‘विश्वविद्यालयमा प्राज्ञिक नेतृत्व’

पोखरा विश्वविद्यालयका साढे सात हजार विद्यार्थी दीक्षित

समाधान संवाददाता २०८० फागुन ९ गते १०:००

पोखरा ।
पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोह मंगलवार विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा भएको छ । समारोहमा एमफिल स्नातकोत्तरका ४, विभिन्न तहको डिन लिस्टमा पर्न सफल ६ सय ४५ जनासहित ७ हजार ६ सय ५१ विद्यार्थीहरु दीक्षित बने ।


विश्विद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोक राईको उपस्थितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका प्राडा भगवान् कोइरालाले डिन लिस्टमा पर्न सफल विद्यार्थीलाई दीक्षित गरेका हु्न् ।


कार्यक्रममा कम्प्युटर एप्लिकेसनमा विशिष्ठ श्रेणीमा उत्तीर्ण आस्था श्रेष्ठलाई ओसिम स्वर्ण पदक र व्यवस्थापन संकायबाट विश्वविद्यालयको स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक ल्याउने सृष्टि भुर्तेललाई लक्ष्मी विद्या पदक प्रदान गरियो । २०८० मा कुलपति पदक १३ जनाले पाएका छन् । हेमन्त लामिछाने, विवेकबाबु लामिछाने, रोमहर्ष वली, गंगा गिरी, गंगा श्रेष्ठ, कामना कटुवाल, मञ्जु पाण्डे, समिर सुवेदी, सृष्टि भुर्तेल, सुवास वुढाथोकी, आकृति थापा, सम्झना काप्री र वीनिता आचार्यले यो पदक पाएका हुन् ।

Advertisement


उपकुलपति पदकबाट अञ्जली भवँर र सागर सुनुवार र कुलपति पदक विद्यावारिधिबाट वीनिता मानन्धर र पोष्टराज पोखरेललाई सम्मान गरिएको छ । कार्यक्रममा वरिष्ठ मुटु शल्य चिकित्सक प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक भएको उल्लेख गर्दै विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव दिएका थिए ।

विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नैपर्छ । हामी एक दिन दीक्षान्तमा आएर, कुरा गरेर विश्वविद्यालयहरु सुध्रिने, प्रभावकारी बन्ने भन्ने हुँदैन ।
अशोक राई, शिक्षामन्त्री

Advertisement


उनले भने, ‘विश्वविद्यालय शिक्षामा गुणस्तर कायम गर्न योग्य व्यक्तिलाई सही स्थानमा जिम्मेवारी दिनुपर्छ । विश्वविद्यालयलाई सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्नुपर्छ ।’ राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरुको गुणस्तर खस्किँदै गएको भन्दै उनले देशलाई अगुवाई गर्न सक्ने, समाजलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।


नेपालमा अध्ययन गरे अनुसार काम हुन्छ, योग्यता, क्षमताको कदर हुन्छ भन्ने विश्वास दिलाउन सके विदेश गएका दक्ष नेपालीलाई पनि स्वदेशमा फर्काउन सकिने उनको तर्क छ । शिक्षापछि रोजगारका अवसर नहुँदा नेपाली विद्यार्थी पलायन हने गरेकाले विश्वविद्यालयहरु गम्भीर मोडमा पुगेको र राज्यको ठूलो लगानी पनि उपयोग नहुने अवस्था रहेको उनले औंल्याए ।


विश्वविद्यालयका सहकुलपति राईले नेपाली विश्वविद्यालयहरुले नयाँ कुरा खोजी गर्दा आफ्ना संस्कार, परम्परा, दर्शनको अनुसन्धान र प्रयोगमा उचित ध्यान पु¥याउन नसकेको विचार राखे । विश्वविद्यालयका उत्पादनलाई रोजगारमा जोड्न सरकार शैक्षिक नीतिमै परिवर्तन गर्ने सोचमा रहेको उनले सुनाए ।


विश्वविद्यालयहरुलाई प्रतिस्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने विचार उनको भनाइ छ । ‘विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नैपर्छ । हामी एक दिन दीक्षान्तमा आएर, कुरा गरेर विश्वविद्यालयहरु सुध्रिने, प्रभावकारी बन्ने भन्ने हुँदैन ।’


पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विद्यार्थीले आफूले आर्जन गरेको ज्ञान र सीप देशको चौतर्फी विकास र आफ्नो सुन्दर र फलिभूत भविष्य निर्माण गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरू राष्ट्रका गहना र अमूल्य रत्न भएकाले निर्वाध रूपले स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहक भई अगाडि बढ्नुपर्ने बताए ।


पोखरा विश्वविद्यालयले प्रस्तुत गरेका नीति तथा कार्यक्रम परिवर्तनमुखी, बहुआयामिक र समयसापेक्ष रहेकाले मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई यसले सहज तुल्याईदिएको उनले उल्लेख गरे ।


पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार २०५४ मा स्थापित पोखरा विश्वविद्यालयका ४ आंगिक महाविद्यालय छन् । विश्वविद्यालयमा १ सय ४५ स्थायी र ५२ करार शिक्षक र २ सय १२ कर्मचारी कार्यरत छन् । पोखरा विश्वविद्यालयमा ३ संयुक्त आंगीक र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमा ६४ कार्यक्रममा अहिले ३५ हजार २ सय ४० विद्यार्थी छन् ।


गत सालबाट पोखरा ३०, खुदीमा एक सय शैयाको शिक्षण अस्पतालसमेत यसले सञ्चालन गरेको छ । चाडै विभिन्न तहमा १६ कार्यक्रम थप गर्ने लक्ष्य पोखरा विश्वविद्यालयले लिएको छ ।

तपाईको प्रतिक्रिया