कोरला सडकका ठेकेदारलाई अल्टिमेटम

सुन्दरकुमार थकाली २०८० पुष १० गते १२:५३

जोमसोम ।
राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई आयोजनाले एक हप्ते अल्टिमेटम दिएको छ । आयोजनाले बेनी जोमसोम कोरला सडक खण्डमा निर्माणाधीन २ सडक र ३ पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई पुस ५ गते पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ते अल्टिमेटम दिएको हो ।


सडक आयोजनाले बेनी जोमसोम ७६ किमी सडक अन्तर्गत १ सडक र १ पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । यस्तै, जोमसोम कोरला १ सय १० किमी सडक अन्तर्गत १ सडक र २ पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई पनि एक हप्ते अल्टिमेटम दिइएको छ ।


सडक तथा पुल बनाउने जिम्मा लिएका निर्माण कम्पनीहरुले आयोजनासँग गरिएको ठेक्का सम्झौता अनुसार तोकिएको समयमा सम्पन्न नगरेको, आयोजनाले समयमै काम सम्पन्न गर्न पटक पटक मौखिक निर्देशन तथा लिखित पत्र आग्रह गर्दासमेत लामो समयसम्म चासो नदिएको र पछिल्लो पटक म्याद थप हुँदा गरिएको प्रतिवद्धतासमेत कार्यान्वयन नभएको सूचनामा उल्लेख छ ।

Advertisement


निर्माण कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र सोही अनुरुप निर्माण व्यवसायीसँग भएको खरिद सम्झौताको शर्त बमोजिम खरिद सम्झौता अन्त्य किन नगर्ने, यदि खरिद सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा एक हप्ताभित्र विश्वसनीय स्पष्टिकरण र समयमै काम सम्पन्न गर्ने कार्ययोजनासहित आयोजनाको कार्यालयमा उपस्थित हुन अन्तिम अल्टिमेटम दिइएको हो ।


अन्तिम ताकेता भएको र खरिद सम्झौताका शर्तहरु, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा निमावली २०६४ अनुसार खरिद सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रियाअघि बढाइने चेतावनी निर्माण कम्पनीलाई दिईएको हो । आयोजना प्रमुख धुव्र झाले राष्ट्रिय गौरवको सडक तथा पुल निर्माणलाई लामो समयदेखि अलपत्र पार्ने निर्माण कम्पनीलाई अल्टिमेटम दिएको जानकारी दिए ।

Advertisement

खरिद सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने लगायतका प्रक्रियाअघि बढाइने चेतावनी


उनले खरिद सम्झौताको मर्म र भावना विपरीत स्पष्ट कार्ययोजना र चित्तबुभ्दो जवाफ नआएको खण्डमा निर्माण कम्पनीको ठेक्का अन्त्य गरी कालोसूचीमा राख्ने प्रक्रियाअघि बढाउने बताए । ‘निर्माणको काम अस्तव्यस्त छ, कामले गति लिनै सकेको छैन,’ आयोजना प्रमुख झाले भने, ‘अब यो अन्तिम चेतावनी हो, जालझेल र छलछामले काम चल्दैन, काम गर्ने सुनिश्चित हुनुप¥यो ।’


कोरलानाका जोड्ने सडक अन्तर्गत २०७३/०७४ मा ठेक्का सम्झौता भएको बेनी—जोमसोम सडकको चौथो खण्ड र छैटौ खण्ड ६ वर्ष हुँदासमेत निर्माण सकिएका छैनन् । बेनी जोमसोम ७६ किमी सडक अन्तर्गत चौथो खण्ड कोवाङ जोमसोम १६ किमी सडक निर्माणको जिम्मा पप्पु गौरी पार्वती कोशी एन्ड न्यौपानेले ६२ करोड ४८ लाख लागतमा लिएको थियो । सम्झौता अवघि साढे २ वर्ष रहेको सडकको काम अहिले टुकुचे र मार्फामा कालोपत्र र जोमसोम क्षेत्रमा आंशिक सडक स्तरोन्नति भए पनि मार्फा र जोमसोम क्षेत्रमा काम अलपत्र छ ।


बेनी जोमसोम सडकको तेस्रो खण्ड भने आयोजनालाई हस्तान्तरण भइसकेको छ । २०७३/०७४ मा ठेक्का सम्झौता भएको जोमसोम कोरला १ सय १० किमी ग्राभेल सडकका ७ खण्डमध्ये ६ सडक खण्ड ४ वर्षअघि नै आयोजनालाई हस्तान्तरण भइसकेको छन् । तर, निर्माण कम्पनीको चरम ढिलासुस्तीले चराङ छोसेर २५ किमीको काम लामो समयदेखि अलपत्र छ ।


तामाङ गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभीले २४ करोडमा ठेक्का लिएको यो सडकको पछिल्लो भौतिक प्रगति ७० प्रतिशत छ । पछिल्लो समय ज्वाइन्ट पार्टनरका रुपमा रहेको गौरी पार्वतीले बेनी—जोमसोम चौथो खण्ड र जोमसोम—कोरला छैटो खण्डको काम गर्ने जिम्मा लिएका छन् । तर, जिम्मा लिएको निर्माण कम्पनीले काममा तदारुकता देखाएको छैन ।


कोरला सडक अन्तर्गत एउटै निर्माण कम्पनी हिमढुङ एन्ड ठोक्कर इमोटल जेभी कन्ट्रक्सनले २ ठेक्कामार्फत ३ पुल बनाउने जिम्मा पाएकोमा अहिले ३ वटै पुल अलपत्र छन् । २०७५ पुस ६ गते ठेक्का सम्झौता भएको एक स्पानको ४० मिटरको घमी खोला पुल लथालिङ छ । यो पुल ६ करोड ८० लाख लागतमा बनाउने सम्झौता भएको थियो ।


२ वर्षअघि सकिनुपर्ने घमी खोला पुलको पछिल्लो भौतिक प्रगति ५० प्रतिशतमात्र छ । आयोजनाले पटक पटक तोकता गरे पनि निर्माण कम्पनी हिमढुङले वास्ता गरेको छैन । घमी खोला पुलको जिम्मा पाएको हिमढुङले मुस्ताङको मार्फा स्थित (राज खोला) मा ३ स्पानको १ सय २० मिटरको पक्की पुलको काम पनि लामो समयदेखि छाडेको छ ।


जोमसोम—कोरला जोड्ने छुसाङ स्थित नरसिंह खोलाको ३ स्पानको ९० मिटर लामो पक्की पुलको कामसमेत यो कम्पनीले अलपत्र पारेको हो । मार्फा खोला पुलको भौतिक प्रगति ५० प्रतिशतमात्र छ । मार्फा र छुसाङ खोलाका पुल ०७७ चैत २०सम्म सकिनुपर्ने थियो ।


छुसाङको नरसिंह खोलाको पुलका ३ वटै स्पानको काम भए पनि बाँकी काम अलपत्र छ । मार्फा पुलको भौतिक प्रगति ४० प्रतिशत छ भने छुसाङ खोला पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत छ । यी दुबै पुलको सम्झौता लागत २१ करोड छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया