‘धनिरामको गोरू’ माघ १८ बाट मञ्चन हुने

समाधान संवाददाता २०८० माघ १६ गते ११:४६

पोखरा ।
पद्मप्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म ‘धनिरामको गोरू’ मञ्चन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मञ्चन हुने तयारी गरिएको पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराइएको हो ।


प्रत्येक दिन बेलुका ५ बजे नाटक मञ्चन हुने अध्यक्ष सावित्रा पाठक (सबु) ले जानकारी दिइन् । शनिबार १ बजे पनि नाटक मञ्चन गरिनेछ । धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मञ्चनका लागि रोजाइमा परेको सबुले बताइन् । पोखरामा नाटक मञ्चनलाई बढावा दिने उद्देश्य स्वरूप आफू र आफ्नो टिमअगाडि बढेको उनले उल्लेख गरिन् ।


नाटककार केदारनाथ पौडेलले धनिरामको गोरू विशुद्ध नेपालीपन भएको कथा भएको उल्लेख गरे । उनले भने, ‘धनिरामको गोरू आफ्नोपनको कथा हो । ग्रामीण समाज र त्यहाँका किसानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।’ नाटकमा किसानका पीडा र उनीहरुको जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए ।

Advertisement


पछिल्लो समय आएका प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटकमार्फत उठाउन खोजिएको छ । प्रविधिको प्रयोग राम्रोसँग नगर्दा के कस्ता समस्या हुन्छन् भन्ने विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए । उनले पोखरेली नाटकलाईमाथि उठाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।


१ घन्टा १५ मिनेटको नाटक हेर्न ३ सय, ५ सय र १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीले भने २ सय रुपैयाँमै नाटक हेर्न पाउने छन् । नाटक कपिल शर्माले निर्देशन गरेका हुन् ।

Advertisement


नाटकमा दिलप्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भूमिकामा छन् । नाटकमा विभुप्रसाद भुसाल, सावित्रा पाठक (सबु), ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसालको अभिनय देख्न पाइनेछ । गएको भदौमा स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो नाटक मञ्चन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया