सुप्रिम मल्ललाई सरुभक्त बालप्रतिभा पुरस्कार

समाधान संवाददाता २०८० माघ १२ गते १६:२३

पोखरा ।
साहित्यकार सरुभक्त श्रेष्ठको सम्मानमा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ ।


यस वर्षको बालप्रतिभा पुरस्कार मल्ललाई प्रदान गर्ने निर्णय भएको सरुभक्त केन्द्रले जनाएको छ । केन्द्रकी सदस्य कवि सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित ५ सदस्यीय पुरस्कार छनोट समितिले मल्लको नाम अनुमोदन गरेको थियो । आउँदो माघ २७ गते मल्ललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।


बाजुराको हिमाली गाउँपालिका–६ का ११ वर्षीया मल्ल सानै उमेरमा गीत–संगीतको क्षेत्रमा क्रियाशील छन् । उनले अहिलेसम्म १९० वटा गीत गाइसकेका छन् ।

Advertisement


उनको स्वरमा विशेषतः लोकभाका, चलचित्रका गीत, आधुनिक, देशभक्ति, बालगीतसँगै देउडा, ठाडो भाका, गजल, सालैजो, नेवारी भाका, लिम्बू, पूर्वेली भाका, किराती र मधेसी भाकाका गीत रेकर्ड भइसकेका छन् ।


विभिन्न क्षेत्रमा विशिष्ट प्रतिभा हासिल गरेका १६ वर्षमुनिका बालबालिकालाई सम्मान र प्रोत्साहन गर्ने हेतुले साहित्यकार सरुभक्तले २०५६ सालमा पुरस्कारको स्थापना गरेका थिए । राष्ट्रिय बालप्रतिभा पुरस्कारको नामबाट स्थापित पुरस्कारको अक्षयकोषमा त्यति वेला एक लाख रुपैयाँ थियो ।

Advertisement


वार्षिक रूपमा देशभरबाट एक जना बालप्रतिभा छनोट गरी १५ हजार रुपैयाँ नगद राशि प्रदान गरिन्थ्यो । बालप्रतिभा पुरस्कार छनोट र अर्पण गर्ने जिम्मेवारी कुमुदिनी होम्स स्कूलले लिएको थियो । जसबाट २०५७ सालदेखि २०६९ सालसम्म आठ जना बालबालिका सम्मानित भएका थिए ।


सम्मानित हुनेमा १६ वर्षमुनिका विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही तेम्बाछिरी शेर्पा (२०५७), नृत्य क्षेत्रबाट ज्योति थापा (२०५८), गायन क्षेत्रबाट ऋतु लामा (२०६०), कला क्षेत्रबाट शिखा कटुवाल (२०६१), कला क्षेत्रबाटै करुणा गुरुङ (२०६२), खेलकूद क्षेत्रबाट सिपोरा गुरुङ (२०६४), विज्ञान तथा प्रविधि क्षेत्रबाट कुशल केसी (२०६५) र पर्वतारोहण क्षेत्रबाट निमा छ्याङदी शेर्पा (२०६९) छन् ।


त्यसयता प्रतिभा पुरस्कार वितरणले निरन्तरता पाउन सकेको थिएन । त्यति वेला सरुभक्त सरोकार केन्द्र नाम रहेको संस्था २०७९ सालमा सरुभक्त केन्द्र (सरुभक्त सेन्टर) नामकरण गरेर औपचारिक रूपमा दर्ता गरेको अध्यक्ष श्रेष्ठले बताए । केन्द्रले आगामी दिनमा पुरस्कारको राशि बढाउँदै लैजाने तथा सरुभक्त श्रेष्ठका लेखरचनाको प्रकाशनको कार्यलाई निरन्तरता दिने उनले बताए ।


यसै वर्षदेखि साहित्यकार सरुभक्तले आफ्ना स्वर्गीय बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा थप १० लाख ५० हजार रुपैयाँ थपेर ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यही अनुसार यस वर्ष पुरस्कृत हुने बालप्रतिभालाई ५० हजार रुपैयाँ नगद सहित सम्मानपत्र अर्पण गरिनेछ ।

तपाईको प्रतिक्रिया