बालोदयको ३६ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन १३ गते १३:५५

पोखरा।
पोखरा १७ बिरौटा स्थित बालोदय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम दुई दिवसीय कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटाले गुणस्तरीय तथा समयसापेक्ष शिक्षामा जोड दिँदै पोखराको शैक्षिक क्षेत्रमा बालोदयको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।


उनले पछिल्लो समय विद्यालयले संख्यात्मक वृद्धिका साथसाथै गुणस्तरलाई पनि ध्यान दिदै गएको जनाए । समापन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संस्कृति र परम्परागत सीप जगेर्ना गर्ने क्रियाकलाप सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिए ।


कार्यक्रममा पोखरा महानगरका शिक्षा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्की अध्यक्ष यामबहादुर रोका, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, वडा सदस्य विक्रम गुरुङ, अभिभावकद्वय विष्णुप्रसाद शर्मा र सञ्जीव सुवेदी लगायतले धारणा राखे ।

Advertisement


कार्यक्रममा विद्यार्थीले सामूहिक नृत्य, लोकनृत्य, सचतेनामूलक नाटक, परम्परागत रत्यौली, भजन, कराँते प्रदर्शन, एबाकस सीप प्रदर्शन एवम् बालगीत लगायतका प्रस्तुति राखे । गत वर्ष र यस वर्ष विद्यालय बाहिरका प्रतियोगितामा सहभागी भई पुरस्कार जित्न सफल विद्यार्थीलाई सम्मान गरिनुका साथै विद्यालयमा १० वर्ष वा सोभन्दा बढी सेवा गरेका ८ शिक्षक कार्यक्रममा सम्मानित बने ।


समारोहमा संस्थापकद्वय प्रबन्ध निर्देशक दुर्गादत्त पगेनी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष्ँ कमलादेवी पगेनीलाई समेत सम्मान गरियोे । संस्थापक निर्देशक दुर्गादत्तले शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गर्दा आत्मसन्तुष्टि हुने बताए । प्राचार्य टेकनाथ पौडेलले विद्यार्थीलाई पढाउने नभई सिकाउने हो भन्ने पक्षमा विद्यालय सचेत रहेको सुनाए । उनले समयसमयमा शिक्षक तथा अभिभावकबीच अन्तक्र्रिया गरी सिकाइलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको स्पष्ट पारे ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलादेवी पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य रामप्रसाद तिवारी, व्यवस्थापक गुप्तबहादुर क्षेत्री, आइसिटी इन्चार्ज रघु ज्ञवाली, नेपाली विभाग प्रमुख टंकप्रसाद पौडेल र शिक्षक शर्मिला केसीले बोलेका थिए । कक्षा १ देखि १२ सम्म अध्यापन हुने बालोदयमा हाल १ हजार ३ सय ५१ विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया