सेवाग्राहीका समस्या, सुझाव सुन्दै कृषि विकास बैंक

समाधान संवाददाता २०८० फागुन १७ गते ११:२२

पोखरा ।
कृषि विकास बैंक लिमिटेडको उच्च व्यवस्थापनले बैंकको व्यवसाय प्रवद्र्धनका क्रममा पोखराका उद्योगी तथा व्यवसायीसँग बुधबार संवाद गरेको छ । बैंकको सेवा प्रवाह र उद्योगी व्यवसायीको अपेक्षालाई तालमेल गराउन बैंकको मुख्य कार्यालयका विभागीय प्रमुख र निजी क्षेत्रबीच संवाद गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।


उनले बैंकले प्रदान गर्ने सेवा प्रवाहलाई सुदृढ र प्रभावकारी बनाउन निजी क्षेत्रसँग संवादको सुरुवात गरेको बताए । उनले निजी क्षेत्रको राय, सुझावलाई ग्रहण गरेर बैंकले प्रदान गर्ने सेवा प्रवाहलाई परिस्कृत र काम कारवाहीलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।


बैंकको गण्डकी प्रदेश कार्यालयको व्यवस्थापनमा भएको कार्यक्रममा उनले वर्तमान आर्थिक मन्दी तथा असहज अवस्थामा ब्याजदर तथा ऋणमा सहुलियतका सवालमा बैंकप्रति उद्योगी, व्यवसायीको अपेक्षा बढी हुनु स्वभाविक भएको चर्चा गरे ।

Advertisement

‘नेपालको अर्थतन्त्रमा आएको मन्दी तथा उद्योगी व्यवसायी पिडामा परेको अवस्था छ । सो पीडा बैंक व्यवस्थापन पक्षलाई समेत परेको छ,’ उनले भने, ‘वर्तमान अवस्थामा बैंक पनि बचाउनु पर्छ । उद्योगी, व्यवसायीलाई समेत कर्जा प्रवाहमा सहुलियत दिनु पर्छ ।’ उनले वित्तीय संस्था सञ्चालनका केही सीमितता प्रस्तुत गरे ।


बैंकले सीमा परिधिभित्र रहेर सेवा, सुविधा प्रदान गर्ने जानकारी दिदै उनले निजी क्षेत्रले उठाएका अधिकार क्षेत्रभन्दा बाहिरका मुद्दामा म्यासेन्जरको काम गर्ने बताए । सहुलियत कर्जाको सवालमा सरकारले दिने सुविधा नदिएको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकले सिधै अनुदान दिन नसक्ने र दिएको ऋणमा सहुलियत प्रदान गर्ने चर्चा गरे ।

Advertisement

कृषि विकास बैंक लिमिटेडको उच्च व्यवस्थापनले सेवा प्रवाह र उद्योगी व्यवसायीको अपेक्षाबारे पोखरामा छलफल गरेको हो


बैंकले कृषि क्षेत्रमा मात्र नभएर सबै वाणिज्य बैंकले गर्ने काम गर्ने जानकारी दिदै उनले साना किसानदेखि ठूला उद्योगी, व्यवसायीलाई सेवा सुविधा प्रदान गर्दै आएको बताए । उनले कर्जा प्रवाह गर्दा निक्षेपकर्ताको संरक्षण गर्नु बैंकको पहिलो दायित्व भएको जानकारी दिए । बैंकले ३५ प्रतिशत कृषिमा लगानीलाई निरन्तरता दिने उल्लेख गर्दै उनले बैंकको ६४ अर्ब कृषि कर्जामा २२ अर्ब सहुलियत कर्जा भएको जनाए । उनले गरिबलाई धनी र धनीलाई झन धनी बनाउने उद्देश्यले बैंकले काम गरेको उल्लेख गरे ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंक तथा वित्तीय क्षेत्रमा अग्रणी भूमिका खेलेको कृषि विकास बैंकबाट निजी क्षेत्रले फाइदा लिनुपर्ने बताए । उनले आर्थिक क्षेत्रमा देखिएको गम्भीर समस्याका कारण बैंकमा पैसा थुप्रने र निजी क्षेत्रले ऋण नपाउने अवस्था आएको जानकारी दिए । उनले ७ प्रतिशतमा तिर्ने गरी लिएको कर्जाको ब्याजदर एकाएक १४ प्रतिशत पुग्दा निजी क्षेत्र हतोत्साहित भएको गुनासो गरे ।


बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख विना शर्माले सरकारको ५१ प्रतिशत र सर्व साधारणको ४९ प्रतिशत सेयर रहेको बैंकले नेपालको गरिबी निवारणको क्षेत्रमा काम गरेको जानकारी दिइन् । नेपालमा पहिलोपल्ट २०४१ सालमा कम्प्युटरराइज प्रविधि भित्रयाएको बैंकको १८ लाख ग्राहक रहेको उनले उल्लेख गरिन् । उनले देशको ठूलो सञ्जाल भएको बैंकले एसियाली विकास बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाको निरन्तर साथ सहयोग रहेको बताइन् ।


बैंकका कृषि कर्जा तथा परियोजना विभागका प्रमुख चन्द्रसिंह थापाले आफूले गर्ने व्यवसायको बारेमा प्रशस्त जानकारी लिएपछि लगानी योजना बनाएर काम गर्न सुझाव दिए । अहिलेको माहोलमा व्यवसाय विस्तार गर्न केही समस्या रहेको उल्लेख गर्दै उनले असहज अवस्थामा बैंक र निजी क्षेत्र बीचको सम्बन्ध सुदृढ हुनु पर्ने तर्क गरे । उनले व्यवसायको अवस्था, प्रकृति ग्राहकको व्यवसायिक दक्षताको आधारमा व्याजदरमा हेरफेर गर्न सकिने जानकारी दिए ।


बैंकका कृषि विकास तथा टेजरी विभाग प्रमुख सुदीप दाहालले बैंक ग्यारेन्टी व्यवसायमा धेरै उद्यागी व्यवसायी जोडिएको बताए । बैंकका गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारीले बैंकले प्रवाह गर्ने सेवा प्रवाह र निजी क्षेत्रको अपेक्षालाई तालमेल गराउन संवाद सफल भएको सुनाए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, बैंकका उप महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, बैंकका गण्डकी प्रदेश कार्यालयका बिजनेस डेमलबमेन्ट म्यानेजर मोतीप्रसाद पौडेल, उद्योगी, व्यवसायीहरु छत्रधर आत्रेय, शोभा गौतम, रामकली खड्का, झलकलाल श्रेष्ठ, गणेशबहादुर थापा, विक्रम कर्माचार्य, तारानाथ पहारी, रमेश पौडेल, थमनाथ अर्याल लगायतले बैंकले प्रवाह गर्ने सेवा प्रवाह र निजी क्षेत्रका अपेक्षाबारे धारणा राखे । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त गरेको बैंकका देश भरमा २ सय ७१ शाखा छन् । बैंकले १ सय ८० देशबाट विप्रेषण सेवा प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया