नोबेल पुरस्कार विजेता रिचर्ड जोन पोखरा विश्वविद्यालयमा

समाधान संवाददाता २०८० फागुन १४ गते १३:२२

पोखरा ।
नोबेल पुरस्कार विजेता सर रिचर्ड जोन रोबर्ट्स र पोखरा विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीबीच अन्तक्रिया कार्यक्रम भएको छ । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा रिचर्डले अनुवंश परिवर्तित जीवहरुको समुचित प्रयोग गरेर खाद्य सुरक्षा, पोषण सुरक्षा, वातावरणीय प्रदुषण नियन्त्रण, र गरिबी निवारण लगायतका वैश्विक चुनौतिहरुको सजिलै र दिगो समाधान गर्न सकिने बताए । जेनेटिक ईन्जिनियरीङसँग सम्बन्धित अध्ययन अनुसन्धानलाई उच्च प्राथमिकता साथ आगाडी बढाउनु पर्नेमा उनको जोड थियो ।

‘अनुवंश परिवर्तन गरिएको धान खेति गर्नाले करोडौ मानिसहरुलाई भिटामिन ए को अल्पताबाट जोगाउन सकिन्छ । नेपाल जस्ता अल्प विकसित राष्ट्रहरुले जेनेटिक ईन्जिनियरिङका माध्यमबाट उत्पादन गरिएका बस्तु र सेवाको उचित प्रयोग गर्न राष्ट्रिय नीति र मापदण्ड निर्माण र कार्यन्वयन गर्न राजनैतिक सचेतना र प्रतिवद्धता आवश्यक छ।’ उनले भने ।

Advertisement

नेपालमा जेनेटिक ईन्जिनियरीङ लगायत अन्य विशिष्टीकृत विधाहरुको पठन पाठन तथा अनुसन्धान कार्य अझै सम्भव नभएको र कतै कतै अध्यापन शुरु गरिएका विषयहरु पनि प्रायस् सैद्धान्तिक मात्रै रहेको र प्रयोगात्मक सीप सिक्ने अवसर निकै न्यून हुने गरेको हुनाले पछिल्लो समयमा युवा विद्यार्थीहरुको विदेश पलायन बढेको सम्बन्धि जिज्ञासाको विषयमा बोल्दै सर रिचर्डले बिद्यार्थीहरुलाई संसारको जुनसुकै ठाउँमा भएको पनि उत्कृष्ट केन्द्रहरुमा अध्ययन गर्न प्रेरित गर्नु पर्ने र जानु नै पर्ने तर ज्ञान र शीप हाँसिल गरि सकेपछि सक्दो चाँडो घर फर्केर स्वदेश सेवा गर्नुपर्ने सुझाव दिए ।

विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नमराज धामीले कार्यक्रम संञ्चालन गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार दीपकबहादुर भण्डारी, स्वास्थ्य विज्ञान संकायका डीन अमर नागिला, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक उमेश सिंह यादव, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक ढाकाराम भण्डारी लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया