नियात्रा

सिरुबारी र यादका डोबहरु

समाधान संवाददाता २०८० पुष १ गते १९:३८

सरस्वती श्रेष्ठ ‘सरु’

ती बाटामा हाम्रा पाइतालाका डोबसँगसँगै हामीले सुसेलेका सुसेली त्यतै कतै गुञ्जिदै होलान्

‘दिदी हामी यसपालिको बिदामा एक रातको बसाइ गर्ने यात्रा गर्छौँ है,’ छन्दिकाले खबर पठाइन् मेसेन्जरमा । यो शरदीय मौसमको सुन्दर वातावरणको अवलोकन गर्ने लोभ ममा पनि नभएको होइन । जे कुरा प्राप्त गर्न पनि समय अनुकूल भैदिनुपर्छ । यसपालि सबैको लागि समय अनुकूल बनिदियो ।

Advertisement


नेपालको सुन्दर सहर पोखरामा कर्म गर्ने सौभाग्य पाएकी छु मैले । यहाँका सुन्दर तालहरु, यहीँबाट देखिने सुन्दर माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलाहरुले सदैव मत्र मुग्ध बनाइरहन्छ । नजरहरु सधैँ माछापुच्छ्रे आरोहण गरेर थाक्दैनन् । अन्नपूर्णको सुन्दरता पिएर कहिल्यै धीत मर्दैन । सेतीको गहिराइ नापेर कहिल्यै सकिँदैन । फेवाको शालिनता हेरेर कहिल्यै तृप्त भइँदैन । पातले छाँगो लुकेर कहाँ पुगेको होला ? सराङकोटबाट कति प्याराग्लाइडरहरुले उडान भरेर तृप्त भए होलान् ? कतिले सराङकोटबाटै सूर्य उदाएको दृश्य अवलोकन गरी जीवनको उज्यालो यात्रा थालनी गरे होलान् ? यस्ता तरङ्ग मनको किनारसम्म ओहोरदोहोर गरिरहन्छन् ।


नारी प्रतिभा वाङ्मय प्रतिष्ठान नारीहरुको संस्था भए पनि यात्रामा दाजुभाइलाई समेत संलग्न गराउने कुरा भयो । सोहीअनुसार हरिदेवी कोइराला दिदी–भिनाजु, देवेन्द्र केसीका सर–मेडम, छन्दमणि–छन्दिका त्रिपाठी, शिव त्रिपाठी, मेघनाथ कुँवर, वसन्त चालिसे, भरत आचार्य, रीता अधिकारी ऋतु, चन्द्रावती वाग्ले, लक्ष्मी थापा, पार्वती बास्तोला, रमा खतिवडा, सावित्री गिरी, गीता अधिकारी जून, बबिता बास्तोला, इन्द्रेणी ढुंगाना, दुर्गा न्यौपाने, सीता बराल भण्डारी, कृष्णमाया त्रिपाठी, हसिना बस्नेत, शुभ शर्मा, संगिता तिमिल्सिना र म गरी २६–२७ जनाको टिम सिरुबारी, स्याङ्जा जाने तयारीमा लागियो ।

Advertisement


पोखरादेखि सिरुबारी ४४ किमीमा छ । सिरुबारीको नाउँ धेरैअघिदेखि सुन्दै आएको भए पनि समय बल्ल जुर्यो त्यहाँ पुग्ने । गएको कात्तिक २२ गते बुधबार न्युरोडको रिडर्स कर्नरमा जम्मा भई साढे २ बजे हामी सवार बस गुड्यो । विरौटा चोक पुगेपछि बस रोकियो, रीता नाम गरेकी बहिनी र एक जना भाइ थपिए । मलाई लाग्यो उनीहरु पनि हाम्रो यात्रामा सामेल छन् तर होइन रहेछ । हरि दिदीको तीजगीतमा उहाँसँग टिकटक बनाउने रहरमा पो बस चढेका रहेछन् । सबैलाई उठेर नाचिदिन आग्रह गर्दै आफू पनि नाचेको भिडियो पो बनाउन थालिन् ।


रीता अधिकारी र म हेरेको हे्र्यै भयौँ । भिडियो खिचिदिने उनकै श्रीमान् रहेछन् । पसलमा ग्राहक आएभन्दा पनि त्यस्ता ग्राहक भोलि पनि आउँछन्, यो मौका कहाँ आउँछभन्दै टिकटकमा व्यस्त भइदिने साहुनीलाई के भन्न सकिन्छ ? सबै निरुत्तर भए । ‘लौ धोको पुग्ने गरी टिकटक बनाइयो’ भन्दै बसबाट उनी झरिन् । बसभित्र हाँसोको फोहोरा छुट्यो । हाँस्नु जीवनलाई स्वस्थकर बनाउनु पनि हो ।


ती बहिनीका श्रीमान् हामी सवार बसको साहु रहेछन् । ती भाइ भने हामीसँगै सिरुबारी हिँडे । एकातिर प्रविधिले विकासको फड्को मारिरहँदा अर्कोतिर विनाश पनि निम्त्याउन बेर लाग्दैन । सायद यस्तै कुरालाई मध्य नजर गर्दै नेपाल सरकारले टिकटकलाई बन्द गरायो । ढिलै भए पनि सरकारले राम्रै ग्यो भन्ने लागेको छ । तर कतिपय महिला वर्गलाई टिकटक बन्द भएकोमा छटपटी बढेको पनि पाइयो । जे कुरामा पनि लत बसेपछि छुटाउन गाह्रो पो हुन्छ त ।


बस बिस्तारै अघि बढ्यो ।सको गतिसँगै मन पनि अघि बढ्दै गइरह्यो । बस स्याङ्जाको नाउँडाँडाबाट दाहिनेतर्फ मोडियो र उत्तरपश्चिम लाग्यो । सेतीदोभान हुँदै ढाँट बजारबाट उकालो बाटो बस हुँइकियो । बसको झ्यालबाट देखिने टाढा टाढाका दृश्यहरु आँखाले टाढैबाट छुँदैछुँदै गुडिरह्यौँ हामी । पहिले पहिले यही बाटो पैदल हिँड्नुपथ्र्यो होला । गाउँ गाउँदेखि विद्यालय शिक्षा पूरा गरी उच्च शिक्षा हासिल गर्न कति विद्यार्थी पोखरा झरे होलान् । कति त पोखरा छोडेर काठमाडौँ पसे होलान् ।
अहिले गाउँ गाउँमा मोटर बाटो पुगेको छ । हिँड्नु परेन । गाउँमा बिजुली बत्ती झलमल छ । टुकी या लालटिन बाल्नु परेन । यसरी हेर्दा देशमा राम्रै विकास भएको महसुस हुन्छ । तर युवाहरु देश छोडेर परदेशिने क्रम जारी नै छ । देशमा बेरोजगारको सङ्ख्या उत्तिकै बढ्दो छ । खैर, यो चिन्ता मैलेमात्रै लिएर पनि के गर्न पो सक्छु र ?


स्याङ्जाका धेरै ठाउँका नाम सुन्दै आएकी थिएँ । कलेज पढ्दाताका साथीहरु थिए कोही सेतीदेभानका, कोही सर्केटारीका, कोही दरौँका, कोही बाडखोला, कार्कीनेटा, अर्जुन चौपारी, ह्राङखोला पनि । बाटोका दृश्यहरुमा कतै खोला, कतै जंगल, कतै अग्ला पहाड, ती पहाडमा कोरिएका मोटरका बाटाहरु, कतै रमाइला गाउँ, कतै धान पहेँलै पाकेका सुनौला फाँट, गरा, पाखापखेराका सुन्दर दृश्य हेर्दै मन, घरका सारा व्यवहार, कर्म क्षेत्रको तनावबाट मुक्त रहेको थियो । पश्चिमतर्फ सूर्य क्षितिजको नजिक नजिकै पुग्दै थियो । ऋतु बहिनीको जन्म जिल्ला पनि हो स्याङ्जा । स्याङ्जाको सतौँ उनको पुख्र्यौली थलो । सतौँ हामी हिँड्दै गरेको सडकको बायाँतिर पर्छ । दायाँतिरको पर देखिएको बाटो जुन अत्यन्त भीर देखिएको छ । उक्त बाटो मामाघर जाने बाटो हो भन्दै ऋतुले मलाई जानकारी दिएकी थिइन् । टाढाबाट हेर्दा भीर देखिएकाले मलाई काहाली लाग्यो । भीर देखिए पनि बाटो फराकिलो छ भन्ने ऋतुको स्पष्टिकरण थियो ।


‘बुढिमाउ ! कुनै दिन लैजान्छु तिमीलाई त्यो बाटो मामाघर अनि थाहा पाउँछ्यौ, कति रमाइलो छ मेरो मामाघर !,’ रीताले त्यति भनेपछि मामाघर जाने हुटहुटी पनि थपियो । यो मनलाई अघि सर्न केसैले छेक्दैन क्यारे ! साँच्चै गाउँहरु अचेल पहिले हजुरबाका पालामा जस्तो पक्कै रहेनन् । सबै गाउँले कामकाजका लागि कठिनाइसँग जुध्न नसकेर बेसी झर्ने, सहज र सुखी जीवन यापनका लागि सहर पस्ने गरेको पाइन्छ । कतिलाई विदेशी मरुभूमिमा आफ्नो रगत पसिना खन्याउन जाने वाध्यता छ ।
युवा कोही विदेश कोही सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्र रहने वाध्यता छ । बालबालिकालाई पनि सहरका राम्रा विद्यालय खोज्दै पढाउन सहरतिरै राखिने भएको हुँदा घरहरु पनि दाँत झरेका वृद्धहरु जस्तै थोते, कोरीबाटी नगरिएका अनुहारजस्ता भएका छन् । हुन त गाउँमै बसेर पनि जीवन निर्वाह गर्न मुस्किल नै छ । देशको अवस्था यस्तै हो । गाउँमा सडक पुगेको कारण सडक वरपर एकाध घर आधुनिक बनेछन् ।


दसैँ समाप्त भएर तिहारको रौनक भित्रिँदै गर्दा सयपत्री, मखमली, गुरदली फूल ढकमक्क फुलेर वातावरण रमणीय देखिएको थियो । कतै धान काट्दै, कतै दाइँ गर्दै गरेका, कतै खेतमा आलु रोप्दै गरेका दृश्य देखिए । पाखाबारीमा कोदो पाक्ने बेला पनि भएछ । यी दृश्यले मलाई विगततिर फर्कायो । कोदो रोपेको देखि लिएर कोदो टिपेको, नल काटेको, कोदो चुटेको सबै यादका पत्रपत्र मानसपटलमा सल्बलाइरह्यो ।


म्हाँजु भन्ज्याङ पुगेपछि बस रोकियो । सबै बाहिर निस्कियौँ । राम्रो पार्क बनेको रहेछ । त्यहाँको दृश्यलाई समेटेर केही फोटा खिच्यौँ । त्यहाँबाट सिरुबारी पुग्न धेरै समय लागेन । सिरुबारी होमस्टेका सदस्यस्वागतार्थ बाजागाजाका साथ फूलमाला लिएर पर्खिरहेका थिए । पञ्चेबाजा अघि लगाएर हामी सिरुबारी सामुदायिक होमस्टेको न्यानो आतिथ्यतामा लुटुपुटु भयौँ । पञ्चेबाजामा रमाउँदै नाचे साथीहरु । रीतु खुब नाचिन् । मन कञ्चन र ओठमा झपक्क फुलेको शरद, आहा ! कति लचिलो नृत्य । सुरुदेखि नथाकी नाचिरहँदा शरीरमा स्फूर्ति जग्मगाएको थियो उनको । मलाई भने त्यति नाच्न आउँदैन । म सबै नाचेको हेरेर रमाएँ ।
नेपालको पर्यटन इतिहासमा ‘सिरुबारी’ गाउँको नाम सुनौलो अक्षरले लेखिएको छ । मुलुककै पहिलो पर्यटन गाउँका रुपमा स्वदेश तथा विदेशमा यसले ख्याति कमाएको छ । नेपालमा सामुदायिक होमस्टे ग्रामिण पर्यटनको अभ्यास सिरुबारीबाटै शुभारम्भ भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर गुरुङबाट जानकारी प्राप्त भयो । क्याप्टेन स्व. रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाइमा वि.सं. २०५४ कार्तिक २३ देखि सिरुबारीमा सामुदायिक होमस्टे सुरु गरिएको रहेछ ।
संयोगले हामी २०८० र्कािर्तक २२ गते पुगेका थियौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसनले प्रदान गर्ने ‘पाटा गोल्ड अवार्ड २००१’ बाट सिरुबारी सम्मानित भइसकेको रहेछ । साथै, होमस्टेका पिता क्याप्टेन स्व. ‘रुद्रमान स्मृति प्रतिष्ठान’ स्थापना पनि गरिएको रहेछ । अचम्मको कुरा त के रहेछ भने धेरै पहिले सिरुघारी प्रशस्त भएकाले गाउँको नामै सिरुबारी रहन गएको गाउँमा वरिपरि हेर्दा कतै सिरुघारी देखिएन । मेरो मनमा कौतुहल जागेर होमस्टे सञ्चालन समिति सचिव सुमित्रा गुरुङसँग जिज्ञासा राख्दा अचेल सिरुघारी मासिएको कुरा बुझियो ।
रमाइलो कार्यक्रम हुँदाहुँदै झमक्क साँझ पर्न थालेपछि गाउँले भान्छातिर लागे । बेलुका ८ बजे खाना खाइओरी सबै पुनः गुम्बामा भेला हुनु भनेर अध्यक्ष पनि लागे आफ्नो बासस्थानतर्फ । महाकवि देवकोटाको ११५ औँ जन्मजयन्तिको उपलक्ष्यमा काव्य गोष्ठी गर्ने तर्खरमा लाग्यौँ हामी । कार्यक्रमका सभाध्यक्ष छन्दिका, प्रमुख आमन्त्रित व्यक्तित्व स्वर किन्नरी प्राज्ञ हरिदेवी कोइराला रहनुभएको थियो भने कार्यक्रम सञ्चालन कवि लक्ष्मी थापाले गरेकी थिइन् । सबैले रचनावाचन गरे । शिव त्रिपाठीको कोकिल कण्ठको बयान के गरुँ, कसरी गरुँ मेरा शब्दहरु अपुग भै दिन्छन् । हरि दिदीले महाकविको काव्यिक व्यक्तित्वको चर्चा गर्दै गीत प्रस्तुत गर्नुभयो भने अध्यक्ष छन्दिकाद्वारा महाकविद्वारा रचित बालकविता वाचन गरी कार्यक्रम समापन गरियो ।
बेलुकाको खानापश्चात हामी सबै गुम्बामा उपस्थित भयौँ । तर गीता अधिकारी जून भने अस्वस्थका कारण रमाइलो हेर्ने मन भएर पनि कार्यक्रममा उपस्थित हुन सकिनन् । होमस्टेको प्याकेजमा सांस्कृतिक कार्यक्रम पनि पर्दो रहेछ । कार्यक्रममा स्थानीय कलाकारद्वारा गुरुङ तथा नेपाली भाषाका गीत प्रस्तुत गर्नुका साथै सोरठी, झोरा, कौरा, ख्याली सालैजो र थाली नाच प्रस्तुत गरियो । सबैले हरि दिदीका सुमधुर स्वरसँग स्वर मिलाएर पाइनँ खबरलगायत अन्य गीतमा साथ दिइयो ।
जति सोँचेका थियौँ, त्यति जाडोको साम्राज्य फैलिसकेको भने थिएन । रातको चिसो थेग्न एउटा सिरक काफी नै थियो । जब बिहानी उषाको लाली पूर्व क्षितिजमा पोतिँदै आयो, हामी ओछ्यान छोडेर बाहिर निस्कियौँ । सुरम्य वातावरणमा रमायौँ । सूर्य उदाउँदै गरेको दृश्य मोबाइलमा कैद गर्दैै रीता बोलिन्, ‘जे होस् प्रविधिको विकास भइदिनाले निकै सजिलो भएको छ है दिदी ! एउटा मोबाइलमा फोटो पनि खिच्न सकियो, भिडियो पनि ।’


