काहुँ स्कुलको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन ८ गते ११:२६

पोखरा ।
पोखरा ११ काहुँडाँडास्थित काँहु आधारभूत विद्यालयले ५५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमाम पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिक पवित्र स्थल शिक्षालय भएकाले कला र क्षमताको विकास गराएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउनुपर्ने बताए । उनले श्रव्य र दृष्य सामग्री उपलब्ध गराई गुणस्तर युक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थबहादुर वस्नेतको अध्यक्षतामा भएको सभामा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले विद्यालयको शैक्षिक एवं भौतिक जग बलियो बनाउन आफू क्रियाशील भएको बताए । उनले बालमैत्री फर्निचर छिटोभन्दा छिटो वडाबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।


विद्यार्थीलाई ५५ जोर न्यानोकपडा वितरण गरेको सभामा समाजसेवी उर्मिला वस्नेतले आफूले निरन्तर सहयोग गरिरहने बताईन् । कार्यक्रममा बलराम घिमिरेको समन्वयमा विद्यार्थीहरुलाई जुत्ता र मोजासमेत हस्तान्तरण गरिएको थियो । सो अवसरमा समाजसेवी तारादेवी पहारीले उनका पति एवं विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गा पहारीको नाममा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिन् ।

Advertisement


विद्यालयका प्रधानाध्यापक सुरजबहादुर क्षेत्रीले विद्यालयको वार्षिक अवस्थाको चित्रण गर्दै हुन सक्ने सहयोग प्राप्त नहुँदा खिन्न हुनुपरेको बताए । उनले जोखिम युक्त भवनमा विद्यार्थीलाई पढाउनु पर्दाको पीडा सुनाउँदै महानगर तथा शिक्षासँग सरोकार राख्ने सबैलाई काहूँ आधारभूत विद्यालयमा ध्यान दिन अनुरोध गरे ।

काहुँ बृहत खानेपानी आयोजनाका अध्यक्ष मीनबहादुर गुरुङले अभिभावक भेला भने पनि उनीहरुका कुरा सुन्ने थलो नभएको तर्क गर्दै जनप्रतिनिधिको कमजोरी औंल्याएका थिए । सभामा नर्सरीदेखि कक्षा ५ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया