सडक महोत्सव सुरु—सांस्कृतिक झाँकीले झकिझकाउ लेकसाइड (फोटोफिचर)

समाधान संवाददाता २०८० पुष १२ गते २०:५९

पोखरा ।


‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु भएको छ । महोत्सवका अवसरमा सांस्कृतिक झाँकीले पर्यटकीय केन्द्र लेकसाइड झकिझकाउ भएको छ ।


परम्परागत पञ्चेबाजासहितका संस्कृतिको झाँकी महोत्सवको पहिलो दिन प्रस्तुत थिए । पोखराका मेयर धनराज आचार्यले महोत्सव उद्घाटन गरे । सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमागाने पार्कमा प्रवेश गरेको थियो । कार्यक्रममा पर्यटकसँगै स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि तथा उल्लेखनीय संख्याका पोखरेली सहभागी भए ।

Advertisement


अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले (रेबान) महोत्सव आयोजना गर्दै आएको छ । १२ देखि १६ पुस अर्थात् डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवका बेला दैनिकजसो नै सांस्कृतिक सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू हुने आयोजकले जनाएको छ । लेकसाइडको करिब ३ किलोमिटर सडक खण्डमा किचेन, डाइनिङ ओरालेर त्यहाँका रेस्टुरेन्टहरुले आफ्ना पकवानहरू पस्किने गरेका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, ¥यापर लाहुरे, ¥यापर राजन केसी शिला आले, समीक्षा अधिकारी, बद्री पंगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइभल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवं ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन् ।


बिहीबार साँझ स्टेजमा लोकदोहोरी गायक प्रजापति पराजुलीले प्रस्तुति दिए । शुक्रबार साँझ प्रीति आलेको प्रस्तुति हुनेछ । शुक्रबार दीपक बज्राचार्य र रिदम ब्याण्डको प्रस्तुतिसँगै सांगीतिक माहोल तात्नेछ । सोही दिन साँझ पोखरेली ¥यापर राजन केसीले आफ्ना हिट गीत पस्कनेछन् । महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र ‘नोस्टाल्जिक–थ्री’ सँग फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ ।

Advertisement


शनिबार पोखरेली ब्यान्ड टुकी र रक ब्यान्ड मुक्ति एन्ड रिभाइभलले प्रस्तुति दिनेछन् । सोही दिनै पशुपति शर्माले लोकभाका गुञ्जाउनेछन् । सन् २०२३ को अन्तिम दिन आइतबार बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले गाउने छन् । आइतबार नै द एलिमेन्ट्स र लाउरे एन्ड द ब्याड कम्पनीले प्रस्तुति दिनेछन् । सडक महोत्सवको उदघाटन गर्दै मेयर आचार्यले पर्यटक वृद्धि गर्न अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वार्षिक ८ लाख हो । एयरपोर्ट असफल भएको छैन’ मात्रै अन्तर्राष्ट्रिय जहाज निरन्तर हुन नसकेको कुरा हो,’ मेयर आचार्यले भने ।

तपाईको प्रतिक्रिया