पोखरा नगर विकास योजनाबाट फेवा बाँध भत्किएपछि मन्दिरको उत्तर पश्चिमतर्फ माटो भरेर मन्दिरको क्षेत्रफल विस्तार गरिएको थियो । त्यसअघि २०१८ सालमा तत्कालीन राजा महेन्द्रले तालबाराही मन्दिरको पुनर्निर्माण गराएका थिए । त्योभन्दा पहिला भने ढुंगामाटोको गारो र खरको छाना थियो ।


यसपालि मन्दिर पुरानो शैलीमा निर्माणका लागि गत वर्ष नै १ करोड ४४ लाख रुपैयाँ लाग्ने लागत स्टिमेट गरिएको थियो । अब सोही लागत स्टिमेट अनुसार मन्दिर निर्माण गरिने भएको छ । अब प्राविधिक टोली र पुरातत्वका इन्जिनियरहरुसँग समन्वय गरी काम गरिने अध्यक्ष कुँवर बताउँछन् । पुरातत्वले मन्दिरभित्र केही परिवर्तन गरे पनि बाहिर पहिलाकै मन्दिरको जस्तो संरचना बनाउन भनेको छ । मन्दिरका झ्याल, ढोका, टुँडाल, मूर्तिहरु पहिलाका जस्तै राखिने समितिले जनाएको छ । फेवातालमा अहिले ७ सयभन्दा बढी डुंगा छन् । मन्दिर आउनेजाने, ताल सयर र ताल वारपारका लागि डुंगा प्रयोग हुन्छ ।

तपाईको प्रतिक्रिया