हो नि, निकै सजिलो छ अहिले । २०५३ मा अन्नपूर्ण बेसक्याम जाँदाको यात्रा झलक्क याद आयो मलाई । त्यो समयमा प्रविधिको विकास भएको थिएन । यसरी नै हातहातमा मोबाइल भएको भए कति फोटा खिचिँदो हो । यादको मदुसमा राखेर पीठा पलहरुको जीवन्त तस्बिर हेरेर अहिले पनि रमाउन पाइँदो हो । कठै ! रिल राखेर खिचिने क्यमरा पनि दुर्लभ थियो त्यो समय । हरि दिदी भन्नुहुन्छ, ‘अहिले भए झन् कति रमाइदो हो, फोटा खिच्न निर्धक्क भई खिचिँदो हो, रिल सकिने पीर पनि नाइँ ।’
अन्नपूर्ण बेस क्याम जाँदाको रमाइलो किस्सा छ । त्यो पनि लेखौँला कुनै दिन । हरि दिदी मलाई सम्झाइरहनु हुन्छ, लेख्न प्रेरित गरिरहनुहुन्छ । ब्रेकफास्ट लिएपछि सुन्दर बिहानीलाई आत्मसात् गर्दै साथीहरु आआफ्नोपनमा रमाइरहे । कोही साथी ओलीबास भ्युटावरसम्म पदयात्रा गरेर फर्किसकेका थिए । मलाई पनि त्यहाँसम्म त पुग्ने मन थियो । यो समयलाई कत्ति पनि खेर जान नदिई हामी शिव त्रिपाठी, छन्दमणि, रीता अधिकारी रीतु, शुभ शर्मा, सावित्री गिरी, हसिना बस्नेत र म उकालो लाग्यौँ । कतिपय साथीहरु उकालोसँग डराएर गुम्बामै रहनुभयो । मलाई त लाग्यो ओलीबास भ्यूटावर नउक्लेको भए सिरुबारी गएको नगएको कुनै मूल्य रहने थिएन ।


ढुंगाका सिँढी सिँढी टेकेर यात्रामा लागिरहँदा हाम्रा पाइतालाका डोबहरु पनि यही बाटोमा छोडिए । भोलि कोही यात्रीले हाम्रा पाइतालाका डोबहरु टेकेर यसरी नै ओलीबास उक्लने छन् र आफ्ना पाइतालाका डोबहरु छोड्ने छन् । बाटोका दायाँबायाँ बुकी फुल्ने पाखाहरु हाम्रा साउतीहरुसँग झुम्न आइपुगे । बुकी फूल कानमा सिउरिँदै हामी पनि वनपाखा र बाटोसँग मन साट्दै हिँड्यौँ । कति बेला रोइला, क ितबेला विविध लोक दोहोरी गाउँदै हिँड्दाको सुखानुभूति अहिले शब्दमा व्यक्त गर्दा अधुरो नै लागिरहेको छ । ती बाटामा हाम्रा पाइतालाका डोबसँगसँगै हामीले सुसेलेका सुसेली त्यतै कतै गुञ्जिदै होलान् । बुकी फूललाई, सालिमका गाँजहरुलाई कविले छोइदिँदा कस्तो तरङ्ग फैलियो कुन्नि ?
केही बेर चौतारीमा थकान बिसाएर तस्बिर पनि खिच्यौँ । यसरी वनपाखा हिँडिरहँदा हाम्रा ती किशोरवयका दिन सम्झना बनेर आउँदा रहेछन् । जंगलमा मोहोलो रातै भएर पाक्ने समय हुँदै रहेछ । वास्तवमा म यो फलसँग अनभिज्ञ थिएँ । ‘यो खान हुने फल हो । हामी खान्थ्यौँ,’ रिता भन्दै थिइन् । चाखेर हेर्दा टर्रो लाग्यो । राम्ररी पाकेको रहेनछ । सिरुबारीबाट हामी आधा घण्टामा ओलिबास भ्युटावर पुग्यौँ । पूरै पाखो सालिमै सालिम रहेछ । मसँग सालिमको पनि गहिरो नाता छ । जति बेला म घरमा बिदाको समयमा आमालाई सघाउन डोको, नाम्लो र आँसी लिएर वनपाखामा जान्थेँ, त्यति बेलादेखि मेरो सम्बन्ध सालिमसँग जोडिएको हो । सालिम काटेर डोको भरिएपछिको आत्मसन्तुष्टि पनि बिछट्टैको हुने गर्दथ्यो । सालिमे घारी भएको ओलिबास पाखाभरि केही थान कविहरुले तस्बिर खिच्ने र भिडियो खिच्ने काम धमाधम भइरहेको थियो ।


सावित्री गिरी भिडियो खिच्न व्यस्त, शिव त्रिपाठी ‘दिक्क लाउनी’ भन्दै उहाँको क्रियाकलाप हेर्दै लोभिनुभएको कुरा थाहा पाउन गाह्रो परेन मलाई । अन्य कविहरु सालिमसँग टाँसिदै तस्बिर खिच्न पछि परेनौँ । त्यहाँबाट फर्केपछिका सम्झनाका साक्षीहरु तिनै तस्बिर त हुन् । बिहानी समयको हुर्कँदै गइरहेको घाम पहाडको अग्लाईभन्दा पनि माथि हिँडिरहेको थियो हाम्रै साथसाथ । भ्युटावर नजिकै अग्लो पहाड, पहाड माथिमाथि यात्रारत कुहिरोका हुल एक सुन्दर कोलाज बनेर उडिरहेका थिए । मन त बसिरहन चाहन्थ्यो त्यतै त्यतै, त्यो पहाडसँग, त्यो सालिमे पखेरासँग, बिर्सेर जिन्दगीका यावत कहानीहरु । तर सोचेजस्तो र चाहेजस्तो रैनछ जिन्दगी । हामीलाई पर्खेर बसिरहेका साथीहरु सम्झेर ओह्राली झरे हाम्रा पाइलाहरु ।


बिहानको खाना कहाँ पुगेर खाइन्छ कुनै टुङ्गो थिएन । १० बजे सिरुबारीलाई बाइबा गर्दै यादै यादका डोबहरु छोडेर हामी फर्कियौँ पोखरा ।

तपाईको प्रतिक्रिया