कन्दरा ब्यान्डको पुनरोदय

समाधान संवाददाता २०८० पुष २९ गते ९:३५

पोखरा ।

एकताका लोकाधुनिक गीत भनेपछि पोखरा र यहाँका सांगीतिक समूह नै पर्यायवाची जस्ता थिए । त्यसैमा एक थियो कन्दरा ब्यान्ड । विवेक श्रेष्ठ मुख्य गायक र सुनील थापा संगीतकार/गीतकार रहेको यो ब्यान्डले ५० को दसकमा देशभित्र र बाहिर धेरै नेपालीको मन जित्यो । लामो समय ब्यान्ड सुस्तायो, गायक श्रेष्ठ आफै विदेश गए । सुनील भने पोखरामै रहेर संगीतकर्म गरिरहे ।


लामो अन्तरालपछि गायक विवेक हङकङ, बेलायत र अस्ट्रेलिया घुम्दैफिर्दै नेपाल फर्किएनन्मात्रै फेरि आफ्नो सांगीतिक समूहलाई पुनर्जीवन दिन तल्लीन बने । त्यही सिलसिलामा उनले पर्यटनका लागि सांगीतिक अभियान सुरु गरिसकेका छन् । अभियानको पहिलो कार्यक्रम शुक्रबार पोखरामा भएको छ । पोखरा पर्यटन परिषदले आयोजना गरेको कन्दराको कन्सर्टमार्फत विवेक र उनको टोली फेरि सांगीतिक दुनियामा पुनरोदय गरेको छ ।

Advertisement


पर्यटन प्रवद्र्धनको लक्ष्य र उद्देश्य राखेर गरिएको कन्सर्टमा शुक्रबार विवेकले आफ्ना नयाँपुराना १४ गीतमार्पmत नयाँ र पुराना स्रोतालाई लोकाधुनिक शैलीको संगीतको स्वाद फेरि चखाए । कन्सर्टका लागि पोखरा प्रदर्शनी केन्द्रको गेट दिउँसो ३ बजे नै खुलेको थियो । ५ बजे लक्ष्य ब्यान्डले सांगीतिक माहोल जमायो । धुनहरुमा उसले नेपाली मौलिकता पस्कियो । गायक विवेक साढे ६ बजे स्टेज उक्लिए । सरासर गाउन थाले ।


तगारोमा रुमाल राखी बाटो छेक्यौं तिमीलेबाट सुरु गर्दै उनले आफ्नो ब्यान्डको पहिलो क्यासेट एल्बल चञ्चले कान्छी गाए । चञ्चले कान्छीको गीति गर्भ सुनाउँदै विवेकले मर्दीपदयात्राका दिनहरु सम्झिए । पोखरामै हिउँ नपरे पनि जाडो महिनामा पञ्चासेतिर हिउँ पर्ने प्रसंग झिके । अनि फुल्चोकीको डाँडैमा हिउँ पर्यो…गाए ।

Advertisement


विवेक स्वदेश फर्किएर फेरि सांगीतिक माहोल जमाउँदै छन् । तर यही बेला युवाहरुको लस्कर भने विदेश सोझिरहेको छ । विदेशिने युवा पुस्ताको हुल अन्तर्राष्ट्रिय विमानस्थलमा थामिनसक्नु भइरहेको छ । विवेकले भने स्वदेशको सेवा गर्न र सबैले मिलेर देश बनाउन अपिल गरे । त्यही मेसोमा गोपाल योञ्जनको गीत ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई…’ पनि गाए ।


‘देशलाई बनाउनु छ, आफैबाट सुरु गर्नुछ’ भाकाको शैलीमा उनले देश बदल्न सबैभन्दा पहिला आफू बदलिन आग्रह गरे । त्यही सन्दर्भकै सिलसिलामा उनले स्वदेशीको माटोको सांगीतिक स्वाद पस्किए—इलामको चियाले मितेरी लायो रे मुस्ताङी स्याउसँग…। कन्दरालाई सुन्न नयाँ र पुरानो पुस्ताका हजारौं पोखरेलीले शुक्रबारे साँझको चिसोको पर्वाह गरेनन् ।


‘पहिला घरदेश, अनि परदेश’ भन्ने उद्घोषसहित सुरु सांगीतिक अभियान ७ वटै प्रदेशमा पुग्ने भएको छ । त्यसका लागि पोखरा महानगरपालिकाले पनि प्रवद्र्धनात्मक सहयोग गरेको मेयर धनराज आचार्यले सुनाए । गायक विवेकले हाम्रो पोखरा राम्रो पोखरा भन्दै अझै राम्रो बनाउन सबै लाग्नुपर्ने औंल्याए । शुक्रबारको कन्सर्टमा गायक विवेकको साथमा वाद्यवादनतर्फ सुनील थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झा थिए । कन्दराको सिग्नेटर गीत ‘हङकङ—पोखरा..निर्मोही आफ्नो को छ र ?’ गाएर विवेकले कन्सर्टको बिट मारे ।

तपाईको प्रतिक्रिया