चंगा म्युजिक फेस्टिबल तयारी

समाधान संवाददाता २०८० पुष २० गते ११:४८

पोखरा ।
चंगा प्रोडक्सनले कला, संगीत र फेसन ‘सो’ लाई समेटेर ‘चंगा म्युजिक एन्ड आर्ट फेस्टिबल’ गर्न लागेको छ । प्रोडक्सनले यही पुस २१ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फेस्टिबल गर्न लागेको म्यानेजिङ डाइरेक्टर विवेक गुरुङले जानकारी दिए ।


उनले युवा पुस्ता लक्षित गरी सञ्चालन गर्न लागिएको फेस्टिबलमा पोखरामा भएका कलाकारलाई अवसर प्रदान गर्ने बताए । ‘म्युजिक र फेसन प्रस्तुत गर्ने मञ्चको रुपमा फेस्टिबललाई अगाडि सारिएको छ,’ उनले भने, ‘फेष्टिबलले युवा कलाकार र संगीतकारलाई प्रोत्साहन गर्ने छ । नवप्रतिभालाई कलात्मक अभिव्यक्ति प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ ।’


उनले कार्यक्रमले साँस्कृतिक आदानप्रदान, प्रेरणा, कला र संगीतको विश्वव्यापी भाषामार्फत सकारात्मक सामाजिक परिवर्तनलाई प्रेरित गर्ने दाबी गरे । उनका अनुसार फेस्टिबलमा ४० स्टल राख्ने व्यवस्था मिलाइएको छ । स्टलमा पोखरेली ब्रान्डको प्रवद्र्धन गरिने उनले उल्लेख गरे ।

Advertisement


फेस्टिबल ३ हजार दर्शक अवलोकन गर्ने आयोजकको अनुमान छ । कार्यक्रममा जोन चामलिङ राई, शिरिगो, प्रजिना, द इन्फेलम ब्यान्ड र द अदृश्य किरण ब्यान्डको प्रस्तुति रहनेछ ।


फेस्टिबलमा नेपाली ब्रान्ड हुबाको फेसन ‘सो’ समेत हुने कोरियोग्राफर ओसिन मल्लिकले जानकारी दिए । फेसन ‘सो’ जसमा पोखराकै मोडलहरु र्‍याम्पमा उत्रने छन् । ३ वर्ष अघि स्थापना भएको चंगा प्रोडक्सन पछिल्लो समय म्युजिक भिडियो निर्माण कार्यमा सक्रिय छ । फेष्टिबलले रचनात्मकता अन्वेषण गर्न ठाउँ प्रदान गरेर युवा सशक्तीकरणमा ध्यान केन्द्रीत गर्ने आयोजकको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया